अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका छन् ।
एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले एमाले नेतृत्वको सरकार रहेकाले देशमा कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका हुन् ।
प्रतिगमनका निम्ती कसैले कोशिस गरे ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए। उनले राष्ट्रिय एकतामार्फत राष्ट्रिय हितको संरक्षण र अग्रगमनको सुनिश्चितता गरिने बताए ।
प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछोडेको स्पष्ट गरे ।
त्यस्तै उनले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए ।
उनले जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रूपमा हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशायी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्याएको बताए ।
प्रतिक्रिया