नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवश
वैचारिक विचलनदेखि टुटफुटसम्म

काठमाडौं । विभिन्न आरोह अवरोह र टुटफुटबाट गुज्रिदै आएका कम्युनिष्ट पार्टीहरुले आज ७२ औं स्थापना दिवस मनाउँदै छन् ।
निरङ्कुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक आन्दोलनका क्रममा २२ अप्रिल १९४९ तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
तत्कालीन सोभियत संघलाई एकतावद्ध गर्ने विश्व सर्वहारा वर्गका महान नेता भी.आई. लेनिनको जन्म जयन्तीको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । बैशाख ९ गते अप्रिल २२ तारिखमा स्थापना भएको कम्युनिष्ट पार्टीको स्थापना दिवस यो पटक भने गते तारिख फरक दिनमा परेको छ ।
यद्धपी लेनिनको जन्म भएको दिनलाई आधार मानेर स्थापना भएकोले बैशाख १० गतेलाई भन्दा अप्रिल २२ तारिखलाई नै कम्युनिष्ट पार्टीले प्राथमिकता दिएका छन् ।
२००६ साल मै सुरु भएको नेपाली कम्युनिष्ट आन्दोलन वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो । नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको कम्युनिष्ट नेताहरुले दाबी गर्दै आएका छन् ।
नेकपाका संस्थापक नेता पुष्पलालसँगै नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ थिए । नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा थियोे ।
सोही पर्चाको माध्यमबाट नै नेपालमा संगठित कम्युनिष्ट आन्दोलनको विकास भयो । पूर्ण नागरिक स्वतन्त्रताको लडाइ जिन्दावाद भन्ने उद्घोषका साथ नेकपाले जहानिया राणा शासनको विरुद्धमा अविराम संघर्षको उद्घोष गर्यो ।
नेकपाको स्थापना पश्चात १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रम सम्बन्धी पहिलो घोषणा–पत्र जारी भयो । पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको भन्ने उद्घोषका साथ जारी गरिएको घोषणा–पत्रले सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गर्यो ।
पहिलो घोषणा–पत्रमा भनिएको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आपूmलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तोसुकै आतङ्क र भूmठो प्रचारले पनि विचलित पार्न सक्ने छैन । २००६ सालमा नेकपाले घोषणा–पत्र जारी गरेको एक वर्ष बित्दा नबित्दै नेपालमा ठूलो राजनीतिक उथल–पुथल देखा पर्यो र २००७ साल फाल्गुण ७ गते जहानिया राणा शासनको अन्त्य भयो ।
तर पनि नेकपाको ऐतिहासिक उद्घोष पूर्ण भएको छैन र अहिले पनि त्यो अत्यन्त जीवन्त र सामयिक छ । विभिन्न नाममा कम्युनिष्ट आन्दोलनभित्र देखा परेको अवसरवाद, कम्युनिष्ट पार्टी कै नाममा टुटफुटले गर्दा अघि बढ्न केही व्यवधान नभएको भने हैन ।
कम्युनिस्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । राणा शासन अन्त्य भएपनि कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।
तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर २०१६ सालमा पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो । पार्टी स्थापनको १० वर्षदेखि सुरु भएको विभाजनको खेल अहिले पनि चलिरहेको छ ।
बिभाजनका बीच झापामा ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्ति मार्फत नेकपा माले र हालको एमालेको रुप लिए । पुष्पलाल, मनमोहनहरुको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।
मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका बिभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धारा बन्यो । यद्यपि मोहनविक्रम सिंहले भने अहिले पनि पातलो मसालको नेतृत्व गरिरहेका छन् । २००६ सालदेखि अहिलेसम्मको अवधीमा कम्युनिष्ट पार्टीबीच एकतासँगै टुटफुटको राजनीति चलिरहेको छ । पछिल्लो समय आन्तरिक विवादले कम्युनिस्ट पार्टीहरु गुटउपगुटमा विभाजित हुँदा नेताहरुप्रति आममानिसको वितृष्णा बढेको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा कम्युष्टि पार्टीका नेताहरुले एक आपसमा शुभकामना साटसाट गरेका छन् ।









माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
चार महिने छोराको हत्या गरेर भागेका असई पक्राउ
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया