गाडी चले पनि खच्चडकै सहारा

जाजरकोट । वर्षायाममा सडकहरू अवरुद्ध भएपछि खच्चडको सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ । हिउँदको समयमा गाडीमा ढुवानी हुने ठाउँमा अहिले खच्चडको प्रयोग गरिँदै आएको छ । खच्चडमा ढुवानी गरिँदा हिउँद समयभन्दा वर्षामा दैनिक उपभोग्य सामग्रीको मूल्य बढिरहेको व्यापारीहरू बताउँछन् ।
जुनीचाँदे गाउँपालिकाका विभिन्न ठाउँमा हरेक सामग्रीको मूल्यमा २५ प्रतिशतभन्दा बढी रहेको स्थानीयवासी महेन्द्रबहादुर शाहीले बताए । उनले भने, “हाम्रोमा मात्र हो कि अन्यत्र पनि यस्तै हो ? हरेक सामग्रीमा २५ प्रतिशत मूल्य वृद्धि भएको छ । खोजेको वस्तु पाउनसमेत मुस्किल भएको छ ।”
कच्ची कटान गरेको सडकहरू ठाउँठाउँमा भत्किनाका साथै खहरे खोलामा पानीको मात्रा बढेका कारण यातायातका साधनहरू सञ्चालन हुन नसकेका हुन् । भौतिक निर्माणका कामसमेत दैनिक निर्माणका सामग्री नपाउँदा अवरुद्ध हुँदै आएको छ ।
जाजरकोट–जुम्ला सडक खण्डभित्रको खलङ्गा–पाँचकाटिया जोड्ने सडक भेरी नगरपालिका–२ गारा राङसीमा पटकपटक भत्किएपछि सञ्चालन गर्न मुस्किल भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।
उनले भने, “कति पटक सडक मर्मत गर्नु ? हामीसँग एउटा मात्र डोजर छ, कहाँ लिएर मर्मत गर्नु हैरान भइसक्यो ।” खलङ्गा–पाँचकाटीया सडक कसरी निर्माण गरेको हो, आकाशबाट पानी झर्न बित्तिकै अवरुद्ध हुन्छ । सानासाना र आफ्नो छेउछाउको सडक स्थानीय तहले मर्मत गरे पनि हुने हो भन्दै प्रजिअ देवकोटाले भने, “अब छिट्टै बैठक राखेर केही निर्णय गरेर अगाडि बढ्नुपर्ने जरुरी भइसकेको छ ।”
त्यस्तै नलगाड नगरपालिका–जुम्ला जोड्ने सडकको सक्लामा पहिरो आउँदा सडक अवरुद्ध भएको हप्ता दिन बिते पनि मर्मत नहुँदा यातायातका साधनहरू सञ्चालनमा मुस्किल भएको छ । अहिले बारेकोटमा खच्चडमार्फत दैनिक ढुवानीका काम हुँदै आएका छन् । नलगाड नदीको खारास्थित पुल निर्माणमा ढिलाइ गरिँदा अस्थायी रुपमा निर्माण गरेको काठेपुल नदीमा पानीको बहाव बढेसँगै सो पुल बगेपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।
यातायात अवरुद्ध भएसँगै झुलुङ्गे पुलमा खच्चडहरू तारेर बारेकोटमा दैनिक उपभोग्य सामग्री ढुवानी कार्य भइरहेको स्थानीय व्यापारी नीमबहादुर सिंहले बताउनुभयो । मुख्य सडकबाहेक अन्य पालिका जोड्ने अधिकांश सडकहरू अवरुद्ध भएसँगै खच्चडको भरमा ढुवानी कार्य शुरु भएको छ ।
खच्चडको भरमा ढुवानी हुँदा मूल्य अस्वाभाविक रुपमा बढेको स्थानीयवासीको गुनासो छ । डोजरमार्फत खनिएका सडकहरूमा माटो कम्जोर हुँदा जहाँको त्यही पहिरो आएको स्थानीयवासीको भनाइ छ । त्यस्तै सडक जथाभावी खनिँदा कुशे गाउँपालिका–६ जरगाउँमा १५ जना परिवारको बस्ने घरहरू जोखिममा हुँदा घर छोडेर खुल्ला आकाशमा बस्न बाध्य भएको पीडित भीमबहादुर परियारले बताए ।
घरदेखि तल सडक निर्माण गरिँदा घरहरू निर्माण गरेको जमीन भासिएपछि गाउँलेले घर छोडेको उनले बताए । भेरी नगरपालिका–२ रिसाङस्थित गाउँमा प्राविधिकले दिएको अनुमानभन्दा फरक ठाउँबाट सडक निर्माण गरिँदा १३ घर विस्थापित भएका छन् भने सात घर भत्किएका छन् ।
त्यस ठाउँमा सडक अवरुद्ध हुँदा खच्चडकै सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको छ । कुशे गाउँपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र पाँचकाटीया बजारमा सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामगी पाउन मुस्किल भएको स्थानीय व्यापारी युवराज ओलीले बताए ।
उनले भने, “सामग्री खच्चडमै लिन समस्य छ, जाजरकोट सदरमुकाममा समेत खोजेको सामग्री पाइँदैन । गाउँमा कसरी पुर्याउने ? यातायात ठप्प छ, खच्चडमा अत्यधिक चर्को भाडा छ ।” नयाँ अन्न पाकी नसकेको र पुरानो सकिएको अवस्थामा सर्वसाधारण खाद्यान्नको भर स्थानीय बजार नै हुन् ।
स्थानीय बजारमा समेत दैनिक उपभोग्य सामग्री ढुवानी कार्य कठिन भएपछि गाउँमा खाद्यान्न अभाव देखिन थालेको छ । वर्षायाम शुरु हुनुपूर्व नै सबै सामग्रीको जोहो गर्न प्रशासनले आग्रह गरे पनि त्यो कार्यमा कसैले ध्यान नदिँदा अहिले समस्या देखापरेको छ । स्थानीय सरकारका प्रतिनिधिहरूले सडक धेरै ठाउँमा भत्किएको छ, बजेटको जोहो गरेर मर्मत गर्ने वचन दिएका छन् ।
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया