चन्दनबारीमा भेटिएका मनकारी ‘कम्युनिस्ट’
काठमाडाैँ । हामी गोसाईंकुण्डको यात्रामा थियौँ । उकालो यात्रा अनि लेक लाग्ने समस्याले साथी सुमन सुस्त गतिमा पाइला चाल्दै थिए । साथी प्रकाश र दामोदरको रफ्तार निक्कै थियो । मेरो गति चाहिँ बिच-बिचमा थियो ।
हामीभन्दा चाँडै चन्दनबारी पुगेका प्रकाशले खानाको व्यवस्था गरेका थिए । होटल रेड पाण्डामा । उनीहरू हाम्रो पर्खाइँमा थिए । हामी मन्द गतिमा पाइला चाल्दै थियौँ । होटल सञ्चालक रहेछन्, सुब्बा लामा । भोक र थकाईंले मनमा उर्जा थिएन, तर सुब्बा लामाको राजनीतिक जीवनको बारेमा माओवादी नेता इन्द्र गौतमले भनेका थिए, ‘छलफल गर्नु होला पुराना नेता हुन् ।’ त्यो कुराले मनमा जिज्ञासा पनि उस्तै थियो । ‘चिन्नु न जान्नु एकैपटक बुढालाई के गफ हान्नु’ भनेर म भने गफिने उचित मौसमको खोजीमा थिए ।

बुढेसकालको अवस्था, हँसिलो अनुहार, जोसिलो जाँगर युवा झैँ थियो, उनको हाउभाउ । आफ्नो रफ्तारमा नियमित काममा उत्तिकै क्रियाशील थिए, उनी । खानापछि केहीसमय आराम गरेर बसेका थियौँ, हामी । मैले उनलाई टुङ्ना बजाउन अनुरोध गरेँ ।
गीतको शब्द बुझ्न भाषाको समस्या भए पनि मौलिक लय र संगीतले भने मनमा बास गरेको थियो । त्यसपछि मैले उहाँसँग केही कुराकानी गर्ने प्रस्ताव गरेँ । जीवनका उकाली ओराली यात्राका केही अनुभूति सुनाउन अनुरोध गरेँ । विस्तारै–विस्तारै उनले जिन्दगीको यात्राका अनुभूतिको केही पोको फुकाएर हामीलाई पस्कने जमर्को गरे ।
सुब्बा लामाको जन्म तत्कालीन स्याफ्रु गाविस वडा नम्बर ४ सानो भार्कुमा भएको हो । हाल यो गाउँ रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्छ । कुनै पनि व्यक्तिको जिन्दगीका गोरेटोहरू कस्तो कोरिएला भन्ने चित्र परिवारको अवस्थाले दिन्छ । उनको पारिवारिक स्थितिको केही चित्र नियाल्दै थियौँ हामी ।
गाउँले जीवन भनेको खेतीपाती, किसानी नै हो । त्यतिखेर विशेष गरी पशुपालनको काममा थियो, उनको परिवार । ‘हामीसँग चौँरी, भेडा थिए । मचाहिँ १० वर्षको उमेरसम्म हजुर आमासँग चौँरीगोठमा बस्ने गर्थेँ । १० देखि १९ वर्षको उमेरतिर कहिले चौँरीगोठ, कहिले भेडागोठ गरेर बसेँ । हाम्रो दाइ चाहिँ त्यतिखेर पनि अलिअलि नेता नै हुनुहुन्थ्यो, पञ्चायती नेता । उहाँ जिल्ला पञ्चायतको सभापति हुनुहुन्थ्यो ।’ अतित सम्झँदै उनले भने । सहोदर दाजु जिल्ला पञ्चायत रसुवाको सभापति भए पनि उनैको भाइ सुब्बा भने पञ्चायतविरुद्धको विद्रोही कम्युनिस्ट भएका थिए ।
उनैले नेकपा एमाले रसुवाको जग बसालेको थिए । एमाले रसुवाका संस्थापक सचिव सुब्बा लामा यतिबेला गोसाईंकुण्ड पद मार्गमा पर्ने चन्दनबारी भन्ने स्थानमा होटल सञ्चालन गरेर बसिरहेका रहेछन् । श्रीमतीतिर देखाउँदै उनले भने, ‘उनले पनि एक्लै गोठ सम्हालेको थियो । त्यतिखेर पनि बाध्यता नै थियो गोठचाहिँ सम्हाल्नै पर्ने । अनि मेरी श्रीमतीले ६–७ वर्ष चाहिँ एक्लैले गोठ सम्हालेर बसिन् ।’
उमेर अवस्थाले सक्रिय राजनीतिभन्दा पर रहेर पारिवारिक वातावरणमा रमाइरहेका थिए, यतिबेला लामा । यी बुढा कसरी कम्युनिस्ट भए होलान् ? भन्ने कौतुहलता पलाएको थियो मेरो मनमा । घरबाट भागेर भारतको शहरमा पुगेका उनले कुल्ली कामसम्म गरेका थिए ।
‘असारको महिनामा एकैचोटी म भागेर इण्डियातिर पसेँ । भुटानमा पनि हाम्रो गाउँलेहरू छन् भन्ने सुनेको थिएँ । म त भुटान नै जान्छु भनेर भागेर गएको रक्सौलमा पुगेपछि त यस्तो भयो कि, मलाई आकाशबाट खसेजस्तो भयो । यहाँ जाडो ठाउँमा बसेको मान्छे, एकैचोटी गर्मी ठाउँमा पुग्दा खेरी त, फेरि त्यसमा पनि हिन्दी भाषा पटक्कै नजान्ने । अलमलमा परेँ । भुटान जान्छु भनेर सोधेँ तर भाषा पनि नबुझ्ने, कसरी जानुपर्ने भन्ने पनि थाहा थिएन ।’ उनले भने ।
मामाहरू पनि त्यहाँ कुल्लीकै काम गर्ने रहेछन् । त्यहाँ गएर उनले पनि ९ महिनासम्म कुल्ली काम गरे ।
अन्धाधुन्ध रूपमा भारत लागेका उनले अनेकौँ हैरानी र सास्ती ब्यहोरे । बाटोमा भेटिएका नेपालीहरूको पछि लागेकै भरमा पुगेका उनले कुल्ली जीवनबाट पार पाएका थिए । उनी एक जना सरकारी कर्मचारीको घरमा काम गर्ने थाले । त्यहाँ बस्दा–बस्दा एकदिन ती कर्मचारीले उनको बारेमा सोधखोज गरेपछि उनले शिक्षाको ज्योति पहिल्याउने अवसर मिलेको रहेछ ।
त्यो प्रसंग सम्झँदै उनले भने, ‘उहाँले सोध्नुभयो, तिमी त यसो हेर्दा खेरी हुने खानेकै छोराजस्तो छौ । किन भागेर आयौ ? मैले सबै कुरा भनेँ, म त स्कुलमा जान चाहन्थेँ । स्कुल पठाएनन् । गोठमा राखिदिए । गोठमा सारै दुःख भयो । अनि भागेर आएको । उहाँले ‘ओहो तिमीलाई यत्रो पढ्ने इच्छा छ ? छक्कै परेँ म त ! उसोभए त हामी चार जनालाई खाना पकाइसकेपछि तिम्रो काम नै छैन । तिमी पढेर बस न त । हामी पढाउँछौँ’ भन्नुभयो । मैले हुन्छ’ भनेँ । त्यहाँबाट केही दिनमा दुईजना त सरुवा भएर गए । दुई जना मात्रै थिए । उनीहरूलाई खाना पकाउन पर्ने । खाना पकाइसकेपछि उहाँले त पुरा मलाई ट्युसन पढाएजस्तै पढाउनुभयो ।’
ती कर्मचारी त्यहाँको शिक्षा विभागमा काम गर्ने रहेछन् । सुब्बा पनि तामाङ, ऊनी पनि तामाङ नै रहेछन् । उनलाई दया लागेको रहेछ । उनीहरूसँग बस्दा–बस्दै दुई महिना बितेको सुब्बालाई पत्तो भएन । दुई महिनामा उनले निकै नै अक्षर चिने । पहिला त अलिअलि मात्रै नेपाली पढ्ने मान्छे, त्यहाँ बस्दा अंग्रेजी पनि पढ्न सक्ने भए ।
त्यहाँको बसाईसँगै दुई महिनापछि ठ्याक्कै उनी जसलाई खोजेर घर छोडेर भारत गएका थिए । त्यही मामालाई सोही ठाउँमा भेटे । विदेशको भूमिमा भेटेपछि मामाले पनि छोडेनन् । ‘तिमी भागेर आएको रहेछ । अब सँगै जानुपर्छ, आमा बाबाले मलाई भेटेर पनि ल्याएन भनेर गाली गर्छ । तिमी मसँगै जानुपर्छ ।’
मामाले भनेको कुरा ताजै स्मरण छ सुब्बालाई । त्यसपछि सुब्बाको यात्रा भारतको आसाम भन्ने ठाउँमा पुग्यो । मामाहरू पनि त्यहाँ कुल्लीकै काम गर्ने रहेछन् । त्यहाँ गएर उनले पनि ९ महिनासम्म कुल्ली काम गरे । ‘त्यहाँबाट हो मैले दाइलाई चिठी लेख्न थालेको’ उनले दाइलाई लेखेको चिठीको बेहोरा सुनाए, ‘म त मामा पनि भेटेँ, म यस्तो ठाउँमा छु । मलाई स्कुलमा राखिदिने भए म फर्केर आउँछु । नत्र म आउँदिन’ ।
यसरी चिठी लेखेपछि उनका दाइले स्कुल राखिदिने भनेर जवाफी चिठी पठाएका थिए । ‘तिमी फर्केर आउ स्कुलमा राखिदिउँला । फेरि मलाई एकदम पढ्नुपर्छ भनेर दाइले चिठी लेख्नुभयो । मलाई एकदम पढ्नुपर्छ भन्ने प्रेरणा दिने एकजना शिक्षा अधिकारी थिए । उनी चाहिँ दीपराज थापा भन्ने हुन् । उनले चाहिँ जहिले पनि हाम्रो घरमा आएपछि दाइलाई पनि गाली गर्थे । तपाईं चाहिँ नेता, भाइलाई चाहिँ गोठालो ? भएन यो त । पढाउनुहोस् भाइलाई भन्थे ।
सुब्बा भन्छन्, ‘पछि मैले थाहा पाएँ शिक्षा अधिकारीले मलाई चिठी लेख्नु भएको रहेछ, कान्छा तिमी फर्केर आऊ, यहाँ त छात्रवृत्ति आएको छ । एउटा सिट चाहिँ तिम्रो लागि पक्का गरेर मैले राखेको छु । तर त्यो अवधिभित्र आइसक्नुपर्छ ।’
त्यति भएपछि उनको पढ्ने रहर त पूरा हुने भो तर एक्लै कसरी फर्केर आउने ? यत्रो टाढा आइसकेको मान्छे । उनलाई त्यो पनि थाहा थिएन कसरी नेपाल जानुपर्ने भन्ने । त्यही बेला उनको एउटा साथी भेटियो । उनी नेपाल फर्केर आउँदै रहेछन् । उनी चाहिँ आवतजावत गरिरहने मान्छे । सुब्बाले उनैलाई पक्रे र पछि लागे । नेपाल फिरे ।
‘शारदारमण सर मेरो राजनीतिक गुरु नै हो । कहिले काहीँ गोप्य मिटिङ हुँदो रहेछ पाटन, तिर । उहाँले चाहिँ मलाई पनि लिएर जानुहुन्थ्यो । त्यसरी लैजाँदै गर्दा म कम्युनिस्ट पार्टीतिर प्रभावित भएँ ।’
उनी नेपाल आइपुग्दा संयोगले त्यो छात्रवृती प्राप्त गर्ने समय एकदिन मात्र बाँकी थियो । ‘ठ्याक्कै भेटियो ।’ उबेला सम्झेर सुब्बाको अनुहारमा एक्कासी चमक आयो । त्यतिखेर हिमवृत्ति छात्रवृत्ति भनेर दुर्गम क्षेत्रहरूमा दिइन्थ्यो । त्यो छात्रवृत्तिले एसएलसीसम्म मात्रै पढ्न पाउने गरी । सुब्बाले त्यही अवसर पाएका थिए ।
राजधानीको सिद्धार्थ वनस्थली स्कुलमा उनी भर्ना भए । उमेरको हिसाबले त उनी त्यहाँको कक्षामा फिट हुँदैन थिए । उनको उमेर यतिखेरसम्म एसएलसी दिइसक्नु पर्ने भएको थियो । तर पढाई र छात्रवृत्ति दुई तीन कक्षाका लागि । विद्यालयमा मान्छे ठूलो छ कसरी सानो कक्षामा राख्नु ? भनेर छलफल चलाउनु परेको थियो ।
‘जसरी पनि यी दुई जना केटा चाहिँ राखिदिनुपर्यो भनेर शिक्षा अधिकारीले नै भनिसकेपछि सुरुमा ४ कक्षामा राख्नु भयो । ४ कक्षामा सबै फुच्चेहरू थिए म ठूलो । सबैले हाइजम्प गर्नेबेला .. हा हा ’ उनले हाँस्दै भने ।
भारतमा हुँदा सिकेको पढाईले त्यहाँ उनी फिट हुँदै गए । अंग्रेजी पनि अलिअलि जान्ने भएका उनलाई एकैचोटी चारबाट ६ मा र ६ बाट एकैचोटी ८ कक्षामा राखिदिए शिक्षकले । त्यतिबेलाको शिक्षकहरूले गरेको माया सम्झँदै उनले भने, ‘छुट्टीमा पनि त्यो हेडसरले उहाँकै डेरामा लगेर राखेर ट्युसन नै पढाइदिनु भयो । त्यसको पैसा नै लिनुभएन । हामी चारजनामध्ये मैले चाहिँ एसएलसी पास गरेँ । अरु फेल भए ।’
चौँरीगोठ छाडेर भारत पुगेका उनलाई कसरी यो कम्युनिस्ट प्रभाव बस्न गयो होला भन्ने जिज्ञासा राखेको थिएँ, मैले । भारत पुगेका सुब्बालाई कम्युनिस्टको प्रभाव भने माओका विचारका प्रचारले परेको रहेछ ।
‘म इण्डियामा काम गर्दा खेरी त्यतिखेर माओत्सेतुङका धेरै कुराहरू सुनिन्थे । इण्डियाको नक्सालवादीहरूको बारेमा सुन्थेँ । कम्युनिस्टले मात्रै गरिबलाई राम्रो गर्छ ,रे भन्ने चाहिँ सुनेको थिएँ । त्यतिखेर सरदारहरूले कामदारहरूलाई ठगेको देख्दा मलाई यस्तो रिस उठ्थ्यो कि । अब यिनीहरूलाई ठिक पार्नको लागि चाहिँ कम्युनिस्ट नै आउनु पर्ने रैछ भन्ने छाप थियो मनमा चाहिँ ।’ उनले विगत कोट्याए ।
मनमा परेको यो सकारात्मक छापलाई फलाउने फुलाउने वातावरणको सिर्जना भने नुवाकोटका शिक्षक एवं सहित्यकार शारदारमण नेपालले गरेको रहछन् । पञ्चायत कालीन राजनीतिमा प्रतिबन्धित राजनीतिक दल त्यसमा पनि कम्युनिस्ट पार्टीमा आबद्ध हुन कम्ती चुनौतीपूर्ण थिएन । ‘शारदारमण सर मेरो राजनीतिक गुरु नै हो । कहिले काहीँ गोप्य मिटिङ हुँदो रहेछ पाटन, तिर । उहाँले चाहिँ मलाई पनि लिएर जानुहुन्थ्यो । त्यसरी लैजाँदै गर्दा म कम्युनिस्ट पार्टीतिर प्रभावित भएँ ।’
हिजोको दुःख र आजको वाम राजनीतिको चित्र नियालेर हिमालको काखमा सुस्ताइरहेको योद्धाको मनमा आजको कम्युनिस्ट राजनीतिको चिन्ता उस्तै थियो । कस्तो देख्नुहुन्छ त हिजोको राजनीति र आजको राजनीतिबिच फरक ? भन्ने मेरो जिज्ञासामा भावुक बन्दै उनले भने, ‘अब पैसाको खेलो सुरु भैसक्यो । पैसाबिना जित्नै नसक्ने अवस्था आइसक्यो । पैसाबिना पनि लड्न सक्ने व्यवस्था कसरी ल्याउने भन्ने तर्फ सोच्नुपथ्र्याे । नत्र गरिब कहिल्यै माथि नआउने भए ।’
आजको यो राजनीतिको विकृत चित्रको विकल्प खोज्न अति जरुरी छ भन्ने उनको ठहर छ । एक अग्रज योद्धा जो इमान र स्वाभिमानले बाँचेको छ । एक यस्तो योद्धा जसको मनभित्रको अतितप्रतिको अगाध सम्मान र माया छ । मेरो त उनीसँगको यो आकस्मिक भेट मात्रै हो । यो एक बसाइँले मात्रै राजनीतिको इतिहास र अनुभवको चित्र-कथा उजेल्न सम्भव भएन । म सोच्दै थिएँ, देशैभर छरिएर रहेका यस्ता भुईं मान्छेहरू जो इतिहासका अगुवा थिए ।
आन्दोलनको रथ काँध थाप्ने पिल्लर थिए, ति अग्रजहरूको अनुभवलाई संगालेर नयाँ यात्राको लागि प्रेरणा बटुल्ने अनुभवसिद्ध ज्ञानको अध्ययन पछिल्लो पुस्तालाई गराउने संस्थागत पहल÷प्रयास किन हुन सकेन होला नेपाली वाम राजनीतिको इतिहासमा ?
२०७७ फाल्गुन ।
प्रतिक्रिया