मंगलबार, चैत १०, २०८२

ऐन कार्यान्वयनको पाँच वर्षपछि सङ्घीय भूउपयोग परिषद् गठन

मेरोन्यूज २०८१ भदौ ९ गते २०:२६

काठमाडौँ । भूउपयोग ऐन २०७६ कार्यान्वयनमा आएको पाँच वर्षपछि सङ्घीय भूउपयोग परिषद् गठन भई कार्यारम्भ गरेको छ । ऐनको दफा १४ ले परिषद् गठनसम्बन्धी व्यवस्था गरेको भए पनि करिब पाँच वर्षपछि उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । परिषद् गठन भएसँगै गत बिहीबार पहिलो बैठकसमेत बसिसकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पहिलो बैठकले परिषद्को काम, कर्तव्य अधिकार, बैठकसम्बन्धी कार्यविधि निर्माण, ऐनको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

“परिषद् गठन भएर पहिलो बैठक बसिसकेको छ । भूउपयोग ऐन कार्यान्वयनमा देखिएका समस्यालाई विश्लेषण गरेर लैजाने, परिषद्का सदस्यलाई कार्यजिम्मेवारीका बारेमा जानकारी दिने, बैठक सञ्चालनसम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय सो बैठकबाट भएका छन्”, उनले भने ।

ऐनको व्यवस्थाअनुसार परिषद्ले भूउपयोगसम्बन्धी दीर्घकालीन तथा आवधिक विकास योजना बनाइ लागू गर्ने, भूउपयोग योजना सञ्चालन गर्न विभिन्न निकायबीच आवश्यक समन्वय गर्नेलगायत महत्वपूर्ण अधिकार पाएको छ । भूउपयोग नक्सा ‘डाटा’ तयार गर्ने, भूउपयोग क्षेत्र वर्गीकरण, योजना तर्जुमा र कार्यान्वयनसम्बन्धी अन्य आवश्यक आधार तथा मापदण्ड तयार गर्ने, अन्तरप्रदेशमा देखिने भूउपयोगसम्बन्धी जग्गा विवाद समाधान गर्नेलगायतका अधिकार पनि परिषद्लाई दिइएको छ ।

प्रदेश र स्थानीय तहमा पनि भूउपयोग परिषद् गठन गर्नुपर्ने प्रावधान ऐनमा राखिएको छ तर उक्त व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अध्यक्ष रहने सङ्घीय भूउपयोग परिषद्मा विभिन्न विषयगत मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

सरकारले चार जना सदस्य नियुक्त गर्ने ऐनको प्रावधानअनुसार गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव डा रेवतीरमण पौडेल, खाद्य सुरक्षाविज्ञ डा यमुना श्रेष्ठ, भूउपयोग योजनाविज्ञ डा रेश्मा श्रेष्ठ र भूमि विशेषज्ञ जगतबहादुर देउजालाई सदस्य मनोनित गरेको थियो । परिषद् गठनले पूर्णता पाएसँगै ऐनले तोकेको कार्यादेशअनुसार काम थालिएको हो ।

प्रतिक्रिया