माओवादीको लोकतन्त्र
यसकारण माओवादी पहिलो पटक आन्तरिक निर्वाचन प्रक्रियामा
एक ब्यक्ति एक पदको अवधारणामा निर्वाचन हुँदै
नेकपा (माओवादी केन्द्र) ले पहिलो पटक पार्टी संगठन आन्तरिक निर्वाचन विधि अवलम्बन गरेर निर्माण गदै)छ । मंसिर ४ मा देशभर उसले वडा सम्मेलन गरेर पहिलो पटक आन्तरिक निर्वाचन विधिलाई ग्रहण गर्दैछ । निश्चित कमिटि र त्यस कमिटिका पदाधिकारी र सदस्यका लागि उम्मेदवारी शुल्क नै तोकेर उसले देशभर पार्टीभित्रको निर्वाचन समिति गठन गरेर झण्डै २५ हजार पार्टी नेता कार्यकर्तालाई निर्वाचनका लागि परिचालन गर्दैछ ।
निर्वाचन आयोगले गरिरहेको तयारी, अबको योजना लगायतका विषयमा केन्द्रीत रहेर नेकपा (माओवादी केन्द्र)को केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश ।

० नेकपा (माओवादी केन्द्र)ले अब पार्टीभित्र आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरेर देशभर पार्टी निर्वाचन आयोगलाई सक्रिय तुल्याईरहेको छ । ४ मंसिरदेखि वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन हुँदै पुस ११ मा पुग्दा राष्ट्रिय सम्मेलनसम्मको कार्यक्रम ठोस गरेको छ । यसका लागि निर्वाचन आयोगले के कस्तो तयारी गरिरहेको छ ?
हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले संगठनलाई एउटा निश्चित विधि र पद्धति अनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई स्वीकार गरेको छ । त्यसका लागि वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन राष्ट्रिय सम्मेलन पार्टीले अहिले गर्न लागेको छ ।
यसका लागि निर्वाचन आयोगले आफनो सम्पूर्ण तयारी करिब पूरा गरेको छ ।
पार्टीले विधानको ब्यवस्था अनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहिता हामीले पारित गर्यौं । प्रदेशस्तरका सबै निर्वाचन समिति हामीले एक महिना अगाडि नै गठन गरिसकेका थियौं । आजसम्म आइपुग्दा अधिकांश पालिका, वडाहरुमा पार्टीको निर्वाचन समिति गठन भइसकेको छ ।
निर्वाचन समितिमा रहेर काम गर्नेहरुलाई केन्द्रीय तहबाटै हामीले प्रशिक्षणको काम पनि सम्पन्न गरिसकेका छौं । वुधबारदेखि प्रदेश र पालिकास्तरको निर्वाचन समितिको कार्यालय खुलेको छ । ४ मंसिरमा देशभर एकसाथ वडा सम्मेलन, ११ मंसिरमा देशभर पालिका सम्मेलन र २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने गरी पार्टीले कार्यतालिका बनाएको छ । त्यही अनुसार नै हामीले निर्वाचन समिति गठन गरेर सबै प्रक्रियाहरु पूरा गरेर प्रशिक्षणसमेत सकेर सम्मेलनको निर्वाचन प्रक्रियाको अन्तिम तयारीको चरणमा पुगेका छौं ।
० माओवादी केन्द्रले पहिलो पटक निर्वाचन आयोगलाई अलिक ब्यवस्थित बनाएर आन्तरिक निर्वाचन प्रक्रियामा पार्टी संरचनालाई लैजान खोजेको छ । पार्टीले गठन गरेको आयोगको निर्देशिका र आचारसंहितामा चाँही के ब्यवस्था छ ?
हामीले निर्वाचन निर्देशिका अनुसारको नियमावलीहरु, आचारसंहिताहरु बनाएका छौं । खासगरी कुन स्तरको कमिटिको लागि कति सदस्यीय निर्वाचन समिति बनाउने ? कस्तो निर्वाचन समिति बनाउने र त्यो समितिले के कस्तो काम गर्ने ? भन्ने सम्ममा रहेर हामीले आचारसंहिता, नियमावलीहरु बनाएका छौं । त्यसलाई पारित पनि गरिसकिएको छ ।
नियमावली अनुसार प्रदेशमा सात सदस्यीय, पालिकामा ५ सदस्यीय र वडामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेका छौं । यसरी गठन भएका समितिहरुलाई निरन्तर निर्वाचन निर्देशिकामा रहेर निर्देशन गर्ने, पत्राचार गर्ने गरी काम गरिएको छ । कुन तहको उम्मेदवारले कति उम्मेदवारी शुल्क तिर्नुपर्ने ? निर्वाचन कार्यतालिका कसरी सार्वजनिक हुने लगायतका सवै कुरा आचारसंहिता, नियमावलीहरुमा ब्यवस्था गरेका छों ।
० आन्तरिक निर्वाचन प्रक्रिया कस्तो हुन्छ ?
निर्वाचन कसरी हुन्छ भने वडा सम्मेलन गर्दा वडाभरका सवै संगठित सदस्य भेला भएर वडाको सम्मेलन हुन्छ । तर त्यसका लागि कति संगठित सदस्य उपस्थित हुनुपर्ने भन्नेसम्मको विधि बनेको छ । सम्मेलनवाट निश्चित रुपमा पार्टीको प्रतिनिधि छान्ने ब्यवस्था हुन्छ । वडा सम्मेलन सकिएपछि वडा सम्मेलनका प्रतिनिधिले पालिकालाई विधानमा ब्यवस्था भए अनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुश्लिमको प्रतिनिधित्व हुने गरी कम्तीमा एउटा वडाबाट पालिकामा ३ जना, महानगरका वडाबाट महानगरमा ५ जना नघट्ने गरी प्रतिनिधि ल्याउने ब्यवस्था गरिएको छ ।
त्यसको आधारमा संगठित सदस्यहरुले वडा सम्मेलन गरेर वडा नेतृत्व चुन्छ । वडाहरुबाट आएका प्रतिनिधिहरुले गाउँपालिकामा १५० प्रतिनिधि आउनुपर्छ कम्तीमा । नगरमा २ सय, उपमहानगरमा ३ सय र महानगरमा ४ सय प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगर पालिका अधिवेशन हुन्छ । त्यसका लागि निश्चित संख्या तोकिएका छ । ६५ जनाको कमिटि बनाउने भनिएको छ । जसमध्ये पदाधिकारी संख्या कति हुने ? सदस्य संख्या कुन समूहबाट कति हुने भन्ने ब्यवस्था छ । त्यही आधारमा हुन्छ ।
प्रदेश अधिवेशनका लागि एउटा पालिकावाट कम्तिमा ३० जना नघट्ने गरी त्यही विधानमा ब्यवस्था भए अनुसारको प्रतिनिधित्व सुनिश्चित गरेर प्रतिनिधिहरु प्रदेश सम्मेलनमा सहभागी हुनेछन् । राष्ट्रिय सम्मेलनमा पनि प्रदेशहरुबाट ८ सय प्रतिनिधि सहभागी हुने र अरु पदेन प्रतिनिधिहरु हुने गरी करिब १५/१६ सय जति प्रतिनिधिलाई सहभागी गराएर राष्ट्रिय सम्मेलन गर्ने तयारी हुँदैछ ।

० निर्वाचन तयारीका विषयमा पार्टीले आयोगसँग केही आन्तरिक छलफल गरेको छ की छैन ?
अरु थप परामर्श भएको छैन । केन्द्रीय समितिको वैठकबाट अहिले ‘एउटा ब्यक्ति एक पद’ भन्ने विधानमा संशोधन भएको छ ।
त्यसकै आधारमा वडामा चुनिने प्रतिनिधि, पालिकामा चुनिदैनन् । पालिकामा भएको सदस्य प्रदेशमा हुन्न, प्रदेशमा भएको सदस्य केन्द्रमा रहँदैनन् । त्यसकारण एक ब्यक्ति एक पदको अवधारणामा पार्टी जाने भएकोले विधानमा त्यो संशोधन भएको छ ।
प्रदेश र पालिकामा ७ सदस्यीय पदाधिकारी हुने ब्यवस्था भएको छ । यस भन्दा अगाडि ५ सदस्यीय पदाधिकारी हुने ब्यवस्था थियो । २ जना उपाध्यक्ष थप्ने भन्ने भएको छ । त्यसको संसोधन केन्द्रीय समिति बैठकले गरेको छ । त्यसैको आधारमा निर्वाचन समितिले काम गर्छ ।
अरु आवश्यक परेमा पार्टीसँग छलफल पनि हुँदै जान्छ । तर अहिले थप परामर्श पार्टी नेतृत्वसँग हामीले गरेका छैनौं ।
० सम्मेलनहरु नजिकिँदै गर्दा बेलाबेलामा पार्टीले विधान संसोधन पनि गर्दै आइरहेको छ । सम्मेलनकै मुखमा पदाधिकारी थप गर्ने गरी ५ बाट ७ सदस्यीय पदाधिकारीको ब्यबवस्था पालिका, प्रदेशमा भइरहेका छन् । अन्तिम समयमा हुने यस्ता संसोधनका कामले आयोगलाई निर्वाचनको तयारीका काममा असर गर्छ की गर्दैन ?
यस्ता संशोधनले निर्वाचनको तयारीलाई कुनै असर गर्दैन । निर्वाचनमा जाने बेलामा विधानमा अहिले भएको ब्यवस्था समावेश भएपछि त्यस अनुसार जाने हो ।
त्यसकारण पार्टीले विधान संसोधन गरेर के नयाँ बयवस्था गरयो भन्ने आधारमा निर्वाचन समितिलाई आफनो काम गर्न कुनै असर गर्दैन ।
हामी पार्टीको विधानको ब्यवस्था अनुसार अगाडि बढ्छौं ।
० उम्मेदवारहरुको शुल्क निर्धारणको ब्यवस्था पनि आयोगले गरेको छ क्यारे ? कुन तहका उम्मेदवारले शुल्क चाँही कति तिर्नुपर्छ ?
पार्टी एउटा विधि पद्धतिका आधारमा अगाडि बढोस्, पार्टीमा एउटा निश्चित विधि कायम होस् र त्यो सवैका हकमा एउटै मापदण्डका आधारमा होस् भन्ने हेतुले हामीले उम्मेदवारको उम्मेदवारी दर्तामा निश्चित शुल्क लिने गरी शुल्क निर्धारण गरेका हौं । यसले पार्टीभित्र एउटा हार्दिकता पनि विकास हुन्छ ।
त्यसकारण हामीले वडामा पदाधिकारीलाई एक सय रुपैयाँ, सदस्यलाई ५० रुपैयाँ, पालिकामा पदाधिकारीलाई ५ सय, सदस्यलाई ३ सय, प्रदेशमा पदाधिकारीलार्ई एक हजार र सदस्यलाई ५ सय रुपैया उम्मेदवारी शुल्क ब्यवस्थापन गरेका छौं ।
केन्द्रका उम्मदेवारहरुको हकमा भने कति शुल्क उम्मेदवारी दर्ताका लागि राख्ने भन्ने विषयमा अहिले नै तोकिसकेका छैनौं । राष्ट्रिय सम्मेलनको तयारीका विषयमा अझै पार्टीसँग छलफल गर्न बाँकी नै छ । पार्टीसँग छलफल भएपछि मात्र आयोगले यस बारेमा पनि थप नीति बनाउँछ ।
० पार्टीभित्र आन्तरिक निर्वाचनको कुरा गरिरहँदा सर्वसम्मत नेतृत्वको नाममा पार्टी नेतृत्वले हस्तक्षेप गर्ने पनि हुन सक्छ होला नी ! जवस/मोर्चाहरुमा त्यस्तै देखिए । यस्तो भयो भने निर्वाचन समिति, आयोग गठनको के अर्थ हुन्छ र ?
निर्वाचन समितिले निर्वाचनका निमित्त केही विधिहरु तय गरेको छ । जस्तो की निश्चित कमिटिको सममेलनको मतदाता को हुने ? कसरी हुने ? मतदाताहरुले उम्मेदवारी दिन पाउने नपाउने सबै विधानको ब्यवस्थाका आधारमा तय भएकै छ । त्यही आधारमा अगाडि बढ्छौं ।
जहाँसम्म सर्वसम्मत नेतृत्वको प्रश्न हो, आन्तरिक रुपमा पार्टी भित्र भएको समझदारी निर्वाचन समितिलाई थाहा हुने कुरा भएन । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्छ । त्यसैको आधारमा निर्वाचन गराउने हो उम्मेदवार दिने प्रतिनिधिहरुका बीचमा ।
उम्मेदवार दिने मतदाताहरुले जति जनाले उम्मेदवारी दिन्छन्, त्यसैको आधारमा निर्वाचन गराउँछ । निर्वाचन नहुने गरी सर्वसम्मतमा एउटाले मात्रै उम्मेदवारी दियो भने सर्वसम्मत चुनिएको घोषणा निर्वाचन समितिले गर्छ । दुई वा दुई भन्दा बढीको एउटै पदमा उम्मेदवारी परेमा चुनाव गराउनेतिर निर्वाचन आयोगले काम गर्छ । जित्नेलाई विजयी घोषणा गर्छ ।
तपाईहरुको मतदाता यो यो हुन, मतदाताको दावी विरोध गर्नुस् भन्ने हुन्छ । उम्मेदवार यो यो हो, त्यसमा दावी विरोध, फिर्ता आदी प्रक्रिया हुन्छन त्यो प्रक्रियामा जान्छ । र, अन्तिममा चुनाव हुन्छ । भित्र सहमति बनाए हामीलाई निर्वाचन गराउनु पर्ने भएन । सजिलो भयो नी ।
० मंसिर ४ गते वडा सम्मेलन तपाईहरुले गर्दै हुनुहुन्छ, भनेपछि देशभर निर्वाचन समितिमा कति खटिएका छन् ?
सवै वडाको निर्वाचन समितिको नामावली आइसकेको छैन । ६ हजार ७४३ वडामा ३ जनाको दरले २० हजार २२९ जना वडाहरुको सम्मेलनमा निर्वाचन समितिका सदस्यहरु हुन्छन् ।
७५३ पालिकामा ५ जनाको दरले ३७ सय ६५ जना पालिकाका भए । ७ भौगोलिक सहितका ३ गैरभौगोलिक समेत गरी १० प्रदेशमा ७ जनाको दरले ७० जना गरी करिव सबै गरी २४ हजार ६४ जना अर्थात करिव २५ हजार आसपासको निर्वाचन समितिका सदस्यहरु खटिनेछन् ।
० वडाको निर्वाचन समितिका ब्यक्ति पालिकाको निर्वाचन समितिमा छन् की छैन ?
त्यस्तो छैन, फरक मान्छेहरु नै छन् । एउटै मान्छेले भ्याउँदैन । कहीँ अपवादका रुपमा वडाकालाई पनि पालिकाको निर्वाचन समितिमा राखेको भए थाहा छैन । तर सबैमा अलग अलग ब्यक्तिहरु नै समितिमा रहेर काममा हुनेछन् ।
करिव २५ हजार निर्वाचन समितिका रुपमा निर्वाचन प्रक्रियामा लागेका मानिसहरु हुने भए । त्यस अतिरिक्त पार्टीको आयोजकले भोलिन्टयर्सको ब्यवस्थापन गर्ने भनिएको छ । भोलियन्टर्स पनि हुन्छन । करिव ३५ हजार मानिस परिचालन हुन्छन् भन्ने हाम्रो अनुमान छ ।
० सवैमा ४ गते ने वडा सम्मेलन हुन्छ भन्नेबारे आयोगको जानकारीमा केही छ ?
हाम्रो तयारी हेर्दा जुन ढंगले पार्टीले सदस्यता बनाएर ल्याएको छ । सदस्यताको आधारमा सवै स्थानमा हुन्छ भन्ने हो ।
कुनै ठाउँमा विविध कारणले रोकियो भने केन्द्रीय कमिटिले सर्कुलर मार्फत प्रदेश कमिटिलाई निर्णय गर्ने अधिकार दिएको छ ।
त्यो प्रदेश कमिटिसँग समन्वय गरेर रोकिएको ठाउँमा हुन्छ ।
० त्यसो भए, अहिलेसम्म कुनै कारणवश वडा सम्मेलन नहुने भन्ने जानकारी निर्वाचन समितिलाई आएको छैन ?
आएको छैन । कतिपय हिमाली जिल्लाहरुमा जाडोका कारण मानिसहरु नहुने भए के गर्ने ? भन्ने कुरा उठेको थियो । त्यसो हो भने वडाको ५१ प्रतिशत मानिस जम्मा हुन सक्दैनन् भने २५ प्रतिशत उपस्थित भएपनि हामीले मान्यता दिने भनेर थप ब्यवस्था गरेका छौं । तर त्यो हिमाली जिल्लाहरुको हकमा मात्रै ।
० एकातिर पार्टीको सदस्यता फेरि पनि सफ्टवेयरमा इन्ट्री गर्ने कुरा आएको छ, अर्काेतिर सम्मेलन शुरु गर्ने भनेको छ, यसले निर्वाचन आयोगलाई मतदाता नामावलीका लागि अप्ठ्यारो पर्ला नी । यो अलिक अन्तरविरोधी जस्तो देखिदैन र ?
