सोमबार, जेठ ५, २०८२

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोना संक्रमणको उच्च जोखिम

कानुन बन्यो तर कार्यान्वयनमा आएन

सञ्जिता खनाल २०७८ जेठ २३ गते १८:१९

काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम हुने गरेको पाइएको छ । चिकित्सकले सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र संक्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने बताउँछन् ।

कोभिडको दोस्रो लहरमा अधिकांश कोरोनाका बिरामीमा फोक्सो र मुटुमा गम्भीर असर देखिएर अक्सिजन दिनु परेको देखिन्छन् । यस्तो महामारीले सुर्तीजन्य पदार्थको सेवन गर्न जोखिम बढी हुने चिकित्सकको भनाई छ ।

वीर अस्पतालका छाती रोग विशेषज्ञ डा.अशेष ढुंगानाले सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी हुने जानकारी दिए । उनका अनुसार कोरोनाको संक्रमण भएमा सीधै असर छातीभित्र र फोक्सोमा हुने छ । उनले भने, “विभिन्न अध्ययनहरूले सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोभिडको कडा जोखिम हुन्छ ।”

त्रिवि शिक्षण अस्पतालका सह प्रध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम कोभिड सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा देखिएमा सामान्य व्यक्तिको तुलनामा बढी असर गर्ने जानकारी दिए । उनले भने, “कोरोना भाइरसले निमोनिया गराएर मृत्यु हुने खतरा बढी हुन्छ ।”

डा. बमका अनुसार यदि, सामुदायिक स्तरमा कोभिड संक्रमण देखिने जोखिम अझै कायमै छ । उनले भने, “भारतमा कोरोना भाइरसको संक्रमण बढी रहेको छ, सुर्तीजन्य पदार्थको सेवन छाड्न अत्यन्त जरुरी छ, सुर्तीजन्य पदार्थको सेवन गरिसकेका व्यक्तिले समेत सर्तकता अपनाउनुपर्छ ।”

सुर्तीजन्य पदार्थले फोक्सोमा असर गरिरहेको हुन्छ, धुमपान गर्ने व्यक्तिहरूमा श्वासनलीहरू साँघुरिने र रोग प्रतिरोधात्मक शक्तिहरु घटाउने चिकित्सकहरु बताउँछन् । नसर्ने रोगहरु क्यान्सर, मुटुरोग, क्षयरोग, दमलगायतका रोगहरु लाग्ने प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र संक्रमणले झनै असर गर्ने बताउँछन् ।

२ घण्टाभित्र रगतमा कार्बोनमोनो अक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा फर्किने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल बताउँछन् । दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउँछ । यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्ने चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुका अनुसार स्तनको क्यान्सर, छाला चाउरी पर्ने, श्रवणशक्ति कमजोर हुने, दाँत बिग्रने, दम बढ्ने, खोकी लाग्ने, मुटु, कलेजो सम्बन्धी रोगहरु लाग्ने रक्तचाप बढाउने, पेट र आन्द्रामा अल्सर हुने जस्तो खालका रोगहरू ध्रूमपानका कारण लाग्ने गर्दछन् ।

दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करिब ६.५ वटा चुरोट खाने गरेका छन् । नेपालमा वर्षेनी सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करिब ४७ अर्ब रुपैयाँ क्षति हुने गरेको बताइन्छ ।

नेपालमा वर्षेनी २७ हजारभन्दा बढीको मृत्यु

नेपालमा वर्षेनी २७ हजारभन्दा बढीको मृत्यु सुर्तीजन्य पदार्थकै सेवनबाट हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको देखाउँछ । मन्त्रालययको तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार १३७ जनाले ज्यान गुमाउने गरेका छन् । जुन नेपालमा मृत्युको करिब १५ प्रतिशत हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाका अनुसार नेपालको तथ्यांकले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेका (४८.३ पुरुष र ११.६ प्रतिशत महिला ) रहेका छन् ।

यसैगरी, पहिलोपटक धुम्रपान शुरु गर्दाको औषत उमेर १७.८ रहेको छ । नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई न्युनीकरण गर्न ल्याइएको यो निर्देशिका पूर्ण कार्यान्वयन नहुँदा वर्षेनी २७ हजार बढी व्यक्तिले ज्यान गुमाइरहनु परेको छ । सरकारले भने यसतर्फ खासै ध्यान नै दिएको छैन । मन्त्रालयको तथ्याकं अनुसार सूर्तिजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिव ५५ जना र प्रति घण्टा तीनजना नेपालीको मृत्यु हुने गरेको देखिन्छ ।

त्यसैगरी, विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक देखाएको छ । संगठनका अनुसार विश्वमा १२ लाख व्यक्तिहरुको अन्यले प्रयोग गरेको धुँवाका कारण मृत्यु हुने गरेको देखिएको छ ।

विश्वभर ७८ करोडभन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ प्रयोगलाई त्याग्न खोजिरहेको तर, तीमध्ये एक तिहाईभन्दा कमले मात्रै त्याग्नका लागि सही परामर्श वा वातावरण पाएको संगठनको तथ्यांकले जनाएको छ । विश्वमा सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुको संख्या एक अर्ब ५० करोडभन्दा बढी भएको अनुमान छ । संगठनको प्रतिवेदन अनुसार सन् २०३० सम्म प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ। जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरुका मात्र हुनेछन्।

कहिले होला कानुनको कार्यन्वयन

वि.स.२०७१ कात्तिक १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन ऐन) २०६८ को दफा ९ बमोजिम पुरानो निर्देशिका जारी गरेको थियो । जुन तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पहलमा आएको थियो । तर, सो निर्देशिका २०७२ जेष्ठ २ गतेबाट लागु गरिने भनिएको थियो ।

जुन निर्देशिका लागु गर्दा सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र अंकित स्वास्थ्य सन्देशले छापिनु पर्ने थियो । तर, अहिलेसम्म त्यसको पूर्ण कार्यान्वनय भएको छैन । सुर्तीजन्य पदार्थमा ९० प्रतिशतको व्यवस्था आउनुअघि सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्सको कूल भागमध्ये ७५ प्रतिशत भागलाई सुर्तीजन्य पदार्थको सेवनले हानी गर्ने घातक रोगहरुले निम्त्याएको अवस्था अंकित डर लाग्दा चित्रले छोपिनु पर्ने व्यवस्था थियो ।

यसैगरी, सोही ऐनअनुसार सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा एक सय रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुन सक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने प्रावधान छ ।

१८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइने लगायत ८ वटा प्रावधान राखिएको छ । तर, उक्त प्रावधानको कुनै लागु भएको देखिदैन ।

दफाको उपदफा ३ मा “कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन,” र उपदफा ४ मा पनि “कसैले पनि फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,” उल्लेख गरिएको छ । तर यस विपरीत मानिसहरुले सुर्तीजन्य पदार्थको बिक्री विवरण गरिएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि ऐन बनायो तर कार्यान्वयन नगरेको एक्सन नेपालका अध्यक्ष आनन्द चन्द बताउँछन् । उनका अनुसार ऐन कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्पुर्ण हुने हुदाँ यदी स्थानीय स्थानीय तहका जनप्रतिनिधि अग्रसर भएर लागे ऐनको प्रभावकारी कार्यान्वयन हुन्छ ।

केन्द्रका निर्देशक डा. राधिका थपलियाले कानुन कार्यान्वयनको काम गृह मन्त्रालयले गर्नु पर्ने स्पष्ट व्यवस्था भएको र स्वास्थ्यले त्यसका लागि अनुरोध गरिरहेको जानकारी दिइन् । सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा नसर्ने रोगको जोखिम बढेको छ । जसले गर्दा विरामीको उपचारमा राज्यको अर्वौ रुपैया खर्च भइरहेकोले यस तर्फ पनि ध्यान दिन आवश्यक रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनेको कानुन कार्यान्वयन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

द युनियन एसिया प्यासेफिक क्षेत्रका निर्देशक डा. तारासिंह बमले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणसम्बन्धी बनेको कानुन उत्कृष्ट भए पनि नेपालले कार्यान्वयनमा फितलोपना आएको बताउँछन् । सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी प्रतिशत चेतावनीमूलक चित्र छाप्ने व्यवस्था गरेको नेपालको सिको गर्दै भारत, श्रीलंका टिमोर लिष्टे लगायतका धेरै देशहरुले कानुन बनाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको उनले स्मरण गरे ।

तर, नेपालले कानुन राम्रो बनाए पनि कार्यान्वयन नभएको उनले भनाई छ । उनले मिडिया, नागरिक समाज, सामाजिक संघसंस्थासंग मिलेर सरकारले तत्कालै कानुन कार्यान्वनय गर्नु पर्नेमा जोड दिए । सरकारले आव २०७८/ ७९ मा अहिले भएको सुर्तीजन्य पदार्थको करमा २५ प्रतिशत वृद्धि गरेको छ । विश्व स्वास्थ्य संगठनले कम्तीमा ७५ प्रतिशत कर हुनु पर्ने बताउँदै आएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया