रङहरुको पर्व होली आज

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ खेली मनाउने परम्परा छ ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैबीच कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । होली पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । हिमाली र पहाडी क्षेत्रमा आज मनाइएपनि तराईमा भने भोलि मात्र मनाउने चलन छ ।









जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारीः गृहमन्त्री
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
लुम्बिनीलाई काठमाडाैंले दियो १५८ रनको लक्ष्य
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
एनपीएलः सोमबार दुई खेल हुने
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया