विराटनगरको गोदामबाट अवैध हतियार सहित १ जना पक्राउ
छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीद्वारा पेस्तोल बरामद

मोरङ। जिल्लाको विराटनगरमा रौनियारले सञ्चालन गरेको गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले पेस्तोल बरामद गरेको छ ।
तस्करीको सामान लुकाएको आशंकामा छापामार्न गएको राजस्व विभागले १ थान कटुवा पेस्तोल र दुई राउण्ड गोली गोली बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सन्तोष खड्काका अनुसार गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरिएको हो ।
तस्करीको कपडा र हार्डवेयरका सामग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर–७ धाडेवा रोडमा रहेको गोदाममा पुगेको थियो ।
गोदाममा पेस्तोल भेटिएपछि कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक खड्काले बताए ।
प्रहरीका अनुसार रौनियारले आफूसँग कारोबार गर्ने व्यक्तिलाई तर्साउनका लागि पेस्तोल राखेको बताएका छन् । तर पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए । ‘रानीमा पेस्तोल भेटेपछि ल्याएर राखेको साहको तर्क छ’ प्रहरी स्रोत भन्छ, ‘रौनियारको कारोबार पारदर्शी छैन, आफ्ना कारोबारीलाई तर्साउनका लागि रौनियारले नै राखेको आशङ्का छ ।’
पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया