मंगलबार, वैशाख ९, २०८२

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा भारी कटौती

नेपाल एयरलाइन्सले कार्गो चार्टर भाडा घटायो

मेरोन्यूज २०७८ जेठ २४ गते १८:१७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको बेला नेपाल आयल निगमले भने अन्तराष्ट्रिय हवाई इन्धन (एटिएफ) को मूल्यमा भारी कटौती गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हवाई इन्धनको मूल्य एकैपटक २० प्रतिशतले घटाएको हो ।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू भइसकेको छ । मूल्य घटाउनुअघि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९३ अमेरिकी डलर रहेको थियो । प्रतिकिलोलिटर १७८ अमेरिकी डलर घटाएर निगमले हवाई इन्धनको मूल्य ७१५ अमेरिकी डलर तोकेको छ ।

एलपी ग्यासमा चर्को घाटा रहेको भन्दै निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनमा उच्च मुनाफा राख्दै आएको थियो । नेपालमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य विदेशमा भन्दा बढी रहेका कारण सेवा सञ्चालनमा समस्या आएको गुनासो बढेपछि निगम संचालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

“एलपी ग्यासमा भएको घाटा पूर्ति गर्न अन्तर्राष्ट्रिय हवाई इन्धनको केही भूमिका रहोस् भनेर एटिएफमा केही मुनाफा राखेका थियौँ”, निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “अहिले अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशत मात्र मनुाफा राखेर बिक्री गर्ने निर्णय गरिएको हो ।”

अहिले पनि निगमलाई एलपी ग्यासमा १५ दिनमा करिब रु ५० करोड घाटा छ । निगमलाई पेट्रोलमा प्रतिलिटर रु ५.३२, डिजेलमा प्रतिलिटर रु ३.१७ र एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५८.४६ घाटा रहेको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य चर्को भएका कारण नेपालमा उडान भर्ने एयरलाइन्सले मूल्य घटाउन सरकारलाई आग्रह गर्दै आएका थिए ।

विशेषगरी नेपाल एयरलायन्स र हिमालय एयरलाइन्सले अन्य मुलुकमा भन्दा नेपालमा हवाई इन्धनको मूल्य उच्च रहेका कारण सेवा सञ्चालन गर्न नै कठिनाइ आएको र अन्य एयरलाइन्सको भाडादरसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था आएको गुनासो गर्दै आएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र आयल निगम बीच भएको छलफलबाट अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन मूल्य घटाउने निष्कर्षमा पुगिएको निगमले जनाएको छ ।

प्रवक्ता उपाध्यायले भने, “सोही निष्कर्षका आधारमा निगम सञ्चालक समितिले कोरोनाको समयमा अन्तर्राष्ट्रिय हवाई इन्धनमा अधिकतम् १५ प्रतिशत मुनाफा राखेर मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।”

पछिल्लो समय नियमित अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेसँगै हवाई इन्धनको मागमा ७० प्रतिशतले गिरावट आएका थियो । कोरोना पूर्वको अवस्थामा नेपालमा करिब दैनिक ७०० किलोलिटर हवाई इन्धन बिक्री हुने गरेको थियो । केही दिन १०० किलोलिटर भन्दा कम इन्धन बिक्री भएको निगमले जनाएको छ ।

“अहिले दैनिक करिब ३०० किलोलिटर हवाई इन्धन बिक्री भइरहेको छ”, उनले भने, “हवाई इन्धनको मूल्य पनि केही घटेको र उडान संख्या पनि बढ्दै जाँदा बिक्रीको परिमाण बढ्ने अपेक्षा गरिएको छ ।” पछिल्ला सातादेखि नेपालमा सीमित संख्यामा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । टर्की, भारत, बंगलादेश, भूटान, कतारलगातय मुलुकबाट आउने करिब एक दर्जन एयरलाइन्सले नेपालमा हवाई इन्धन भर्ने गरेको छन् ।

त्यसमध्ये सबैभन्दा बढी इस्तानबुलबाट आउने टर्किस एयरले इन्धन भर्ने गरेको निगमले जनाएको छ । उक्त एयरलाइन्सले नेपालबाट प्रत्येक उडानमा करिब ५० हजार लिटर हवाई इन्धन भर्ने गरेको थियो । अन्य एयरलाइन्सले आवश्यकताअनुसार मात्र इन्धन भर्ने गरेका छन् । नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नेपालका साथै विदेशमा पनि इन्धन भर्ने गरेका छन् ।

नेपालमा भन्दा विदेशमा इन्धनको मूल्य सस्तो भएकाले कतिपय अवस्थामा विदेशमै इन्धन भर्नुपर्ने बाध्यता रहेको सेवा प्रदायकको गुनासो छ । कार्गो चार्टर भाडा १५ प्रतिशतले घट्यो मूल्य घटेसँगै नेपाल वायु सेवा निगमले आजदेखि कार्गो चार्टर भाडा घटाएको छ । नेपाल एयरलाइन्सले वाइड बडीको १३ प्रतिशत र न्यारो बडीको कार्गो चार्टर भाडा १५ प्रतिशतले कटौती गरेको हो ।

जसअनुसार वाइड बडी विमानको भाडा यसअघि कायम रहेको प्रतिघण्टा १५ हजार ५२० डलरबाट २ हजार ६० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा १३ हजार ४६० डलर तोकिएको छ । न्यारो बडीको भाडा प्रतिघण्टा ७ हजार ७१० डलरबाट १ हजार १३० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा ६ हजार ५८० डलर कायम गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

उडान नियमित भएपछि अन्य गन्तव्यको भाडा पनि समायोजन गरिने निगमले जनाएको छ । हवाई भाडा करिब १५ प्रतिशतको हाराहारीमा घट्नसक्ने अनुमान गरिएको छ । हवाई भाडा घटेसँगै विदेश जाने नेपालीलाई राहत मिल्ने छ ।

प्रतिक्रिया