मंगलबार, वैशाख ९, २०८२

राष्ट्र बैंकको रिपोर्ट

मूल्यवृद्धि ३.६५ प्रतिशत, निर्यात ३२.२ प्रतिशत

मेरोन्यूज २०७८ जेठ ३१ गते १८:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ३.६५ प्रतिशत रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आज सोमबार जारी गरेको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्मको तत्थ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यू तथा तेल, फलफूल, सूर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २८.२ प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको उल्लेख छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १ प्रतिशत मुद्रास्फीति रहेको पनि बैंकको भनाइ छ ।

यस्तै २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७८ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.५ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि गतवर्षको सोही महिनाको तुलनामा क्रमशः ७.८ प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ ।

वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक १.८९ प्रतिशतले बढेको देखिएको छ भने अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ७.४९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकांक २.४३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा विदेशी चालु खाता अर्थात् शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्टमा उल्लेख छ ।

समीक्षा अवधिमा चालु खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ ।

वैदेशिक व्यापार
यसैगरी आर्थिक वर्ष २०७७/७८ को १० महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ७८ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को १० महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपूर्जा, दूरसंचारका उपकरण तथा पार्टपूर्जालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।

आयात र निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय लगायत सबैमा वृद्धि भएको छ ।

विदेशी विनिमय सञ्चिती घट्यो
विदेशी विनिमय सञ्चितीमा कमी आएको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर वैशाख मसान्तसम्म १३ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितीको मासिक प्रतिवेदनले विदेशी विनिमय सञ्चिति घटेको देखाएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति बैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैँकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति बैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ७१ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया