बुधबार, मंसिर १७, २०८२

एनपिएलः आज लुम्बिनी र विराटनगर भिड्दै

मेरोन्यूज २०८२ मंसिर १७ गते ७:२७

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

आजको खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले आजको खेल जित्नै पर्ने दबाब छ ।नपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया