सोमबार, फागुन ११, २०८२

नेपालमा पहिलो पटक चिकित्सासम्बन्धी शब्दसागर सार्वजनिक

मेरोन्यूज २०७८ वैशाख ८ गते १९:२९

काठमाडौं । नेपालमा पहिलो पटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको शब्दकोष ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहमा प्राडा दिव्या सिंह शाह, प्राडा राजेन्द्र कोजु र डा मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा उक्त शब्दसागरकाे विमोचन गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राडा शाहले नेपाली भाषामा आएको ‘चिकित्सा शब्दसागर’ले चिकित्सा विज्ञानलाई नेपालीमा बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताइन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्राडा कोजुले चिकित्सा विज्ञानको विद्यार्थी र अहिले चिकित्साशास्त्र अध्यापन गराउने भएकाले आफूले चिकित्सा शब्दसागरको महत्व अनुभव गर्ने धारणा व्यक्त गरे । ‘अहिलेका धेरै चिकित्सक साथीहरुले अंग्रेजी भाषा नै प्रयोग गर्छन्, समाजमा चिकित्सकले जुन कुरा परिभाषित गर्न खोजिरहेको हुन्छ, त्यो कुरा सबैले बुझ्न सकेको हुँदैन,अप्ठयारो पर्छ’ उनले भने, ‘शब्दसागरले त्यसलाई पक्कै पनि सहज बनाउनेछ ।’

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्यसचिव डा मोहनकृष्ण श्रेष्ठले परिषदमा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको बताउँदै उनीहरुलाई ज्ञान हासिल गर्न यो शब्दसागर महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्यकर्मीले आफूले जानेको कुरा सर्वसाधारणलाई बुझाउनका लागि भाषागत कारणले रहेको समस्या चिकित्सा शब्द सागरले हटाउने बताए ।

प्राडा लक्ष्मणप्रसाद गौतमले नेपाली भाषाका लागि चिकित्सा शब्दसागर महत्वपूर्ण उपलब्धि भएको बताए ।‌ ‘यो चिकित्सा शब्दसागर जंगल फडानी गरेर बाटो बनाउने कामजस्तै गाह्रो हो । यो नेपाली भाषा र बाङमयका लागि महत्वपूर्ण उपलब्धि हो’, उनले भने । उनले केही कमी कमजोरी भएपछि यसले नेपाली चिकित्सा विज्ञान र नेपाली भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए ।

८ वर्ष लगाएर तयार पारिएको ‘चिकित्सा शब्दसागर’ एक हजार ९२० पेजको रहेको छ । उक्त शब्दसागर शब्दार्थ प्रकाशनबाट प्रकाशित भएको हो । विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा कमल लम्साल र डा विपिन नेपालको उक्त चिकित्सा शब्दसागरमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्दहरु छन् । उक्त शब्दकोषमा अंग्रेजी-अंग्रेजी र नेपाली भाषा रहेकाे छ ।

प्रतिक्रिया