एमालेबाट निष्कासनमा परेपछि माधव नेपालको अपिल
कानूनी,राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई हटाऔं
नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरे

काठमाडौं । नेकपा एमालेमा १५ वर्षभन्दा लामो समयसम्म पार्टी नेतृत्व सम्हालेका नेता माधव नेपाल हिजो सोमबार एमालेबाट निष्कासित भएपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर मुलुकमा कानुनी राज स्थापना गर्नुपर्ने आह्वान गरेका छन् । आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको भन्दै उनले त्यस्तो बताएका हुन् ।
मंगलबार एक अपिल जारी गर्दै नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको टिप्पणी गरेका छन् । ‘जनअपेक्षाविपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरूको उक्सावटमा सिंगो ‘नेकपा’लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनु पर्ने आम कार्यकर्ता पंक्तिको मागविपरीत एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो,’ नेपालले अपिलमा भनेका छन्, ‘जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दुबाट शुरु गरेर कथित कारबाही र निष्कासनमा आएर पूरा भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेका छन् ।’
सोमबार बसेको एमालेले स्थायी समिति बैठकबाट नेता नेपाल, १२ वर्ष पार्टी नेतृत्व सम्हालेका अर्का नेता झलनाथ खनाल, पार्टी स्थापना कालका संस्थापकमध्येका मुकुन्द न्यौपानेसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
त्यसपछि नेता नेपालले मंगलबार अपिल जारी गर्दै ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राज्य स्थापनाको आह्वान गरेका हुन् ।
नेपालले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभार युगले आफूहरुलाई सुम्पेको दाबी समेत गरेका छन् ।
नेपालले केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने, तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दु:खद् पक्ष हो ।’
अपिलको पूर्णपाठ
कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता नेपालका कम्युनिष्ट पार्टी एक हुन्, कम्युनिष्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका, जनताका हित, स्वार्थ र सरोकार तथा सुशासनका सवालमा तथा समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर, जन अपेक्षाविपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको मागविपरीत एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दुबाट शुरु गरेर कथित कारबाही र निस्कासनमा आएर पूरा भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेका छन् ।
केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दु:खद् पक्ष हो ।ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग छ । ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो । निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरूले राज गरे । यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो । अहिले ओली गुटले गरेको कथित कारबाही वा निष्कासन त्यसैको प्रतिरुप हो ।
यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिक रुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए । आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्याए । पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएरअघि बढ्न आग्रह गरेँ । तर सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरू मनन गरेनन्, वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे । त्यही कारण आम जनता, नेता–कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।
मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो । जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगत रुपमा ठट्टाको विषय बनाए । ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन ।
आजको दिनसम्म आइपुग्दा जन साधारणसमेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ । यसैबीच कमरेड जे.एन. खनाल, म, क. मुकुन्द न्यौपाने, क. भीम रावलसहित ११ जनामाथि कारबाही भन्दै पार्टी सदस्यबाट समेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।
त्यसैले अब हामीमाथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछु ।

















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया