शनिबार, वैशाख ५, २०८३

राप्रपा महाधिवेशन

अध्यक्षमा थापा र लिङदेनकाे उम्मेदवारी दर्ता, दुवैको जित्ने दाबी

महामन्त्रीमा रेखा थापादेखि धवलशम्शेरको उम्मेदवारी

मेरोन्यूज २०७८ मंसिर १७ गते १५:५०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् ।

शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित राष्ट्रियसभामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

दुवै नेताहरु आफ्नो समूहका कार्यकर्ताको साथ बाजागाजासहित मनोनयन दर्ता गर्न पुगेका थिए । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्याधिक बहुमतबाट विजय हासिल गर्ने दाबी गरे ।

उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टी अघि बढाउने प्रतिक्रिया दिए ।
शीर्ष नेताहरु सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले निर्वाचन जित्ने उनको दाबी छ ।

अध्यक्ष थापाले अब आफू नेतृत्वमा चुनिएपछि नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने बताए ।

यस्तै, मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए ।

अध्यक्षका उम्मेदवार लिङदेनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताए ।

आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरुलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाएका छन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी यो ३१ वर्षको इतिहासमा आज जुन अवस्थामा आइपुगेको छ, त्यसबाट पार्टीलाई अझै तल झर्न नदिनको लागि र पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्नको लागि हामीले एउटा अनिवार्य र बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका छौँ ।’– लिङदेनले भने ।

पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयावधि भित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लिलादेवीले उम्मेदवार दर्ता गराएका छन् भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित ८ जनाले उपाध्याक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमिल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया