मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरे । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको पछि अस्पतालमा निधन भयो ।
घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् । मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरे। उनले भने, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ । अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन् ।” सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो ।
गत हप्तामा सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बमको धम्की पनि दिइएको थियो । गुआनाजुआटो औद्योगिक र पर्यटनको केन्द्र भए पनि आधिकारिक तथ्याङ्कअनुसार यो राज्य मेक्सिकोमा सबैभन्दा हिंसक मानिन्छ । हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल—सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसन—बीचको द्वन्द्वसँग जोडिएको छ । बन्दुकधारीहरूको खोजी भइरहेको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन् । सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ । अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन् ।
















हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया