डोल्पाको सालदाङमा चामल अभाव

जाजरकोट । शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन ।
ठेक्का सम्झौता भएको छ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थानीयवासीले बताएका छन् ।
कम्पनीले गत वर्ष साल्दाङका लागि एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६०० क्विन्टल खाद्यान्न मात्र पुगेको छ ।
उक्त सेवाले छार्काताङसोङ, डोल्पोबुद्ध र शे–गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो । दुई स्थानीय तहको चामल पुगेपनि साल्दाङमा भने अहिलेसम्म पुगेको छैन ।
गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा ७०० क्विन्टल र डोल्पोबुद्धको धोमा ८७५ क्विन्टल चामल पुगेर वितरण भइसकेको लिमिटेडले जनाएको छ ।
चिसो र हिमपातका कारण कम्पनीको चामल पुर्याउन केही समय ढिला भएको लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डेले बताए । “चामल दुनै आएर थन्किएको छ, ढुवानी सेवालाई छिटो लिन आग्रह गरिएको छ”, उनले भने । केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ ।
माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयवासीले सस्तो मूल्यमा चामल पाएका छन् । स्थानीयवासीलाई यसअघि प्रतिक्विन्टल २० हजार रुपैयाँ तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो ।
कम्पनीले प्रतिक्विन्टल जिरा मसिनो चामल सात हजार र सोना चामल पाँच हजार ६०० रुपैयाँमा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए ।
कोटाअनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसितुन्डुप गुरुङले बताए । कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि माथिल्लोे डोल्पामा दुई वर्षदेखि चामल पुग्न सकेको थिएन । विगतका वर्षमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो । यो वर्ष सुर्खेत–दुनै हुँदै चामल ढुवानी गरिएको थियो ।
खाद्यान्न उत्पादन कम हुने उपल्लो डोल्पा बाहिरबाट ल्याइएको खाद्यान्नमा निर्भर हुनुपर्दछ । केही हुने खानेले दुनैमा आएर खच्चड, घोडा र चौंरीमा खाद्यान्न लैजाने गरे पनि अधिकांश निम्न वर्गका स्थानीयवासीहरु समस्यामा पर्ने गरेका छन् । सामानको मूल्यभन्दा ढुवानी खर्च महंगो हुने गर्छ ।
चिसो मौसममा तल्लो क्षेत्र झरेका सबै सर्वसाधारण अहिले उपल्लो डोल्पामा जाँदा खाद्यान्नको माग व्यापक बढेको हो । उपल्लो डोल्पामा खेतीपातीको मौसम भएकाले यहाँका सर्वसाधारण खाद्यान्न आपूर्तिका लागि गुहार लगाइरहेका छन् ।
खडेरीका कारण हिउँदेबाली उत्पादन नभएको यहाँ आयातित अन्नमा यो पटक धेरै भर पर्नुपरेको वडा नं ४ का तसी गुरुङले बताए ।
सिंचाइ सुविधा नभएको उपल्लो डोल्पामा हिमपात भएमा मात्र खेतीपाती गर्न सहज हुने गुरुङको भनाइ छ । आलु, उवा र फापर उपल्लो डोल्पामा उत्पादन हुने गर्दछ । उपल्लो डोल्पामा खाना पकाउने दाउराको समेत अभाव छ ।
कोटा बढाउन माग
अहिले निर्धारण गरिएको खाद्यान्नको कोटाभन्दा दोब्बर कोटा बढाउन स्थानीयवासीले माग गरेका छन् । विकटता र जोखिम देखाएर तोकिएको ठाउँमा सामग्री नपुर्याई बाटोमै छाडी भाडा असुल्ने गरेको उपल्लो भोट क्षेत्रका सर्वसाधारणको गुनासो छ ।
तीन वर्षअघि आयोडिनयुक्त नुन तेन्जेमा छाडेर भाडा असुलेको नमिठो पीडा उपल्लो डोल्पालीसँग छ । पहुँचका भरमा ठेक्का लगाउने तर तोकिएको काम नगरी भुक्तानी लिने गरेको स्थानीयवासीको आरोप छ । खाद्यान्न उत्पादन नहुने ठाउँमा सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ ।
खाद्यान्न विक्री केन्द्र नभई डिपो नै राखेर सङ्ख्या बढाउनुपर्ने उनीहरुले बताएका छन् । अहिले कर्मचारीको रोहवरमा सीमित मात्रामा चामल लिएर बिक्री गरी फर्कने गरिएको छ तर कार्यालय नै राखेर चामल आपूर्ति तथा वितरण गर्नुपर्ने उपल्लो डोल्पालीको माग छ । (रासस)
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया