कांग्रेसको १४ औं महाधिवेशन
नेतृत्वमा महिला : आँट नभएको कि, अवसर नदिएको ?
कांग्रेसका अधिकाशं महिला नेतृको दावेदारी पार्टी सहमहामन्त्रीसम्म, त्यो पनि कोटामा परेमात्रै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँं महाधिवेशन नजिकिएसँगै नेतृत्वको चर्चा सुरु भएको छ । मूल नेतृत्वमा पुरूष नेताहरूले जसरी नेतृत्वको दावी गदैं आफनो चुनावी अभियान शुरु गरेका छन्, त्यसरी महिला दावेदारीको चर्चा सुनिएको छैन । चर्चा पनि महिला नेतृहरुको त्यक्ति धेरै कांग्रेसवृतमै पनि छैन । सभापतिमा सुजता कोइरालाले पनि उम्मेदवारी दिने चर्चा त छ तर कार्यकारी मानिने महामन्त्रीमा भने कुनै पनि महिला नेतृको नाम चर्चामा सुनिएको छैन ।
कांग्रेसको महाधिवेशन आउन अव ६० दिन मात्रै बाँकी छ । अर्थात १६ भदौं देखि काग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुँदैछ ।
सभापतिको उम्मेदवारी दिने चर्चा गरिरहेकी सुजताले महिलालाई कांग्रेसको नेतृत्वमा पु¥याउन निकट नेताहरुसँग छलफल र वहस गरेकी छिन् । तर उनकै उम्मेदवारी सभापतिमा नहुने काग्रेस नेताहरु चर्चा गर्छन् । यद्यपी सुजाताले भने आफु सभापतिका लागि सक्षम उम्मेदवार भएकोले उम्मेदवारीका बारेमा नेताहरुसँग परामर्श गरिरहेको बताउँछिन् ।
“म सभापतिको सक्षम उम्मेदवार हुँ” सुजाताले मेरोन्यूजसँगको कुराकानीका क्रममा भनिन्, – ‘साथीहरुसँग उम्मेदवारीका विषयमा आन्तरिक छलफलमा छु ।’
अहिले वरिष्ठ नेता र पूर्वमहामन्त्रीसँग आफु छलफलकै क्रममा रहेको उनको भनाई छ । तर, कोइराला परिवारबाटै हाल महामन्त्री रहेका डा.शशांक कोइराला र अर्का नेता डा.शेखर कोइरालाले आ आफनै ढंगले सभापतिको दावी गदै लविङ गरिरहेका छन् । कोइराला परिवारमै शशांक र शेखरले सभापतिमा दावी प्रस्तुत गरिरहेका कारण पनि सुजाताको दाबेदारीलाई कांग्रेसभित्र गम्भिरताका साथ नलिएको देखिन्छ । महामन्त्री दाबी गर्ने अवस्थामा अरू नेतृहरू देखिएका छैनन् । तर, उनीहरूलाई यसबारे प्रश्न गर्दा आफुहरूसँग दाबी गर्ने सामथ्र्य रहेको र भर्खरै महाधिवेशनको कार्यतालिका आएकाले छलफलमै रहेको बताउँछन् ।
नेतृ पुष्पा भुसालले अहिले महाधिवेशन एकताको आधारमा सहमतिको महाधिवेशन भएमा पार्टी, संघ संस्थाका लागि सबैभन्दा राम्रो हुने बताउँछिन् । उनले महिलाबीच एकता हुन सके सह–महामन्त्रीको महिला कोटामै सीमित हुन नपर्ने बताइन् । उनका अनुसार यदि सहमति भएन भने पनि महिलाका लागि छुट्याइएको कोटाभन्दा बाहिर पनि कसरी प्रतिस्पर्धा गर्ने भनेर आफु छलफलकै क्रममा रहेको बताइन् । उनले भनिन्, “विधानमा एक जना महिला सह महामन्त्री बाहेक अन्य स्थानमा महिलाको सम्बोधन गरेको छैन् । तर त्यो एक स्थानमा मात्र नभएर अन्य पदाधिकारीको पदमा महिलालाई लैजान पनि साथीहरुका वीचमा समुहगत रुपमा निर्णय गर्नुपछ ।”
उनका अनुसार नितिगत रुपमा निर्णय गर्ने स्थानमा पनि महिलाको उपस्थित हुनुपर्छ । कांग्रेसमा लामो समयदेखि लागेका महिलाहरु नितिगत निर्णय र हस्तक्षेपकारी भूमिकामा महिलाले स्थान बनाउनु पर्ने वताउँछन् । ‘निर्णय गर्ने भनेको पदाधिकारी नै हो, सदस्य भनेको त सहभागिता मात्र हो । पदाधिकारीहरुमा बढी भन्दा बढी महिलाहरु पुर्याउने हाम्रो लक्ष्य पनि हो । मेरो घोषणा मात्र भन्दा पनि महिला नेतृत्वलाई अगाडी बढाउनुपर्ने भन्ने हो,’ भुषालले बताइन् । उनले आफुले पदाधिकारीमा दाबी गर्ने बताईन् ।
पहिलो पटक मन्त्रीमण्डलमा महिलालाई समावेश गर्ने पार्टी नेपाली कांग्रेस नै हो । द्वारिकादेवी चन्द ठकुरानी काग्रेसको नेतृत्वमा बनेको सरकारमा काग्रेसकै महिलाको तर्फबाट पहिलोपटक स्वास्थ्य सहायक मन्त्री बनेकी थिइन् । दिवंगत नेतृ शैलजा आचार्य सरकारमा उपप्रधानमन्त्री तथा पार्टीमा उपसभापति सम्म बनेको इतिहास काग्रेसमा छ । त्यस्तै मंगलादेवी सिंह पार्टीको नेतृत्व तहमा थिइन् । उनको २०५३ सालमा निधन भयो । सुजाता कोइरालाले पनि उपप्रधानमन्त्री सम्म भएर सरकारमा जिम्मेवारी सम्हालेकी छिन् । उनै सुजता अहिले पार्टीको सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेकी छिन् । तर सुजाताले गरेको दावेदारी अन्तिमसम्म टिकाउनेमा काग्रेस नेताहरुलाई नै विश्वास छैन ।
१२ औं महाधिवेशनबाट कोषध्यक्ष समेत भइसकेकी र प्रतिनिधीसभाका पूर्व उपसभामुखको जिम्मेवारी सम्हालेकी चित्रलेखा यादव अहिले काग्रेसभित्रै हराउन पुगेकी छिन् । ०६२/०६३ को आन्दोलनका क्रममा चित्रलेखाले सडक सदन चलाएर चर्चा वटुलेकी थिइन् । १३ औं महाधिवेशनमा सीतादेवी यादव कोषाध्यक्ष चयन भइन् ।
कोषाध्यक्ष बने पनि सीतादेवीको भूमिका पार्टीमा अरू पदाधिकारीको जस्तो प्रभावकारी कहिल्यै देखिएन् । उनको भूमिका पार्टीका अन्य पदाधिकारीले हस्ताक्षर गर्न अह्राए, सिकाएकोमा वाहेक अन्यमा खासै देखिएको छैन । कोषाध्यक्ष महिलालाई दिँदा कुनै हानि पुग्दैन भन्ठानेरै संस्थापन र इतरपक्ष दुवै खेमाका नेताले १३ औं महाधिवेशनमा महिलाबीचमै प्रतिस्पर्धा गराएका थिए । त्यसबाहेक पदाधिकारीमा कहिल्यै महिलाले स्थान पाएका छैनन ।
नेपालको संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितताको ब्यवस्था गरेको छ । संसदमा प्रतिनिधीसभामा सभामुख र उपसभामुखमध्ये एक महिलाको ब्यवस्था गरेको छ । स्थानिय तहमा गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष मध्ये एक महिला, नगरपालिकाको मेयर या उपमेयरमध्ये एक् महिला अनिवार्य गराएको छ । तर, त्यो अनुरूप नेपाली कांग्रेसको विधानमा पार्टी नेतृत्वमा महिलालाई नेतृत्वमा पु¥याउन आरक्षणको व्यवस्था छैन ।
केन्द्रिय सदस्य किरण यादवले भनिन्,“आफ्नो क्षमता प्रर्दशन पुरुषले मात्र हैन् महिलाले अवसर पाएमा गर्न सक्छन्, त्यसतर्फअ व महिलाले पनि सोच्नुपर्छ । ” कांग्रेसमा नेतृत्व क्षमतामा पुग्न सक्ने महिलाहरु छन् समय आएपछि आफ्नो आफ्नो स्थानबाट दाबी गर्ने उनले बताइन् । यादवले सह महामन्त्रीमा प्रतिस्पर्धा गर्ने चर्चा कांग्रेसमा चलेको छ । मधेसी कोटामा उनी सह महामन्त्री आउने चर्चा सुरु भएको हो ।
कांग्रेसमा गुटमा नलाग्दा आफ्नो राजनीतिक भविष्य सुरक्षित नठान्ने रोग पुरुषमा जस्तै महिलामा पनि उति नै छ । चुनाव जितेर आउनका लागि संस्थापन वा इतरपक्षको ‘प्यानल’ मा पर्नैपर्ने बाध्यता छ । तलदेखि प्रतिनिधिहरू गुटगत रूपमा चयन भएर आउने भएकाले त्यसको प्रभाव महाधिवेशनमा पर्ने गर्छ । निर्णायक तहमा महिला नभएकाले नेतृत्व तहमा उकाल्ने वातवरण पनि नभएको नेतृ भुसाल बताउँछिन् ।
केन्द्रीय सदस्य डा.डिला संग्रौला अहिले सभापतिको मात्र दाबी प्रस्तुती भईरहेकोले अन्यको दाबी गर्ने समय नआएको हुँदा आफुहरु चुप बसेको बताउँछिन् । उनले भनिन्,“अहिले चर्चा त सभापति हो तर अन्य पदमा दाबी सुरु भएको छैन् ,अन्य पदका लागि दाबी गर्न थालेपछि हामी पनि दाबी गर्न थाल्छौँ ।”
उनका अनुसार सभापति उठ्ने महिलाहरुले आफुलाई प्रस्तुत गर्नुपर्ने बताउँछिन् । ‘सभापतिमा कोही महिला नेतृले उठने इन्छा राख्नुभएको छ भने दावी गरेर अव आउनुपरयो । म त सभापतिमा उठ्ने हैन् पदाधिकारीमा दाबी हुन्छ’ उनले भनिन् “महिलाहरुले आट गरेन् भन्नु गलत हो ।”
उनका अनुसार अहिले सभापतिका दावेदारहरुको भेटघाट र लविङ बाक्लो भईरहेको छ । अन्य पदाधिकारीका लागि कोही पनि नेताले मुख फोरिसकेका छैनन ।
‘जब अरु पदाधिकारीका लागि बोल्न थाल्छन्, हामी पनि बोल्न थाल्छौँ’ उनले आफु सह महामन्त्रीमा सक्षम रहेको बताइन् । महिलाहरूबीचमै एकता छैन । अर्कोतिर नेतृत्व तहमा बस्ने पुरुष नेताहरूको मानसिकता उदार नभएको कांग्रेस नेतृहरु बताउँछन् । संवैधानिक ‘क्लस्टर’ अनुसार समावेशी कोटाका आठ सहमहामन्त्री हुने व्यवस्था विधानमा छ । सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री सहित १३ पदाधिकारी पदमा निर्वाचन हुने विद्यानमा व्यवस्था छ ।
१४ औं महाधिवेशनदेखि कांग्रेसको केन्द्रीय कार्यसमितिको संख्या बढेर १ सय ६८ सदस्यीय हुने भएको छ । नयाँ विधानले आठवटै संरचनामा एक तिहाइ महिला सहभागिता रहनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण केन्द्रमा पनि न्यूनतम ५६ जना महिला सदस्यले प्रवेश पाउने छन् । त्यसका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको नौ सदस्य पदमा महिलाबीच मात्रै प्रतिस्पर्धा हुने गरी खुला आरक्षणको व्यवस्था गरेको छ ।
संख्यामा महिला नेतृहरुको केन्द्रीय समितिमा प्रतिनिधित्व ३३ प्रतिशत हुने देखिएपनि नेतृत्व तहमै भने प्रतिनिधित्व गर्ने अवस्थामा अझै महिला नेतृहरुले हिम्मत देखाएका छैनन । नेतृत्व क्षमता प्रस्तुत गर्न कांग्रेस नेतृहरु अझै चुकेका छन् । जति सम्भावना वोकेका महिला नेतृ काग्रेसमा छन्, सुजातालाई छोडेर भन्ने हो भने अहिले सवैजसोको सहमहामन्त्री सम्ममा मात्र दावेदारी प्रस्तुत गर्ने तयारी देखिन्छ ।
त्यो पनि कोटामा टिकट पाए मात्रै । कांग्रेसमा महिला नेतृहरू मूल नेतृत्व दाबी गर्ने भन्दा आफ्ना गुटको नेताको आदेश पालकका रूपमा रहेरै आफुलाई सुरक्षित राख्ने सोचमा रहँदा कांग्रेसमा महिला नेतृत्वमा पुग्न नसकेका कांग्रेसका जानकारहरू बताउँछन् । तर, महाधिवेशनको समय आउन बाँकी नै रहेकाले त्यतिबेला सम्म कोही महिला नेतृले महामन्त्री दाबेदारी गर्ने सम्भावना भने अझै बाँकी नै छ ।
।
यो पनि पढ्नु होस्
क्रियाशील सदस्यतामा महिला सहभागिता : कति सन्तुष्ट छन् कांग्रेस नेत्री ?

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य
Death toll rises to 52 in S. Philippines ferry sinking incident
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया