काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

ढोरपाटन(बागलुङ) । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।
यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउछन् । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ ।
उनले भने, “काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ को केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ ।” उनले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताए ।
गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका बिरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष रु १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै रु एक लाखको बिक्री गर्न बाँकी रहेको बताए। आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उनको भनाइ छ ।
“हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ”, कँडेलले भने, “मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।”
किसान देवीलाल कँडेलले अघिल्लो वर्ष रु तीन लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले रु चार लाखभन्दा बढीमा बिक्री भएको बताए। व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ छ ।















पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
‘Bandit’ attack in central Nigeria kills 20
रास्वपा सचिवालय बैठक सुरु, सभापति लामिछाने भर्चुअल रूपमा उपस्थित
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया