सोमबार, वैशाख ८, २०८२

संस्कृति छोड्नै नहुने पक्ष : प्रधानमन्त्री

मेरोन्यूज २०८२ वैशाख ७ गते १८:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्वपूर्ण पक्ष भएकाले त्यससम्बन्धी इतिहासको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय समाचार समिति द्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताए ।

‘संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुलित अर्थ बुझेमा आफू र आफ्नो इतिहासलाई बुझाउन सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सन्तुलित अर्थ बुझेर आफू र आफ्नो इतिहास बुझाउन पनि सहयोग गर्छ ।’

उनले राससको यस प्रकारको प्रयास सराहनीय एवं प्रशंसायोग्य रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीले भने, ‘मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाएको हुन्छ, दुःखमा परेका बेला पनि मानिसले संस्कृतिका माध्यमबाट मनोरञ्जनको सहयोग लिएर बाँचेको हुन्छ ।’

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको संस्कृति, कला तथा विकास र पूर्वाधार शीर्षकमा दुई वर्ष गरेको प्रदर्शनीमा राखिएको तस्बिर समेटेर समितिले फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराए ।

गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्नेहरूका लागि पुस्तक गतिलो जवाफ भएको बताए ।

उनले देशलाई चिनाउने गरी सीमित स्रोतसाधनका बाबजुद राससले तयार गरेको सङ्ग्रहणीय रासस फोटो पुस्तक विदेशी पाहुनालाई उपहारस्वरूप प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै थप प्रति छपाइका लागि अनुरोध गरे ।

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटो पत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पुस्तकमा समेटिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधान सम्पादक उत्तम सिल्वाल, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, समाचारदाता कालिका खड्का र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो ।

यसअघि उक्त पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया