सोमबार, पुष १४, २०८२

कारागारभित्रै किन हुन्छन् आपराधिक घटना ?

यस्तो छ कारागारभित्र भएका अपराधका श्रृंखला

दया दुदराज २०७८ भदौ २० गते २१:०१

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा आइतबार एक्कासी झडप भयो । चौकीदार र कैदीबन्दीबीच विवाद हुँदै कारागारभित्रै झडप हुन पुग्यो ।

जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएकोलगायतका विषयमा असन्तुष्टि जनाउँदै कैदीबन्दीले नाराबाजी गरेपछि विवाद बढेको हो । सो क्रममा कैदीबन्दीले चर्को नाराबाजीसमेत गरेका थिए ।

कैदीबन्दीहरुले चर्को नाराबाजी गरेपछि चौकीदार र कैदीबन्दीबीचको विवादलाई सुल्झाउनको लागि दुवैपक्षबीच वार्ता भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जनक ढकालले मेरोन्यूजलाई जाकारी दिए ।

महानिर्देशक ढकालले यसलाई सामान्य विवाद भने पनि चौकीदार र कैदीबन्दीबीचको यो झडप सामान्य होइन । चौकीका नाइकेले कैदीबन्दीहरुमाथि गरेको ज्यादतीका कारण कैदीबन्दीहरु नराबाजीसहित आन्दोलनमा उत्रिएका थिए ।

कैदीबन्दीहरुको भीँड थेग्न नसकेपछि प्रहरी समेत परिचालन गरियो ।

कारागारभित्रको झडप भने यो पहिलो होइन । कारागारभित्र यसरी भएका झडपमा कैदीबन्दीको मृत्यु भएको घटनासमेत यसअघि सार्वजनिक भएका छन् ।

झडपको श्रृंखला

२०७१ साल साउन २० गते पर्वत जिल्ला कारागार कैदीबन्दीका चौकीदार र नाइके समूहबीच झडप भएको थियो । २० साउनमा राति अन्दाजी ८ बजेतिर झडप हुँदा चौकीदार ज्ञानबहादुर पाइजा, नाइकेद्वय रत्नराज न्यौपाने र लीलबहादुर खोर्जापुनसहित ७ जना घाइते समेत भएका थिए ।

दुवै समूहले एकअर्कामाथि दुव्र्यवहार, असमान व्यवहार तथा अनियमितता गरेको र त्यसैको विरोध जनाउने क्रममा झडप भएको थियो ।

वि.सं २०७३ साल मंसिर १२ गते महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार जलेश्वर कारागारमा दुई समूहबीच झडप भएको थियो । १२ मंसिर विहान ११ बजेतिर कैदीबन्दीका दुई समूहमा दाउरा र फलामको डन्डीले दोहोरो हानाहान भएको थियो ।

झडपमा आठ जना गम्भीर र चार जना सामान्य घाइते भएका थिए । गम्भीर घाइते सबैलाई उपचारका लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक रवीन्द्र खनालको नेतृत्वमा गएको ५० जना प्रहरीको टोलीले कारागारभित्र छिरेर झडप नियन्त्रणमा लिएको थियो ।

वि.सं २०७५ साल साउन ३१ गते पाल्पा कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । नाइके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका थिए ।

कैदीबन्दी लक्ष्मण रायमाझीले सरकारले उपलब्ध गराएको सेवा सुविधा नदिने तथा मनोमानी गर्ने गरेका कारण आन्दोलनमा उत्रिएका थिए ।

वि.सं २०७६ साल वैशाख २० गते दाङ जिल्लाको घोराही कारागारमा कैदीबन्दीहरुबीच झडप भएको थियो । २० वैशाख मा साढे २ बजे दुई समुहबीच भएको झडपमा परेर पाँच जना कैदीबन्दीहरु घाइते भएका थिए ।

कारागार अनुसार कैदी–कैदीबीच भएको मनमुटावका कारण विवाद भएको र विवादले ठूलो रुप लिएपछि कुटाकुट भएको थियो । कुटाकुटमा ५ जना घाइते भएका थिए ।

उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय दाङले एक शाखा अधिकृतको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो, सोही छानविन समितिले कारागारमा आर्थिक वर्ष सकिँदै गर्दा अर्को वर्षका लागि नाइके, चौकीदार नियुक्त गर्ने व्यवस्था हुन्छ, त्यहि अनुसार आफू अनुकुल नाइके र चौकीदार नियुक्तिको विषयलाई लिएर भएको गुटबन्दीकै कारण कारागारभित्र झडप भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

वि.सं २०७६ साल साउन १७ गते ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । ज्यान मार्ने उद्योगमा कैद सजाय भुक्तान गरिरहेका पवनकुमार महतोको आक्रमणबाट जबरजस्ती करणीको मुद्दामा जेल सजाय काटिरहेका पूर्णबहादुर राजीको मृत्यु भएको हो ।

भुइँमा विच्छ्याइएको ब्लकले राजीमाथि महतोले प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका राजीको उपचारका लागि वीर अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको थियो । महतो र राजी दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए ।

एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दी गएर छुट्टाएका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।

वि.सं २०७७ साल जेठ ११ गते काठमाडौस्थित डिल्लीबजार कारागारमा झडप भएको थियो । सो झडपमा ११ जेठमा गोकुल गिरी र अन्य कैदीबीच झडप हुँदा समीर उर्फ शमशेर तामाङ घाइते भएका थिए ।

गिरीमाथि आर्थिक अनियमितता आरोप लगाउँदै बन्दीहरु आन्दोलित भएका थिए । गिरीलाई चौकीदारबाट हटाउन माग गर्दै कैदीबन्दीहरु आन्दोलित भएका थिए, सोहीक्रममा झगडा भएको थियो ।

पूर्व डीआईजी मल्ल भन्छन्–अव्यवस्थित कारागारका कारण अपराधिक घटना बढ्यो

कारागार व्यवस्थापनमा चासो नदिएकै कारणले पटक पटक यस्ता घटनाहरु बढ्दै गएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । ‘कारागार भित्रको भ्रष्टाचार र प्रशासनीय अनियमितताका कारण कारागारभित्र यस्ता घटनाहरु बढ्दै गएका छन् ।’ पूर्वडिआईजी मल्लले भने ।

देशभर ७४ कारागारहरु छन् । ७४ कारागार मध्येका ३ कारागारमा कैदीबन्दी छैनन् भने ७१ कारागारमा २४ हजार ४ सय २९ जना कैदीबन्दीहरु छन् । यद्यपी नेपालमा कारागार क्षमता भन्दा बढी कैदीबन्दी रहेको मल्लले बताए ।

उनले भने, ‘कारागारमा रहेका मान्छेहरुलाई भेडाबाख्राको जस्तो व्यवहार गरेका छन्, उनीहरुलाई सुधार गर्न ल्याइएको जस्तो व्यवहार छैन ।

कारागार प्रशासनको छनोटमा समेत आफ्ना मान्छे छिराउने र अनियमितताका कारण समेत सुधार गृह बन्न सकेको छैन ताकी कारागार भित्र नै अपराधिक घटना भने वृद्धि हँुदैछ ।’ डीआईजी मल्लका अनुसार कारागारभित्रको प्रशासन छनौटमा हुने भ्रष्टाचार र अनियमितताका कारण अपराधिक घटना बढेका छन् ।

कसरी गर्ने त नियन्त्रण ?

कारागारभित्र हुने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्नका लागि सरकारले नै अहम् भूमिका खेल्नुपर्ने पूर्वडीआईजी मल्ल बताउँछन् ।

उनले भने ‘सरकार पक्षले सम्बन्धित कारागारमा हुने अनियमितता रोक्न अत्यन्तै आवश्यक छ । कारागार प्रशासनमा छनोटमा हुने अनियमितता र भ्रष्ट्रचारलाई सरकारले जरैदेखि निमोठ्नुपर्ने आवश्यक छ । कारागार व्यवस्थापन समक्ष कारागार भित्रको प्रशासनलाई निस्चित मापदण्ड अनुरुप काम गर्न आवश्यक देखिन्छ ।’

कारागारभित्र हुने अपराधिक गतिविधि नियन्त्रणका लागि कारागार भित्रको प्रशासनमा नै नयाँ नियम लागू गर्नुपर्ने मल्लको सुझाव छ ।

कारागारको प्रमुख (नाइके)ले खुलेआम १५ दिनदेखि २ महिनासम्मका लागि छुट्टी पाउने हुने प्रावधान विल्कुलै गलत भएको मल्लको बुझाइ छ । अपराधिक मनस्थिति भएको मान्छे बजारमा निस्कदाँ उनको अपराधिक मनस्थिति झन बढ्न सक्ने भएकाले अवैधानिक मापदण्ड र नियमहरुलाई विस्थापित गरी नयाँ नियम लागु नगरेसम्म समस्या बल्झिरहने मल्ल बताउँछन् ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया