शनिबार, चैत २१, २०८२

मदन भण्डारी राजमार्ग : सुर्खेत पूर्वीखण्डमा हट्यो अन्योल

मेरोन्यूज २०७८ वैशाख ७ गते १८:२९

सुर्खेत । पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरु भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आयोजनाको निरन्तर निगरानी गरिरहनुभएका सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्का अन्तर्गत काम शुरु हुने बताए । विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो ।

“निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदैछ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ”, उनले भने, “ओझेलमा परेको जिल्लाको पुरानो सडकखण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पूर्वी क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याउनेछ ।”

विसं २०३६ मा ट्रयाक खुलेको भेडाबारी सडक त्यसयता स्तरोन्नति हुन सकेको थिएन । सडकको नौ मिटर चौडाइसम्म कालोपत्रे गरिनेछ । हाल उक्त सडकको चौडाइ करिब चार मिटर छ । स्तरोन्नति गर्दा करिब ५२ प्रतिशत सडक फराकिलो बताइएको छ । सुर्खेतमा मदन भण्डारी राजमार्ग १२९ किमी पर्छ ।

तीमध्ये वीरेन्द्रनगर पूर्वमा ३५ तथा पश्चिम क्षेत्रमा ९४ किमी पर्छ । पश्चिममा बड्डीचौर–बेनीघाट सडकखण्डलाई मदन भण्डारी राजमार्गमा कायम गरिएको छ । यो पनि ट्रयाक खोलिएको पुरानो सडकखण्डमा पर्दछ । पूर्वी क्षेत्रको बोलपत्र प्रक्रिया शुरु भइसक्दा पश्चिम खण्डमा भने अन्योलता कायमै छ । केही समय स्थानीयवासीको अवरोधका कारण डिपिआर तथा इआइएको काम प्रभावित हुन पुगेको थियो । रासस

प्रतिक्रिया