आइतबार, पुष १३, २०८२

मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना भएको पुष्टि

मेरोन्यूज २०७८ माघ १५ गते १७:१३

कैलाली । गत माघ १२ गते धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर(पिएसओ)समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका थिए ।

मृत्युपछि पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण समेत गरिएकाले उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

‘उनी मृत्युपूर्व बिरामी थिए, साथै कोरोनाको लक्षण समेत देखापरेकाले परीक्षण गर्न लगाएका थियौैं। हिजो(शुक्रवार) उनको रिपोर्ट पोजेटिभ आयो’ उनले भने ।

मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि पठाइएको समेत प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

‘अब सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्नेछ । हामीले अनुसन्धान जारी राखेका छौं’ उनले भने । प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए । जोशीको दरबन्दी धनगढी गणमा थियो ।

प्रतिक्रिया