सोमबार, चैत २३, २०८२

ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान

मेरोन्यूज २०८२ चैत २३ गते ८:२२

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई मङ्गलबारसम्म हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्न चेतावनी दिँदै अन्यथा ‘नर्क देखाइदिने’ धम्की दिएपछि इरानले कडा प्रतिक्रिया दिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

इरानका सर्वोच्च नेता मुज्तबा खामेनीका वरिष्ठ सल्लाहकार अलि अकबर वेलायतीले अमेरिका र इजरायलले पूर्वाधारमाथि आक्रमण बढाएमा हर्मुज जलमार्ग बाहेकका अन्य प्रमुख समुद्री मार्गहरू पनि जोखिममा पर्ने चेतावनी दिएका छन्।

वेलायतीका अनुसार ‘प्रतिरोधको एकीकृत कमान्ड’ले अब यमनको तटमा रहेको बाब अल-मन्डेब जलमार्गलाई पनि हर्मुज जत्तिकै रणनीतिक महत्त्वको रूपमा हेरेको छ। उनले अमेरिकाले इरानको इतिहासबाट केही पाठ सिके पनि अझै ‘शक्तिको भूगोल’ बुझ्न बाँकी रहेको टिप्पणी गरेका छन्।

इरान निकटका यमनी हुथी विद्रोहीहरूले इरानको ऐक्यबद्धतामा यस जल क्षेत्रमा आक्रमण गर्न तयार रहेको बताएका छन्। यसअघि पनि गाजा युद्धको समयमा हुथीहरूले लाल सागरमा गरेका आक्रमणले विश्व व्यापारमा ठूलो अवरोध पुऱ्याएको थियो ।

इरानका सर्वोच्च नेता मुज्तबा खामेनीका वरिष्ठ सल्लाहकारको चेतावनीले यदी इरानमा मङ्गलबार अमेरिकाले उर्जा र पूल पूर्वाधारहरुमा कडा आक्रमण गरेमा अब लाल सागरबाट व्यापार पनि बन्द हुने संकेत गरेको छ ।

बाब अल-मन्डेबले लाल सागरलाई अदेनको खाडीसँग जोड्छ, जुन सुएज नहरतर्फ जाने जहाजहरूका लागि एक महत्त्वपूर्ण मार्ग हो। यो मार्ग अवरुद्ध भएमा विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्नेछ ।

विश्वको करिब १२ प्रतिशत व्यापार यही जलमार्ग हूँदै हुने गरेको छ । हर्मुजबाट २० प्रतिशत व्यापार हुने गरेको छ । यसरी विश्वको ३२ प्रतिशत व्यापार रोक्ने इरानको धम्कीले अन्तराष्ट्रिय बजारमा तेलको मुल्य अत्याधिक बढ्नेछ भने अर्थतन्त्र धराशायी हुने जोखिम बढेको छ ।

प्रतिक्रिया