दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो ।
दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरु हर्षित भएका छन् ।
यसअघि रत्नपार्कबाट मुडे–नुनथला–महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सिधा बस सेवा सञ्चालनमा थियो । बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ ।
बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।
उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र रु तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताए । डल्लेखोला दोभानमा आर्थिक वर्ष २०७७/०७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालले जानकारी दिए ।
दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीय तहहरु लागी परेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन् ।
गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । चौध वर्षदेखि यातायातका साधन सञ्चालन भएको जिल्लामा पछिल्लो समय राजधानी काठमाडौँ तथा पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा बस सेवा सञ्चालनमा छ ।
पूर्वी पहाडी जिल्ला खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत गाडी ल्याएर दैनिक यातायात सञ्चालन गरिएको हो । रासस
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलरको मुल्य घट्यो
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया