नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रुको भएको पुष्टि

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेलापरेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।
“नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,” प्रहरी नायब उपरीक्षक रिजालले भने । शव परीक्षणका निम्ति भरतपुर अस्पतालको शवगृहमा राखिएको उनले बताए ।
ऋषिपलले नेपालमा बसेर काम गर्दै आएका उनका दाइ सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेलापरेको शव भाइ ऋषिपलको भएको पुष्टि गरे ।
भारतको मोतिहारी, राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट रौतहटको गौर जान गणपति डिलक्स चढेका थिए ।
काठमाडौंबाट आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी दुई यात्रुवाहक बस त्रिशूलीमा खसेका थिए । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्रु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।
बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।
















दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया