महाधिवेशन सार्ने विकल्प खोज्दै कांग्रेस : यस्ता छन् ५ विकल्प

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका पटक–पटक प्रभावित बनिरहँदा नयाँ कार्यतालिका बनाउन कांग्रेसको आज केन्द्रीय समितिको बैठक बस्दैछ । भदौं १६ देखि १९ सम्म तोकिएको महाधिवेशन सार्ने विषयमा सहमति खोज्न वुधबार सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टीका बरिष्ठ नेताहरुसाग अनौपचारिक सम्वाद गरेका थिए ।
महाधिवेशन सर्ने करिव निश्चित भएपनि के विकल्पका आधारमा सार्ने भन्ने खोजीमा भने काग्रेस छ । त्यही विकल्पको खोजी काग्रेसको केन्द्रीय कमिटि बैठकमा आज नेताहरुले छलफल गर्न खोजेका छन् ।
साउन १२ गतेका लागि तोकिएको कांग्रेसको वडा अधिवेशन प्रभावित भइसकेको छ । कांग्रेसले नियमित महाधिवेशन २०७६ साल फागुन ७ देखि १० गतेभित्र गर्ने भनेर पहिलोपटक तोकेको थियो । त्यसयता महाधिवेशनको कार्यतालिका ५ पटक परिमार्जन गरिएको छ । तर, भदौ २३ गते अघि महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा पर्ने देखिन्छ । पछिल्लो पटक कांग्रेसले संविधानको साहरा लिएर पार्टीको म्याद ६ महिनाका लागि थपेको थियो ।
अहिलेसम्म नयाँ कार्यतालिका जारी भएको छैन । क्रियाशील सदस्यको विवादको समस्या अझै टुङ्गिएको छैन् । यस्तो अवस्थामा भदौ २३ अघि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता समाप्त हुने खतरा पनि छ । तर, महाधिवेशन सार्न नेताहरुले कानूनी छिद्र खोजेर विभिन्न विकल्प समेत खोजिरहेका देखिन्छन् । निर्वाचन आयोगमा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्न के के विकल्प हुन सक्छन् ? भन्ने विषयमा परार्मश लिएको देउवा निकट स्रोत बताउँछ ।
एकजना केन्द्रीय सदस्यले भने, ‘चार वर्षमा सम्पन्न गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्षमा पनि गर्न नसक्नु नेतृत्वको असफलता हो । केन्द्रीय कार्यसमितिको कमजोरी हो । नेतृत्वकै नालायकी हो । लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको अटेरी हो ।’
कांग्रेस नेतृत्व भदौ तेस्रो साता वडा अधिवेशन गरेर महाधिवेशन प्रक्रिया आरम्भ गर्ने र पार्टीलाई अवैध हुनबाट जोगाउने र यो प्रक्रियालाई मंसिरमा सम्पन्न गर्ने दाउमा रहेको छ ।
सम्भव छ त निर्धारित मितिमै महाधिवेशन ?

कांग्रेसको निर्वाचन समितिका सदस्य कृष्णचन्द्र घिमिरेले अहिले पनि निर्वाचन समितिलाई काम गर्न दिने हो भने महाधिवेशन गर्न सम्भव रहेको बताउँछन् । उनका अनुसार पार्टी सभापतिले क्रियाशिल सदस्यता निर्वाचन समितिलाई हस्तान्तर गरेको २० औँ दिनमा वडा तहको अधिवेशन गर्न सकिन्छ । भने ४६ औँ दिनमा केन्द्रिय समितिको महाधिवेशन गर्न सकिन्छ ।
उनले भने, ‘त्यो विचको समयमा कुन तहको कहिले गर्ने भनेर निर्वाचन समितिले गर्ने हो त्यो हामी मिलाउँछौँ। ’ अबको दुई देखि तीन दिनमा क्रियाशील विवाद समाधान गरेर निर्वाचन समितिलाई हस्तान्तरण गरेमा पनि पार्टीको अधिवेशन गर्न सकिने उनले बताए । क्रियाशील सदस्यता प्राप्त गर्ने पर्खाइमा निर्वाचन आयोग रहेको उनले बताए ।
‘अव अहिले तोकिएकै मितिमा केन्द्रिय महाधिवेशन सम्भव छैन तर वडास्तरको महाधिवेशन गर्न सम्भव छ,’ उनले भने । उनका अनुसार अहिले पनि निर्वाचन समितिले कसलाई कहाँ खटाउँने लगायतका काम गरिरहेको छ । क्रियाशील सदस्यको ७७ जिल्लाकै फाइल लिष्ट आउँनुपर्ने उनको भनाई छ । उनका अनुसार १३ औँ महाधिवेशनमा काउन्टिङ धेरै दिन लागेको देखिएको थियो । त्यस कारण महाधिवेशन सुरुवात हुनुपर्यो । अहिले कोभिडको अवस्था पनि छ ,यो अवस्थालाई विचार गरेर अगाडी बढ्नुपर्छ । तर अधिवेशनको सुरुवात हुनुपर्छ ।
महाधिवेशनको प्रक्रिया वडास्तरबाट नै सुरुवात हुनुपर्यो, सुरुवात भएपछि त विस्तारै असोजसम्ममा केन्द्रिय समितिको निर्वाचन हुन सक्ने देखिएको उनले बताए । पहिलाको समय घटाएर ४६ दिनमा केन्द्रिय महाधिवेशन गर्न सक्ने गरि निर्वाचन समितिले काम गरिरहेको छ ।
कांग्रेस नेता गगन थापा तोकिएकै समयमा महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नुपर्ने बताउँछन् । कांग्रेस नेता अर्जुन नसिंह केसीले तोकिएकै मितिमा विशेष महाधिवेशन गर्नुपर्ने बताए ।
कांग्रेस नेता राधेश्याम अधिकारीले अहिले पनि काम गरेमा निर्वाचन गर्न सकिने बताए । उनले भने, ‘अहिले पनि खुरुखुरु पार्टीको विधान बमोजिम निर्वाचन गदै गएमा कुनै पनि विकल्पको पछि लाग्नै पदैन् ।’ तोकिएकै मितिमा अधिवेशन गनुपर्छ , तीन चार दिन अगाडी पछाडि भएर फरक नपर्ने उनले बताए ।

यस्ता छन् विकल्प
विकल्प १ :
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ५४ को उपदफा १ को (ख) मा पाँच वर्षमा केन्द्रीय र प्रदेश समितिको निर्वाचन नगरेमा ५० हजार सजाय हुने व्यवस्था छ । दफा १६ को उपदफा (१) बमोजिम केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन नगरेमा’ सजाय हुने दफा ५४ को उपदफा १ को (ख)मा व्यवस्था गरिएको छ ।
सोही उपदफा २ अनुसार ५० हजार जरिवाना तिरेपछि जरिवाना भएको काम (प्रदेश र केन्द्रीय समितिको निर्वाचन) गर्न कांग्रेसले ६ महिनाको समय पाउन सक्ने देउवा निकट नेताहरुको दाबी छ । सो उपदफाकै २ मा ‘कुनै दलले उपदफा (१) को खण्ड (ख), (ग), (घ), (ङ), (च) वा (छ) विपरीतको काम गरेमा आयोगले त्यस्तो दललाई त्यस्तो काम, कारबाही छ महिनाभित्र सच्याउन आदेश दिन सक्नेछ,’ भनिएको छ ।
तर यो ऐन पनि संविधानसँग बाझिएकाले अदालतबाट खारेज हुने जोखिम समेत रहेको कांग्रेस निकट विश्लेषकहरु बताउँछन् ।
विकल्प २ः
लकडाउनको समयलाई शून्य समय मानेर महाधिवेशन सार्न सकिने विकल्पमा पनि कांग्रेसमा नेताहरुका वीचमा छलफल भएको छ । सर्वोच्च अदालतले २०७७ साल जेठ १५ गते ‘लकडाउन’को अवधिलाई शून्य अवधि मानेको थियो । तर कांग्रेस नेता अर्जुननसिंह केसीका अनुसार शुन्य समय व्यावसायिक प्रयोजनमा दिएको हो, विधान र संविधानले शुन्य समय राजनीतिक दलहरुलाई नदिएको उनको तर्क छ ।
विकल्प ३ :
भदौ २३ अघि महाधिवेशनको प्रक्रिया थाल्ने र निरन्तर महाधिवेशनको प्रक्रिया सुरु गरेमा पार्टीको बैधानिकतामा प्रश्न नउठ्नेमा केन्द्रिय सदस्यहरु सहमत नै रहेको देखिन्छ । क्रियाशील सदस्यता विवाद भएका ७ जिल्लाबाट पुरानै र बाँकीबाट नयाँ प्रतिनिधि छानेर महाधिवेशन गर्न सकिने विकल्प समेत रहेको छ ।
विकल्प ४ :
महामारीको समयमा महाधिवेशन गर्न असम्भव रहेकाले महाधिवेशन रोकिपाउँ भनेर कांग्रेसको कोही क्रियाशील सदस्यले निर्वाचन आयोगमा निवेदन हाल्ने तयारी समेत रहेको केन्द्रिय समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार अहिले कानुन व्यवसायसँग परार्मश लिइरहेका ति सदस्यले मेरोन्युजलाई बताए ।
विकल्प ५ :
सरकारका यतिवेला काग्रेस सभापति शेरवहादुर देउवा नै छन् । उनले विशेष परिस्थिती देखाउादै सरकारको तर्फवाट अध्यादेश ल्याएर पनि काग्रेसको सम्वैधानिक संकट फुकाउन सक्छन् । तर अध्यादेशबाट सयम लिएर महाधिवेशन गर्दा कांग्रेसभित्र र वाहिर दुवैतिरबाट नै देउवाको आलोचना हुने देखिँदा यो किवल्प त्यक्ति रुचीकर विकल्प नरहेको कांग्रेस नेताहरु बताउँछन् । आलोचना खेपेर आउँनुपर्ने हुदाँ यो विकल्पको पछि सकेसम्म पार्टी नलागेकै राम्रो हुने देउवा निकट नेताहरुको भनाई छ ।
यसैगरी, यता पौडेल पक्षले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन भएपनि गर्नुपर्ने बताउँदै आएको छ । तर विशेष महाधिवेशन गर्नु भने त्यति सजिलो नभएको कांग्रेस जानकारहरु बताउँछन् । अहिलेकै नेतृत्वलाई अनुमोदन गर्ने र केही समयपछि विशेष महाधिवेशन गर्ने विकल्प पनि हुनसक्छ । तर सहमति जुटाउन भने सजिलो छैन।
यो पनि : संविधान अनुरुप भदौ २३ भन्दा पर लैजान मिल्दैन कांग्रेस महाधिवेशन

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया