इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताएका छन् । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो । इयुको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो ।
पूर्व गार्ड कमान्डर समेत रहेकाका संसद अध्यक्ष मोहम्मद बाघेर कालिबाफले यो पदनाम व्यवहारिकभन्दा बढी प्रतीकात्मक हुने सम्भावना रहेको बताए । सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि इरानले त्यही कानून प्रयोग गर्दै अन्य राष्ट्रका सेनालाई पनि आतङ्कवादी सूचीमा राख्ने व्यवस्था गरेको स्मरण गराइएको छ ।
यो घोषणा मध्यपूर्वमा बढ्दो तनावको पृष्ठभूमिमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरेको सन्दर्भमा क्षेत्रीय अवस्था थप संवेदनशील बनेको छ । इरानले पर्सियन खाडीको रणनीतिक होर्मुज जलडमरूमध्यमा आइतबार र सोमबार प्रत्यक्ष फायर सैन्य अभ्यास गर्ने योजना बनाएको छ । यही जलडमरूमध्यबाट विश्वको करिब पाँचौँ भाग तेल व्यापार आवागमन हुन्छ ।
संसद् बैठकमा कालिबाफ र अन्य सांसदहरू क्रान्तिकारी गार्डप्रतिको समर्थन जनाउँदै गार्डको वर्दीमा उपस्थित थिए । ब्यालेस्टिक मिसाइल कार्यक्रमको नियन्त्रणसमेत गर्ने र देशभित्र विशाल आर्थिक प्रभाव राख्ने क्रान्तिकारी गार्डले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई मात्र जवाफ दिने गर्छ ।
“युरोपमा आतङ्कवाद फैलिन नदिने सबैभन्दा ठुलो बाधा बनेको गार्डमाथि आक्रमण गर्न खोज्दा युरोपेलीहरूले आफ्नै खुट्टामा गोली हानेका छन्”, कालिबाफले भनेका छन् । उनका अनुसार युरोपेली नेताहरूले फेरि एकपटक अमेरिकीहरूप्रति अन्धो आज्ञाकारिता देखाउँदै आफ्नै जनताको हितविरुद्ध निर्णय गरेका छन् ।
सत्रका क्रममा सांसदहरूले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ भन्ने नारा पनि लगाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीका लागि दुई वटा सर्त अघि सारेको बताइएको छ । ती सर्तमा शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या वा प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई सामूहिक मृत्युदण्ड दिने अवस्था सिर्जना हुनु समावेश छन् । यसका साथै उनले इरानको आणविक कार्यक्रमबारे पनि बढ्दो चासो व्यक्त गरेका छन् । जुन कार्यक्रमका विषयमा इजरायलले इरानसँग १२ दिनको युद्ध सुरु गर्नुअघि अमेरिकाले तेहरानसँग विभिन्न चरणमा वार्ता गरेको थियो ।
युद्धका क्रममा अमेरिकाले इरानका तीन वटा आणविक स्थलमा बम आक्रमण गरेको थियो । तीमध्ये दुई स्थलमा इरानले उपग्रहको दृश्य अस्पष्ट पार्ने प्रयास गरिरहेको हुनसक्ने र बाँकी संरचना हटाउने काम भइरहेको आकलन गरिएको छ ।
शनिबार राति ट्रम्पले इरानबारे अन्तिम निर्णय गरिसकेको हो कि होइन भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन अस्वीकार गरेका थिए । फ्लोरिडातर्फ जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकी कारबाही रोकिएमा तेहरानलाई प्रोत्साहन मिल्छ कि भन्ने प्रश्नलाई टारे ।
इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने उद्देश्यले ‘सन्तोषजनक’ सम्झौताका लागि वार्ता आवश्यक रहेको ट्रम्पको भनाइ छ । “उनीहरू हामीसँग कुरा गरिरहेका छन् र हामी गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ”, उनले भने ।
यसैबीच, इरानका एक वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले शनिबार राति सामाजिक सञ्जाल एक्समा वार्ताका लागि संरचनात्मक व्यवस्था अघि बढिरहेको उल्लेख गर्नुभएको छ । तर सर्वोच्च नेता खामेनीले बारम्बार अस्वीकार गरिरहनुभएको प्रत्यक्ष वार्ताबारे अहिलेसम्म कुनै सार्वजनिक सङ्केत देखिएको छैन ।
–––
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया