उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको छ ।
अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि त्यस सूचिमा थपिएको हो । सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात् प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो । करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो । यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए ।
विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शकमध्ये केहीले निर्णयपछि ‘हत्याराहरू’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो । “म अहिले अत्यन्त राहत र खुशी महसुस गर्दैछु”, इच्छामृत्युका समर्थक फ्लोरेन्सिया सालगुइरोले मतदानपछि एएफपीसँग भन्नुभयो । उहाँले आफ्ना दिवङ्गत पिताको पीडादायी अन्तिम दिन सम्झिँदै भन्नुभयो, “मेरो बुबा ल्यु गेहरिग रोगले असह्य पीडा भोग्दै बाँच्न बाध्य हुनुभयो, तर आफ्नो इच्छा पूरा नगरी नै जानुभयो ।” ल्याटिन अमेरिकामा इच्छामृत्युबारे कानूनी मान्यता दिने प्रयासमा उरुग्वे अग्रणी बनेको छ ।
कोलम्बिया र इक्वेडरमा अदालतले कानून पारित नगरी नै इच्छामृत्युलाई अपराधमुक्त गरेको छ भने क्युबाले टर्मिनल बिरामीलाई कृत्रिम जीवन समर्थन अस्वीकार गर्ने अधिकार दिएको छ । उरुग्वेको सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो, जसले धार्मिक दक्षिणपन्थी समूहहरूबाट कडा विरोधको सामना गर्नुपरेको थियो । तर हालैको एक सर्वेक्षण अनुसार देशका ६० प्रतिशतभन्दा बढी नागरिकले कानूनी इच्छामृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले मात्र विरोध गरेका छन् ।
नयाँ कानूनअनुसार वयस्क उरुग्वे नागरिक वा त्यहाँका स्थायी बासिन्दा जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन् तर तिनीहरू निरन्तर पीडामा छन् भने तिनीहरूले चिकित्सकको सहयोगमा आफ्नो जीवन अन्त्य गर्न सक्नेछन् । दुई दशकदेखि न्युरोडिजेनेरेटिभ रोग एएलएससँग सङ्घर्ष गर्दै आउनुभएकी ७१ वर्षीया बिट्रिज गेलोसले भन्नुभयो, “यो निर्णय अत्यन्त दयालु र मानवतावादी हो ।
विरोधीहरूलाई यस्तो जीवन बिताउन कस्तो हुन्छ भन्ने थाहा छैन ।” त्यस्तै वकिल मोनिका कानेपाका छोरा पाब्लो (३९) असाध्य रोगले पूर्ण रूपमा पक्षघातले ग्रस्त छन् । उनले भावुक हुँदै भने, “पाब्लो केवल बाँचिरहेका छन्, तर त्यो जीवन होइन ।” उरुग्वे मेडिकल एसोसिएसनले आफ्ना सदस्य चिकित्सकहरूलाई व्यक्तिगत अन्तःकरणअनुसार निर्णय गर्न स्वतन्त्रता दिने बताएको छ तर यसबारे कुनै आधिकारिक कदम चालेको छैन ।
क्याथोलिक चर्चले भने उक्त निर्णयप्रति ‘गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको उल्लेख गर्दै भनेको छ, “जीवन पवित्र हो र यसको अन्त्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।” यससँगै उरुग्वेले मानव मर्यादाको प्रश्नमा ल्याटिन अमेरिकामा नयाँ नजीर स्थापित गरेको छ ।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया