बुधबार, मंसिर ३, २०८२

एकीकृत समाजवादी परित्याग गर्दै सुभाष साह आजपामा प्रवेश

मेरोन्यूज २०८२ भदौ ७ गते १८:३४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा साहले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर, माला लगाएर साहलाई पार्टीमा स्वागत गरे ।

विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका साह अखिल, युवा संघ, प्रेस चौतरी, समाजवादी प्रेस संगठनसहितका संगठनमा बिभिन्न जिम्मेवारीमा रही काम गरेका छन् ।

एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएपछि एकीकृत समाजवादीमा लागेका साह प्रेस संगठन नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको जिम्मेवारीबाट यस अघि नै राजीनामा दिएका थिए ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य साह महासंघको पछिल्लो निर्वाचनमा केन्द्रीय उपाध्यक्षका प्रत्यासी थिए । दुई दशकभन्दा बढी समयदेखी सक्रिय पत्रकारितामा लागेका साह आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि, बिधान, नीति र जुन उदेश्यका लागि एमाले विभाजन गरेका थिए उनले सोही अनुसार काम नगरेको आरोप साहले लगाए । संगठनमा छलफल गर्ने, निर्णय गर्ने र निर्णय भएका एजेण्डालाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउने काम गरिएपछि सो पार्टी उनले परित्याग गरेको जनाएका छन् ।

प्रतिक्रिया