महाधिवेशनकाे संघारमा नेपाली कांग्रेस
क्रियाशील सदस्यको लफडा मै अल्झियो कांग्रेस
३३ जिल्लामा सदस्यता विवाद

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नामावलीमा कुनै त्रुटि भए सच्याउन वा नाम समावेश गर्न आज बेलुकीसम्मको समय दिइएको छ ।
नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र नवीकरणतर्फ जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गर्नका लागि यो समय दिइएको थियो । तर क्रियाशील सदस्यताका विषयमा ३३ जिल्लामा अझै समस्या देखिएको छ ।
क्रियाशील सदस्यता छानविन समितिका सदस्य कल्याण गुरुङले सबै भन्दा बढी समायोजनमै समस्या देखिएको जानकारी दिए । त्यसमा पनि ११ जिल्लामा यस्तो समस्या देखिएको छानविन समितिका सदस्य गुरुङले मेरोन्यूजलाई बताए ।
उनका अनुसार प्रदेश १ का दुई जिल्ला मोरङ र सुनसरी, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, वाग्मती प्रदेशको सिन्धुपाल्चोक र लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा समस्या देखिएको हो ।
‘प्र्रदेश २ को महोत्तरीबाहेकका ७ वटैै जिल्ला र अन्य प्रदेशका पनि केही जिल्लामा गरी ११ जिल्लामा क्रियाशील सदस्यको समायोजनमा समस्या देखिएको छ ।’ गुरुङले भने ।
यी जिल्लाहरुमा आन्तरिक समायोजन, शुल्क विवादलगायत समस्याका कारण काम हुन नसकेको कांग्रेस नेताहरुको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार अहिले क्रियाशील सदस्यको संख्या नयाँ र नवीकरण दुवै गरी ८ लाख नाघेको छ । नवीकरण सदस्य ४ लाख ७० हजार रहेका छन् । कांग्रेसको वर्तमान कार्यसमितिले सुरुको चार वर्ष र विधानअनुसार थप गरेको एक वर्ष म्याद फागुन २०७७ मा गुजारिसकेको छ ।
संवैधानिक व्यवस्था अनुसार लिन पाउने थप ६ महिना आगामी भदौ १९ मा सकिँदैछ । उक्त समयावधिभित्र जसरी पनि महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने दबाबमा कांग्रेस छ ।
त्यस कारण कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी पछिल्लो पटक कार्यतालिका संशोधन गरेर तय गरेको छ । त्यस अगाडि तय भएको महाधिवेशन कार्यतालिका क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि थप ९ दिन पछि सारेको थियो ।
महाधिवेशनको संशोधित नयाँ कार्यतालिका अनुसार, अब क्रियाशील सदस्यता छानविन समितिले सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्नुपर्ने प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।
गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ । प्रदेश निर्वाचन, क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिका तय गरिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछन् ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले बनाएको नयाँ कार्यतालिकामा उल्लेख छ ।
छानविन समिति मापदण्ड बनाउन छलफलमा
क्रियाशील सदस्यतासम्बन्धी देखापरेका विवाद के कसरी टुंग्गो लगाउने भन्ने विषयमा छानविन समितिले ‘होमवर्क’ शुरु गरेको छ । तर विवादलाई कसरी छिनोफानो लगाउने भन्नेमा मापदण्ड बनाउन छानविन समितिका सदस्यहरु अहिले पार्टी कार्यालय सानेपामा छलफलमा छन् ।
३३ जिल्लामा समायोजन विवाद, ४ ओटा जिल्ला बारा, सप्तरी, सिन्धुपाल्चोक र बर्दियामा सर्भरमा सदस्यता इन्ट्रीकै काम भएको छैन । त्यस्तै ३८ जिल्लामा पनि कुनै न कुनै मापदण्ड बनाएर जान नसकिए क्रियाशील सदस्यता टुंग्गो लगाउनै समस्या रहेको छानविन समितिका एक सदस्यले बताए ।
‘समस्या छन्, तिनका समाधान के कसरी गर्ने भन्नेमा हामी छलफलमा छौं,’ सानेपा कार्यालयमा छलफलमा रहेका समितिका एक सदस्यले भने,–‘कुनै न कुनै मापदण्ड नबनाई टुंग्याउन अप्ठ्यारो हुने भएपछि मापदण्ड के बनाउने भन्नेमा हामी छलफल गरिरहेका छौं ।’
३२ वटा वडामा अझै बिवाद छ

बारा जिल्लाका ३२ वटा वडामा अझै सदस्यता विवाद छ । क्षेत्रीय सभापतिको नाममा उजुरी दिएका छन् । अन्य सदस्यहरुले क्रियाशील सदस्य रोक्का गरेका छन् । यदि केन्द्रले यस जिल्लाका विषयमा निर्णय टुङ्गोमा पुर्याउन सकेन भने धेरैले क्रियाशील सदस्य भन्न नपाउने अवस्था छ । जिल्लाको निर्णय केन्द्रीय कार्यसमितिमा पठाइएको थियो । केन्द्रीय कार्यसमितिले पनि निर्वाचन समितिमा पठाएको रहेछ ।
विजयकुमार गच्छयदारका ४८६ जनालाई दिन पत्र पठाएको थियो । त्यो पत्रको आधारमै उनीहरुलाई क्रियाशील सदस्य दिएका थियौँ । त्यसमा कुनै समस्या पनि देखिएको छैन । क्रियाशील सदस्य छानविन समितिले म्याद थपिदिएमा २५ गतेसम्ममा सबै समस्या समाधान हुन्छ । नवीकरणमा ६ हजार क्रियाशील सदस्य र नयाँ थपिदाँ ११ हजारभन्दा बढी हुन्छ । निर्देशिकाबमोजिम परेकाहरुलाई समायोजन गरेर पठाइदिने, आफूखुसी निर्णय गरेर, आफूखुसी निवेदन लिएर आफूले भनेको मान्छे हुनुपर्छ, निर्देशिकाभन्दा बाहिर गएर भन्ने मा अहिले बारा जिल्लामा लफ्डा निस्केको छ ।
निर्वाचन समितिले १० गतेसम्मको म्याद दिएको छ । १३ वटा वडाको समायोजन सच्याउन भनेर पठाएको थियो । निर्देशिका बमोजिमको समायोजन गरी पाऊँ भनी जिल्लाले केन्द्रीय कार्यसमितिमा पत्र पठाएको थियो । तर त्यो पत्र केन्द्रीय कार्यसमितिले निर्वाचन समितिमा पठाइदियो । निर्वाचन समितिले के छ त्यो हेर्न बाँकी छ । समायोजनको समस्या समाधान भएन भने बारा जिल्लामा क्रियाशील सदस्यले अधिवेशनमा भाग लिन नपाउने देखिन्छ ।
क्रियाशील सदस्यता भर्ने समय एक साता थप्नुपर्छ

एक साताअघि मात्र क्रियाशील सदस्यको फारम प्राप्त गरेका थियौँ । समायोजनको प्रक्रिया एक हप्ता अघि मात्र टुङ्गो लागेको थियो । अहिले वडा–वडाको नामावली संकलन गर्ने काम गरिरहेका छौँ । भोलिबाट इन्ट्री गर्ने काम सुरु हुन्छ । भोलिबाट क्षेत्रीय सभापतिलाई पासवर्ड दिन्छौं । हामी तीव्र गतिमा काम गरिरहेका छौं । केन्द्रले क्रियाशील सदस्यको फारम भर्न पाउने म्याद १२ गतेसम्मको मात्र दिएको छ । तर हामी १८ गतेसम्मको समय थपिदिन माग गरेका छौँ । तर केन्द्रले उक्त माग स्विकारेको छैन् ।
यस जिल्लामा कांग्रेसका क्रियाशील सदस्य लिएका ८ हजारको हाराहारीमा नवीकरण गर्नुपर्ने छ । राप्रपा, फोरमलगायतबाट कांग्रेसमा प्रवेश गरेकाका लागि नयाँ क्रियाशील सदस्य दिनुपर्ने छ । नयाँ र नवीकरण गरेर १८ हजारको हाराहारीमा पुग्ने देखिन्छ । सिन्धुपाल्चोकमा १०३ वडा रहेको छ । वडाको सबै जिल्लामा आइसकेको छैन् । सिन्धुपाल्चोकलाई क्रियाशील सदस्यको फारम पठाउनु र जिल्लामा बाढी पहिरोको समस्या एकै समयमा भयो । यो विपद्को समयमा राहत सहयोगमा हिँड्नुपर्छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया