मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरे । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको पछि अस्पतालमा निधन भयो ।
घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् । मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरे। उनले भने, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ । अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन् ।” सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो ।
गत हप्तामा सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बमको धम्की पनि दिइएको थियो । गुआनाजुआटो औद्योगिक र पर्यटनको केन्द्र भए पनि आधिकारिक तथ्याङ्कअनुसार यो राज्य मेक्सिकोमा सबैभन्दा हिंसक मानिन्छ । हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल—सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसन—बीचको द्वन्द्वसँग जोडिएको छ । बन्दुकधारीहरूको खोजी भइरहेको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन् । सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ । अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन् ।
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया