मंगलबार, वैशाख ९, २०८२

ग्राउण्ड जिरो रिपोर्ट

घर कहिले फर्किने हो ? (तस्वीरहरू)

जुली गिरी २०७८ असार ६ गते १४:५०

सिन्धुपाल्चोक । गत मंगलबार बाढीले सुन्दर बजार मेलम्ची क्षणभरमै तहसनहस बन्न पुग्यो । बाढीका कारण सयौँ परिवार घरबारविहीन बने । करोडौँ सम्पत्तिका मालिक सुकुम्बासी भए ।

बाढीका कारण दुई–तीन तले घर पूरै पुरिए । पहेलपुर धान फल्ने खेत बगरमा परिणत भए । घरमा भएका केही सामान निकाल्न पाएनन्, मेलम्चीबासीले ।

निरन्तर पानीका कारण उनीहरू अहिलेसम्म त्रासमा छन् । परिवारका सदस्य गुमाए । सयौँलाई खाना खुवाउने होटल, लाखौँको व्यापार हुने पसल, परिवारका सदस्यजस्ता पशु चौपाय, जीवनभर कमाएका सम्पत्ति गुमाए, उनीहरूले ।

बाढीका कारण सर्वस्व गुमाएका उनीहरूसँग गुमाउनु बाँकी केही रहेन । आफू बस्दै आएको घरभित्र पस्न डराउनु परेको छ ।

मेलम्चीको आकाशमा अहिले पनि डर लाग्दो बादल मडारिएको छ । तलतिर बासिन्दाहरू त्रासमा छन् । पानी रोकिन्छ । केही छिनमा पर्छ । यसैबीच बाढी पीडितहरू घरभित्रबाट बचेका केही सामान निकाल्दै छन् । गाडीमा लोड गर्दै छन् ।

बाढीले बगाउन बाँकी भएका सामान कहाँ लैजाने हो थाहा छैन, उनीहरूलाई । तर, निकाल्दै छन् । आफू बस्दै आएको थातथालो छाडेर उकालो लाग्दै छन् ।

थाहा छैन, उनीहरूको पाइला कहाँ पुगरे रोकिने हो ? आफ्नो घर कहिले फर्किने हो ?

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया