घान्द्रुक र सिक्लेसको पोखरासँग यातायात सम्पर्कविच्छेद

कास्की। यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ।
अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुक र मादी गाउँपालिका-१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो। सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ।
पोखरा–घान्द्रुक सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-१० को क्लियूमा गत असार २० गते रातिको पहिराले सडक बगाउँदा पोखरादेखि घान्द्रुकसम्मको यातायात सम्पर्क टुटेको थियो। घान्द्रुकका पर्यटन व्यवसायी किशम गुरुङले सडक अवरुद्ध हुँदा पर्यटक आवतजावत रोकिएको बताए।
‘पहिला वर्खायाममा पनि पर्यटक आउनुहुन्थ्यो तर अहिले बाटोका कारण सुनसान छ। बाटोको अवस्था बुझेपछि आउन चाहने पर्यटकले यात्रा रद्द गर्नुभएको छ। पर्यटकलाई मात्र होइन, गाउँलेलाई पनि आवतजावतमा समस्या भएको छ’, गुरुङले भने।
घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर पदयात्राको प्रवेशद्वार हो। पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक अन्नपूर्ण आधार शिविर जाने गर्दछन्। गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार पहिरोले ५० मिटर तलदेखि सडक बगाएको छ। सडक मर्मतका लागि विस्तृत प्राविधिक अध्ययन आवश्यक रहेको उनले बताए।
‘सडक धेरै तलदेखि खसेको छ, माथि नयाँ ट्रयाक खोल्ने ठाउँ छैन। सडक खुलाउन अप्ठ्यारो भएको छ’, प्रवक्ता गुरुङले भने। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहित पालिकाको प्राविधिक टोली र प्रदेशको पूर्वाधार विकास कार्यालय प्रमुख शोभियत ख्डकाको टोलीले पहिरो गएको स्थानको निरीक्षण गरेका छन्। वर्षा निरन्तर भइरहेको र पालिकाको स्रोतले बाटो खुलाउन सक्ने अवस्था नरहेको उनले जानकारी दिए।
सिक्लेसलाई पोखरासँग जोड्ने प्रमुख सडक काहुँखोला-सिक्लेस-दुधपोखरी सडकका विभिन्न स्थानमा केही दिनयता पहिरो खसेकाले सडक अवरुद्ध छ। सो सडकखण्डको मादी-७ हात्तीगौँडा, मादी-६ केराबारी, मादी-१ चिप्ली र खिलाङको बीच तथा पधुखोला नजिक पहिरो खसेको छ।
मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवन प्रभावित भएको बताए। वडा कार्यालय तथा स्थानीयवासी मिलेर सडकको पहिरो पन्छाउने गरे पनि केही दिनमै पुनःपहिरो खस्दा यातायात सञ्चालन गर्न नसकिएको उनको भनाइ छ। गुरुङले भने, ‘पोखरादेखि सिक्लेससम्म आइपुग्दा चार वटा सवारी परिर्वतन गर्नुपर्ने बाध्यता छ।’
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया