मैनालीले पाए मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई

ललितपुर । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा.डा.योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।
गुठीद्वारा बिहीबार ललितपुरको रातो बङ्गला स्कुलमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गरे । गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा.डा. यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशी जनही रु चार लाख रहेको छ ।
गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा.डा.यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिए ।
‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गरेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो । मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसकेका छन् ।
पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदानमार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताए । “मैले मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखानमार्फत त्यही युद्धका २६ पर्व सुनाएको छु । नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोर्याइरहेको दुई सय १० वर्षजति अघिको त्यस लडाइँबारे सिपाहीहरुले त्यतिबेलै भनेका सत्य कथाको पुनःकथन गरेको छु”, उनले भने ।
जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्रा.डा.यादवले नेपालका भाषाहरुको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गरे । “विभिन्न सङ्कटग्रस्त भाषाहरुको सम्भाव्यतालाई दृष्टिगत गरी तिनको प्रयोग शिक्षालगायत सञ्चार, प्रशासन, साहित्य आदि क्षेत्रमा क्रमशः बढाउँदै जानु आवश्यक देखिन्छ । तर तिनको संरक्षण र सम्वर्द्धनको सर्वाधिक जिम्मेवारी सम्बन्धित भाषिक समुदायमा निहित हुन्छ”, उनले भने ।
गुठीले मदन पुरस्कार–२०८० का लागि पाँच पुस्तक छनोट गरेको थियो । भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ रहेका थिए । मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकामा पाँच कृतिलाई अन्तिम छनोट गरिएको अध्यक्ष दीक्षितले जानकारी दिए ।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइएको थियो ।
गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकै सम्झनामा जगदम्बा–श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य सम्मानित भएका थिए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया