नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिबृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल-कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । चन्द्रागिरीमा सम्पन्न बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ।
सन २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो।
बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवद्र्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र बीटुबी सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा गहन छलफल गरेका थिए । सहभागीहरूले नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकका क्रममा नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै नेपालको उर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधी लगायतका विविध क्षेत्रमा कतारी लगानीको लागि आग्रह गरेको छ।
साथै, बैठकमा नेपाली टोलीले नेपालमा कतारी लगानीका लागि आवश्यक सहजिकरण गर्न तयार रहेको र नेपाली व्यवसायीहरूलाई पनि कतारमा सेवा क्षेत्र, पर्यटन-सम्बद्ध उद्योग, सीप विकास तथा साना तथा मझौला उद्यममा अवसर खोज्न आग्रह गर्दै संयुक्त उद्यमको सम्भावनामा जोड दिइएको छ ।
यस्तै, कतारी प्रतिनिधि मण्डलले नेपालमा लगानीको वातावरणबारे सकारात्मक धारणा राख्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान-प्रदान विस्तार गर्न आफहरु इच्छुक रहेको धारणा राखेका थिए । उनीहरुले नेपाल साच्चिकै सुन्दर रहेको र नेपालमा धेरै क्षेत्रमा लगानीको सम्भावना रहेकोले सहकार्य गर्न सकिनेमा जोड दिएका थिए।
बैठकमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पुर्याउने बताए । नेपालको निजी क्षेत्रको छाता संगठनका रूपमा महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय-देखि-व्यवसाय सम्पर्क प्रवद्र्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र-निजी क्षेत्र सहकार्य, सरकार-निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको बताए।
“यो बैठकले नेपाल–कतारबीच व्यापार तथा लगानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ,” उनले भने, महासंघ विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण र व्यवसाय-देखि-व्यवसाय सम्पर्क प्रवद्र्धनमा पूर्ण रूपमा प्रतिबद्ध छ ।”
उनले निजी क्षेत्र-निजी क्षेत्र सहकार्य, सरकार-निजी क्षेत्र संवाद तथा संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउनेतर्फ महासंघ निरन्तर सक्रिय रहने पनि बताए।
अध्यक्ष ढकालले कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको नेतृत्वलाई महासंघको आगामी वार्षिक साधारण सभा नीति निर्माता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष संवादको प्रभावकारी मञ्च हुने बताउँदै साधारण सभामा सहभागी हुन आमन्त्रण गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल-कतार संयुक्त व्यवसाय परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनु पर्नेमा जोड दिए।
“जेबीसी ठोस परिणाम दिने प्लेटफर्म हुनुपर्छ भन्ने साझा समझदारी बनेको छ । यसलाई परियोजना पहिचान, समस्या समाधान तथा दुवै पक्षका लागि व्यावसायिक रूपमा लाभदायक साझेदारी विकास गर्ने प्रभावकारी माध्यम बनाउन सकिन्छ र बनाउनु पर्दछ ।” उनले भने।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधीमण्डलका प्रमुख मोहद अहमद एम.ए.अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको उल्लेख गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरेमा नेपालमा कतारी लगानीको लागि पहल गर्ने बताए।
उनले यसका लागि जेबीसीको भस्मिकालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।
“यस संयुक्त व्यवसाय परिषद्लाई परिणाममुखी बनाउन अझ प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ । नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण सुनिश्चित भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार छन् ।” उनले भने।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले संयुक्त व्यवसाय परिषद्लाई नेपाल-कतारबीचको दीर्घकालीन आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा विकास गर्दै लैजानु पर्ने बताए । उनले पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको उल्लेख गरे।
नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्णसँग भेटवार्ता समेत गरेको थियो। भेटका क्रममा नेपाल–कतार द्विपक्षीय लगानी प्रवद्र्धन, व्यापार विस्तार, सरकार–सरकार तथा निजी क्षेत्र–निजी क्षेत्र सहकार्य हवाई कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो।
जेबीसीको बैठकले नेपाल–कतारबीचको आर्थिक सहकार्यलाई संस्थागत रूप दिँदै आगामी दिनमा व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

















निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
लालीगुराँस र सत्य साइलाई उपाधि
इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
प्रतिक्रिया