पहिलो पटक पार्टीले सफट्वेयर सर्भरबाट पार्टी सदस्यको कम्युटराइज गर्ने गरी ब्यवस्थित नाम दर्ताको काम गरेकोले सबैको नाम आइसक्ने स्थिति भएन ।
त्यसकारण हार्डकपीमा सदस्यता भइसकेका ब्यक्ति छन्, हार्ड कपीमा छ, तर सर्भरमा आइसकेको छैन भने त्यसलाई पनि मान्यता दिने भनेर स्थायी समिति बैठकले निर्णय गरेको छ ।
त्यसलाई केन्द्रीय समितिले ग्रहण गरिसकेको छ । त्यसकारण सर्भरमा सदस्यता इन्ट्री गर्ने कुरा विस्तारै हुँदै गर्ला ।
सदस्यताको काम कात्तिक २५ बाट सकिएको छ । साधारण सदस्यता भइरहन पायो । तर संगठित सदस्यता बन्न पाइने समय अब भएन । २५ भित्र जो जति बने बने, उनीहरु नै मात्र हो । उनीहरु नै मतदाता भए ।
० कति छन् माओवादीको संगठित सदस्यता ? कति दिएको छ आयोगलाई पार्टीले संख्या ?
हामीसँग आएको छैन । केन्द्रीय कार्यालयको सर्भरमा ६ लाख, साढे ६ लाख सदस्यता इन्ट्री भएर आएको छ ।
इन्ट्री हुन वाँकी सदस्य छन, उनीहरुले हार्डकपीमा सदस्यता नवीकरण गरेका छन् भने उनीहरुले पनि भोट हाल्न पाउने भए । इन्ट्री हुँदै गर्छ ।
० आन्तरिक निर्वाचन विधिबाट संगठनात्मक नेतृत्व चयन गर्दै गर्दा अब माओवादी केन्द्रको संगठन कसरी जाने अपेक्षा गर्नुभएको छ ?
मओवादी केन्द्रभित्र विधि पद्धतिलाई अवलम्बन गर्ने खालको पार्टीको रुपमा यो रुपान्तरण हुँदैछ । निर्वाचन नै सबै क्रान्तिकारीपन हो भनेर निश्कर्ष निकाल्नु मिल्दैन । तर पनि यो नहुँदा जुन खालको एउटा संगठनात्मक भद्रगोलको अवस्था थियो ।
जहाँ जति ठूलो संगठन बने पनि हुने, जतिवेला विघटन गरेपनि हुने, विघटन भएको हो वा पूर्नगठन भएको हो थाहा पनि नहुने, त्यसको तथ्यांक केन्द्रीय कार्यालयमा नहुने, सम्बन्धित प्रदेश/पालिकामा नहुने जुन खालको स्थिति थियो । यसले त्यसको अन्त्य हुन्छ । यसले पार्टीलाई एउटा विधिसम्मत ढंगले अगाडि बढ्ने आधार तयार पार्छ ।
सँगसँगै पार्टीको कमिटि जनतासम्म जाने वातावरण यसले बनाउँछ । किनकी सेल टोलमा पनि पार्टी संरचना पुग्छ । सेल, टोलको कमिटि भनेको जनताको ग्राउन्डमा पुग्यो । एक टोल ३ जनसंगठन, एक सेल ३ जनाको कमिटि भन्ने खालको संगठनात्मक नाराले पनि पार्टीलाई जनताको तहसम्म जानका लागि सहयोग गर्छ ।
–अन्तिममा थप केही भन्नु छ ?
निर्वाचनको सम्पूर्ण तयारी भएको छ । सवै मतदाता पार्टीका सदस्यले निर्वाचनको यो महान कार्यलाई सहयोग पुराईदिनु हुनेछ भन्ने अपेक्षा राखेको छु ।
यसको आचारसंहिता बनेको छ । यसको पालना गरिदिने, ‘स्वच्छ र निश्पक्ष निर्वाचन, योग्य र सक्षम संगठन’ भन्ने नाराका साथ निर्वाचन आयोग अगाडि बढेको छ । त्यसमा सबै नेतागण, सदस्य कमरेडलाई सहयोग पुर्याउन आग्रह गर्दछु ।
०००
प्रतिक्रिया