बुधबार, मंसिर १०, २०८२

एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

मेरोन्यूज २०८२ मंसिर १० गते १५:३४

काठमाडाैं । क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही १ मंसिरदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका छन् ।

११ खेल सकिँदा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका प्रतिक्रिया आइरहेका हुन् । सम्पन्न ११ मध्ये चार खेलमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टिमलाई जिताएर ‘प्लेयर अफ द म्याच’समेत भएका छन् ।

चारमध्ये पछिल्लो तीन खेलमा लगातार रूपमा नेपाली खेलाडी चम्किँदै ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । ९ मंसिरमा सम्पन्न खेलमा काठमाडौं गोर्खाजका कप्तानसमेत रहेका करण केसीले ११ बलमा अविजित ३४ रन र बलिङमा एक विकेट लिएर आफ्नो टिमलाई जिताए । लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै उनी उक्त खेलका उत्कृष्ट खेलाडी करण चुनिए ।

८ मंसिरमा सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अलराउण्ड प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी चयन भए । सुदूरपश्चिम ४५ रनले विजयी भएको सो खेलमा दीपेन्द्रले चार विकेट लिनुका साथै ब्याटिङमा ३९ रनको योगदान गरेका थिए ।

८ मंसिरमा सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराएको विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेले । चार विकेट लिएर टिमलाई जिताउन महत्त्वपूर्ण योगदान दिएका उनले ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

२ मंसिरमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको विराटनगरका लागि लोकेश बम उत्कृष्ट खेलाडी भए । उनले ७८ रनको पारी खेलेका थिए । यसैबीच एनपीएलको पहिलो खेलमा १ मंसिरमा काठमाडौंले जनकपुरलाई पाँच विकेटले हरायो, जसमा अलराउण्ड प्रर्दशन गर्दै विदेशी खेलाडी मिलिन्द कुमार ‘प्लेयर अफ द म्याच’ भए । उनले तीन विकेट लिनुका साथै १९ रन हिर्काएका थिए ।

यस्तै, २ मंसिरमा भएको पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको खेलमा चितवन राइनोजका विदेशी खेलाडी रवि बोपरा उत्कृष्ट भए । उनले ५२ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए । ३ मंसिरमा भएको पहिलो खेलमा काममाडौंलाई २९ रनले स्तब्ध पार्दै सुदूरपश्चिमले जितेको खेलमा पनि विदेशी खेलाडी हर्मित सिंह उत्कृष्ट चुनिए । उनले ब्याटिङमा ५३ रन र दुई विकेट हात पारेका थिए ।

४ मंसिरमा भएको चितवनविरुद्धको खेलमा पोखराले ६ विकेटको जित दर्ता गर्‍यो, जसमा पनि विदेशी खेलाडी रुबेन ट्रपेलम्यानले तीन विकेट लिँदै प्लेयर अफ द म्याच भए । ५ मंसिरमा सम्पन्न पोखराविरुद्धको खेलमा सुदूरपश्चिम १८ रनले विजयी भयो । उक्त खेलमा विदेशी खेलाडी जोश ब्राउनले ६८ रन हिर्काउँदै उत्कृष्ट भए ।

६ मंसिरमा लुम्बिनीलाई ९ विकेटले हराएको खेलमा कर्णाली याक्सका विदेशी खेलाडी मार्कबाट उत्कृष्ट भए । उनले ११४ रन बनाउनुका साथै एक विकेट हात पारेका थिए । सोही दिन भएको अर्को खेलमा विराटनगरले काठमाडौंलाई पाँच विकेटले हरायो, जसमा मर्चेन्ट डे लाङगेले दुई विकेट लिँदै प्लेयर अफ द म्याच भए । हालसम्म सुदूरपश्चिमले लगातार तीन खेल जितेर ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

समान तीन खेल खेलेर ६ अङ्क जोडेको विराटनगर रनरेटका आधारमा दोस्रो स्थानमा छ । चारमध्ये दुई खेल जितेको काठमाडौं तेस्रो, तीनमध्ये एक खेल जितेको कर्णाली चौथो, दुईमा एक जितेको चितवन पाँचौँ, तीनमा एक जितेको लुम्बिनी छैटौँ, दुईमा दुई हारेको जनकपुर सातौँ र दुईमा दुई नै हारेको पोखरा पुछारमा छ ।

व्यक्तिगत रूपमा सर्वाधिक रनकर्तामा कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडी मार्कबाट रहेका छन् । उनले हालसम्म सबैभन्दा बढी १४७ रन बनाएका छन् । उनले प्रतियोगितामा शतकसमेत हिर्काएका थिए । जुन जारी सिजनको हालसम्मको एक मात्र शतक हो ।

यसैबीच बलिङमा भने नेपाली खेलाडी प्रथम स्थानमा रहेका छन् । विराटनगर किङ्सका कप्तानसमेत रहेका लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा रहेका हुन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी प्रतियोगिता २७ मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया