आवासीय चिकित्सकलाई तत्काल ४८ हजार तलब दिन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिने निजी मेडिकल कलेजहरुलाई निर्देशन दिएका छन्।
तोकेको सेवा सुविधा नपाएको भन्दै आवासीय चिकित्सक दुई हप्ता बढी देखि काठमाडौँमा आन्दोलित छन्। उनीहरूले आज स्वास्थ्यमन्त्रालय घर्नसमेत पुगेका थिए।
त्यसपछि नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा वार्ता गर्दै पौडेलले निजी मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
उनले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरुलाई सरकारले दिने कुनैपनि सुविधा उपलब्ध नगराउने पनि बताए।
गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता मासिक ४८ हजार उपलब्ध गराउने निर्णय गरेको थियो।
आवासीय चिकित्सकको समान सुविधा कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो। तर निजी मेडिकल कलेजहरुले उक्त निर्णय कार्यान्वयन नगर्दा आवासीय चिकित्सकहरु आन्दोलित भएका हुन्।
प्रतिक्रिया