बिहीबार, फागुन २८, २०८२

बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

मेरोन्यूज २०८१ फागुन १९ गते १३:५४

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो ढालेर भव्यरूपमा जात्रा मनाउने चलन छ ।

जात्रामा एउटा लिङ्गो उठाइने भए पनि भाचिने सम्भावना रहेकाले जगेडा लिङ्गो पनि ल्याउने प्रचलन छ । यस वर्ष लिङ्गो भाचिएन भने जगेडा रहेको लिङ्गो आगामी वर्ष प्रयोगमा ल्याउने गरिन्छ । जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिङ्गोको टुप्पोमा नाग र नागिनीको चिह्न मानिने ‘हलिङ्पत’रहेको हुन्छ भने लिङ्गो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली रथलाई अगाडि ल्याउने गरिन्छ ।

चित्तपोलको सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो लिङ्गो मानिसले हातले तानेर ल्याउने मल्लकालीन परम्परा रहे पनि विगत केही वर्षयता गुठी कार्यालय भक्तपुरले लगाउने ठेक्काअनुसार डोजरले तानेर ल्याउन थालिएको हो ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख खिमा वलीले लिङ्गो ल्याउन बोलपत्र आह्वान भइ बिस्केट जात्रा सहयोग समितिले ठक्का पारेर दुईवटा लिङ्गो ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिस्केट जात्राको तयारी सुरू गरिसकेका छौँ । लिङ्गो ल्याउन तीन लाख ४८ हजारको ठेक्का लगाएर हिजो मात्र ल्याइपु¥याएको छ आज हामी त्यसको अनुगमन गर्दैछौँ । रथ निर्माण कार्य सुरू भएको छ । यस वर्ष भैरव र भद्रकालीको रथको सबै पाङ्ग्रा नयाँ बनाउने काम सुरू भएको छ ।”

जङ्गलमा रूख छनोट गरी काट्नु अगाडि गुठी संस्थानबाट पूजाका लागि दुई वटा बोका, एउटा हाँस र पूजाका भेटी खर्च उपलब्ध गराएको थियो ।

प्रतिक्रिया