मंगलबार, चैत १०, २०८२

कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा

मेरोन्यूज २०८१ मंसिर ४ गते १४:५२

डुम्रे (तनहुँ)। तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालीको महान् पर्व सकिएपछि पुल निर्माणको तीव्र गतिमा भइरहेको छ । पुल निर्माण भएपछि पाल्पा र तनहुँको यात्रामा भोग्दै आएको सास्ती हट्ने अपेक्षा गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले नेपालीहरुको चाडपर्वले केही समय रोकिएको र हाल कामले तीव्रता पाएको बताए । उनका अनुसार नदीसँग जोडिएका भागको काम सकिएको छ । उनले भने, “काम अन्तिम चरणमा पुगेको छ, तर समयमा सकिने अवस्था देखिएको छैन ।”

कालीगण्डकी नदी पुल निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । उनका अनुसार कालीगण्डकी नदीमाथि डबल ल्याण्डको युनिक मोटरेबल पुल निर्माण भइरहेको छ । निर्माणको काम भइरहे पनि निर्धारित अवधिमा काम नसिकने उनको भनाइ छ । विसं २०८१ पुस मसान्तसम्म मात्रै थप अवधि रहेको छ । अध्यक्ष सिग्देलले भने, “देशकै नमूनाका रुपमा डबल ल्यान्डको युनिक पुल निर्माण भइरहेको छ, यहाँ पुल निर्माण हुन थालेसँगै आम नागरिकमा खुसी छाएको छ, यहाँ बनेको मोटरेवल पुलले तराईतर्फ र पहाडतर्फ जान सहज हुनेछ ।”

गण्डकी प्रदेशको ग्रामीण क्षेत्र मानिने तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । यो पुल कालीगण्डकी करिडोरसँग सिधा जोडिन्छ । कालीगण्डकी करिडोरसँग पनि जोडिने भएकाले यो पुल निर्माण भएपछि सहज हुने स्थानीय बताउँछन् । पुल निर्माण भएपछि यहाँका स्थानीयलाई स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने सास्ती हट्नेछ ।

उपभोक्ता समिति अध्यक्ष सिग्देलले विसं २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदी माथि पुल निर्माण थालिएको बताए । उनले भने, “स्थानीयको प्रयासले नै पुल निर्माण भइरहेको छ, अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।”

पुल अभावले विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले यहाँका स्थानीयको पटक–पटकको प्रयासले मोटरेवल पुल निर्माण भइरहेको उनले बताए । “नितान्त स्थानीयको प्रयासले कालीगण्डकी नदीमाथिको मोटरेबल पुल निर्माणले सफलता पाएको छ”, अध्यक्ष सिग्देलले भने, “यहाँ बनेको मोटरेबल पुलले तनहुँका ग्रामीण क्षेत्रमा ठूलो विपद् आइपरेमा जिल्लाको सहयोगको मात्र नभई प्रदेश राजधानी पोखराबाट पनि सहज रुपमा सहयोग लिन सकिनेछ ।”

घिरिङमा बाढी, पहिरो, आगलागी जस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहज रुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहज रुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । डबल ल्यान्डको यस मोटरेबल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ । पुल निर्माणका लागि विसं २०७३ असार ३ मा निर्माण सम्झौता भएको हो । शर्मा, युनाइटेड बिल्डर्स, रमन जेभीले रु २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ ।

कोभिडका कारण केही समय निर्माणका कार्यले तीव्रता पाउन नसक्दा हालसम्म दुईपटक म्याद थप गरी निर्माणको काम अहिले करिब करिब अन्तिम चरणमा पुगेको अध्यक्ष सिग्देलले जानकारी दिए । हालसम्म उक्त पुल निर्माणका लागि दुईपटक म्याद थप गरिएको छ । विसं २०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म पुलको ढलान, जडान लगायतका कार्य भइरहेको छ ।

वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताए । उनले भने, “पुल बनेपछि सजिलै पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ ।” स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा मोटरेबल पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो । यहाँ मोटरेबल पुल निर्माण भएपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कालीगण्डकी करिडोरसँग जोडिएकाले सहज रुपमा पहाड तथा हिमाली जिल्लातर्फ र तराईतर्फ आवजतजावतमा सहज हुने मोटरेवल पुल बन्नेछ । पुल निर्माण भएपछि तनहुँलगायत पाल्पा, स्याङ्जा र नवलपुरका करिब तीन लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यी दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने मोटरेबल पुल बनेको हो । यहाँ पुल निर्माण भएपछि यात्राको दूरी कम हुनाका साथै ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा समेत सहज हुनेछ ।

प्रतिक्रिया