बिहीबार, फागुन २१, २०८२

मुलुकको शोधनान्तर स्थिति झण्डै दुई खर्ब घाटामा

मेरोन्यूज २०७८ पुष २९ गते २०:५९

काठमाडौँ । मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब छ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार मुलुकको चालु खाता पहिलो पाँच महिनामा तीन खर्ब ६९ करोडले घाटामा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा थियो ।

सार्वजनिक तथ्यांकानुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी विनिमय सञ्चिति पनि घटेको छ । चालु आवको सुरुवातमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा १३ दशमलव दुई प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब तीन करोड रहेको छ ।

पाँच महिनाको व्यापार घाटा सात खर्ब ३५ अर्ब

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार मुलुकको पहिलो पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । मंसिर मसान्तसम्म वस्तु निर्यात १०५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब दुई अर्ब ९२ करोड पुगेको छ भने आयात ५९ दशमलव पाँच प्रतिशतले बृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड पुगेको छ ।

नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका समानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेललगायत छन् ।

देशको व्यापार घाटा बढिरहँदा बाहिरबाट आउने विप्रेषण आप्रवाह (रेमिट्यान्स)समेत घटेको देखिन्छ । चालु आवको पहिलो पाँच महिनामा छ दशमलव आठ प्रतिशतले रेमिट्यान्स घटेर कूल तीन खर्ब ८ अर्ब ५ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो ।

मूल्य वृद्धिदर लक्ष्यभन्दा बढी

सार्वजनिक विवरणानुसार चालु आवको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) सात दशमलव ११ प्रतिशत रहेको छ । राष्ट्रबैंकले चालु आवमा मूल्य वृद्धिदर छ दशमलव पाँच प्रतिशत भित्रै राख्ने लक्ष्य राखेता पनि समीक्षा अवधिमा वार्षिक लक्ष्यभन्दा शून्य दशमलव ६१ प्रतिशत विन्दुले मुद्रास्फीति बढेको देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ९३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६७ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव २५ प्रतिशत रहेको छ ।

त्यस्तै सार्वजनिक तथ्याङ्कानुसार समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा यो वर्षको मंसिर मसान्तमा बैंक तथा वित्तीय सस्थाहरुमा रहेको निक्षेप १५ दशमलव नौ प्रतिशतले बढेको छ ।
त्यस्तै सार्वजनिक विवराणानुसार आवको पहिलो पाँच महिनामा सङ्घीय सरकारको खर्च तीन खर्ब ८७ अर्ब तीन करोड र राजस्व परिचालन चार खर्ब १२ अर्ब ४० करोड छ ।

प्रतिक्रिया