जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

काठमाडौँ। बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो।
गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उनको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर गरेकाले त्यसकै कारण ‘ब्रेन डेड’ भइ मृत्यु भएको थियो ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाउनुभएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म पनि रसाएका छन्। छिमेकी र आफन्तले सात्वना दिन आउँदा पनि उनी सम्हालिन सक्छन्।
भदौ २३ गते काठमाडौँमा १७ जना र सुनसरीमा दुई युवाको मृत्युको खबर सुनेपछि आमा लक्ष्मीले छोरालाई आन्दोलनमा नजान, कोठामै बस्न वा घर फर्किन भनेका थिए ।
‘मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला’, आमा सम्झिन्छन्। तर दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भनेका थिए, ‘यदि मेरा साथीहरू जान्छन् भने म पनि जानेछु। यसमा मलाई नरोक्नु आमा। आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन।’
आन्दोलनमा सहभागी भएसँगै भदौ २४ गते बेलुकीदेखि उनीसँग मोबाइलमा सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउँछिन्। दीपक दुई जना अन्य साथीसँग काठमाडौँको कीर्तिपुरमा कोठा लिएर बस्दै आएको थियो।
बेलुकी साथीहरूले दीपक घाइते भएर अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिएका थिए। तर भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उनको निधनको खबर परिवारले पायो।’त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो’, भाउजू सरस्वती भन्छिन्, ‘यस्तो खबर सुन्नुपर्यो भनेर कसैले सोचेका पनि थिएनौँ।’
दीपक पढाइमा पनि अत्यन्त मेहनती थिए । घर नजिकैको विद्यालयमा ११ कक्षा अध्ययन गर्दैगर्दा कोरियन भाषा परीक्षाको तयारीका कारण विद्यालय नजाँदै एकैपटक १२ कक्षा उत्तीर्ण गरेका थिए । पाँच भाइमध्ये तेस्रो दीपकका दुई भाइ गाउँकै विद्यालयमा पढ्दैछन् भने दुवै दाजु रोजगारीका लागि भारतको मुम्बइमा रहेका छन्।
भाइको मृत्युको घटनाको खबर पाएपछि मुम्बइबाट गत भदौ २७ गते मात्रै जेठा दाजु वीरेन्द्र काठमाडौँ आएका थिए । चिकित्सकले वीरेन्द्रसँग भाइको आँखामा गोली लागेर ‘ब्रेन डेड’ भएर मृत्यु भएको बताएका थिए। वीरेन्द्र भन्छन्, ‘हामी आउँदासम्म भाइको शव ट्रमा सेन्टरमा राखिएको थियो । भिडियो एक्सरे हेर्दा एक आँखामा गोली लागेको देखियो।’
वीरेन्द्र थप्छन्, ‘अब केही गरे पनि मेरो भाइ फर्किने छैन तर आन्दोलनमा गएर ज्यान गुमाएका युवाहरूको उद्देश्य सरकारले पूरा गर्नैपर्छ।’ गाउँलेहरू पनि दीपकको बलिदान सम्झँदै दुःख व्यक्त गर्छन्। दीपक आफ्नो गाउँमा इमान्दार र सहयोगी युवा भनेर परिचित थिए। शिवनाथको मडैगाउँले एक होनहार युवा गुमाएको छ ।
सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई शहीद घोषणा गरिसकेको छ, जसमा दीपक पनि एक। उनको परिवारको एउटै भनाइ छ, ‘शहीद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छा शक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सवै पक्षको सहयोग अपरिहार्य छ ।’
दीपकको कथा केबल व्यक्तिगत पीडा मात्र होइन, यो त्यस पुस्ताको आवाज हो, जसले भ्रष्टाचार र असमानताविरुद्ध देशमा उज्यालोको आशा बोकेको छ।









विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया