कांग्रेसलाई लाग्यो महाधिवेशन
भोलिबाट वडा अधिवेशन, यसरी चुनिदैछन् प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको औपचारिक प्रक्रिया भोलि (शुक्रवार)वाट शुरु हुँदैछ । वडा तहवाटै निर्वाचित भएर आउने महासमिति सदस्यले पार्टीको केन्द्रीय महाधिवेशन प्रक्रियामा भाग लिन पाउने भएकाले कांग्रेसभित्र वडा तहदेखिकै अधिवेशनलाई महत्वका साथ हेरिन्छ ।
जसकाकारण पनि पार्टीको नेतृत्वमा पुग्ने आकाक्षा राख्नेहरुले वडा अधिवेशनदेखि नै निक्कै चासोका साथ हेर्ने गर्दछन् । वडा अधिवेशन शुक्रवारबाट शुरु हुदैछ । भदौँ १८ गते देखि २७ गतेसम्म जुनसुकै मितिमा अधिवेशन गर्न सक्ने गरी केन्द्रले सर्कुलर गरेको छ ।
काग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्मका लागि तोकिएको छ ।
यसअघि पार्टीको १४ औँ महाधिवेशनको कार्य तालिका क्रियाशील सदस्यताको विवादकै कारण तीन पटकसम्म प्रभावित भईसकेको छ । कांग्रेसले क्रियाशिल सदस्यताकै विषयमा यति लामो समय खर्चिएको यो पहिलो पटक होइन ।
शुक्रवारबाट हुने महाधिवेशनको औपचारिक प्रक्रियाको थालनीको चौँथो कार्यतालिका अनुसार अधिवेशन हुदैछ । कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७६ साल माघ १३ गते बसेको बैठकले पहिलो पटक १४ औं महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको थियो ।
कांग्रेसले ०७७ फागुन ६ मा पहिलो पटक महाधिवेशनको मिति तोक्यो । जुन फागुन ७ देखि १० गतेसम्म गर्ने गरी तोकिएको थियो । त्यसबेला क्रियाशील सदस्यताको टुंगो नलागेको र सदस्यता फारम सबैतिर वितरण भइनसकेको,न त सदस्यता छानबिनका लागि समिति नै बनेको थियो । अन्ततः त्यहीकारण ६ महिनाका लागि महाधिवेशन स¥यो ।
त्यसको ६ महिनापछि दोस्रो पटक मिति तोकियो ०७८ भदौ ७–१० का लागि । तर, यो पटक पनि छानबिन समितिले सदस्यताको कामले गति लिएन । असार ४ को केन्द्रीय कार्यसमिति बैठकले पुनः तेस्रो पटक महाधिवेशनको मिति सारेर भदौँ १६–१९ तोकिएको थियो ।
५ असारबाटै रमेश लेखक नेतृत्वको छानबिन समितिले क्रियाशील सदस्यता छानबिनको कामलाई गति दियो । तर समितिले साउन १२ मा केन्द्रीय कार्यसमितिलाई अपुरो प्रतिवेदन बुझायो । विवाद रहेका जिल्ला बारा, रौतहट ,धनुषा र सप्तरीका जिल्ला सभापति र कार्यकर्ताहरुले क्रियाशील सदस्यता धाँधली भएको आफूलाई मान्य नहुने भन्दै धर्ना दिए ।
त्यसपछि कांग्रेसले आन्दोलित पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न संस्थापन पक्षका प्रकाशशरण महत र इतरपक्षका रामशरण महतलाई पार्टीले जिम्मा दियो । उनीहरु सहोदर दाजुभाई थिए ।
उता, क्रियाशील सदस्यता को विवाद समाधान गर्न दुई सातासम्म पनि निरन्तर प्रयास गर्दा पनि असफल भएपछि ३० साउनको केन्द्रीय कार्यसमिति बैठकले कृष्ण प्रसाद सिटौला, मिनेन्द्र रिजाल र लेखक सम्मिलित कार्यदललाई सदस्यताको विवाद मिलाउन जिम्मा दिएर ९ देखि १३ मंसिरमा १४ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । तर अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छैन् । जसले ती जिल्लामा महाधिवेशन हुने कि नहुनेमा अझै अन्योल देखिएकाे छ ।
तीन तीन पटक कार्यतालिका प्रभावित
नेपाली कांग्रेसको चौधौं महाधिवेशनका लागि तय भएको कार्यक्रम यसअघि तीन तीन पटक प्रभावित भएको छ । कांग्रेसले पहिलो पटक २०७७ कात्तिक १६ गते वडा अधिवेशन गरी गत वर्षकै फागुन ७ मा पहिलो पटक केन्द्रीय महाधिवेशनको मिति तय गरेको थियो ।
दोस्रो पटक आगामी भदौ ७ गतेदेखि महाधिवेशन गर्ने गरी महाधिवेन कार्यतालिका सार्वजनिक गर्यो । कोरोना संक्रमणको जोखिमका भए पनि क्रियाशील सदस्यताको विवादले दोस्रो पटक तय गरिएको कार्यक्रम पनि प्रभावित बन्यो ।
कांग्रेसले तेस्रो पटक पुनः भदौ १६ गतेदेखि महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गर्यो । क्रियाशील सदस्यताको विवादलाई लिएर पार्टीका केन्द्रीय नेताहरु नै अनशनसमेत बस्ने अवस्था आयो ।
तर तेस्रो पटक तय गरिएको कार्यतालिका परिमार्जन गर्दै आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेन गर्ने कार्यतालिका तय गरिएको छ । सोही तालिकाअनुसार नै कांग्रेसको शुक्रबारदेखि वडा अधिवेशन हुँदैछ ।
यसरी चुनिन्छन्, महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिन वडादेखि नै निर्वाचन हुने गर्दछ । वडा, स्थानीय तह, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला अधिवेशन हुँदै प्रदेश अधिवेशन गर्ने गरिएको छ ।
तलदेखि नै हुने निर्वाचन प्रक्रियाबाट महासमिति सदस्य चुनिएर मात्रै कांग्रेसको महाधिवेनमा भाग लिने पार्टी विधानमा उल्लेख छ ।
विधानअनुसार नै महासमिति सदस्यहरु पार्टीको महाधिवेशनमा प्रतिनिधि भई भाग लिन पाउने प्रावधान छ । पार्टी सभापतिदेखि जुन सुकै सदस्यका लागि पनि महासमिति सदस्य चुनिएर मात्रै महाधिवेशनमा भाग लिन पाउने ब्यवस्था भएको नेपाली कांग्रेस एक मात्र पार्टी हो ।
यस्तो छ अहिले जारी गरेको कार्यतालिका
– वडा तहको अधिवेशन ०७८ भदौ १८ गते ।
– स्थानीय तहको अधिवेशन ०७८ भदौ २७ गते ।
– प्रदेश सभा क्षेत्रीय अधिवेशन ०७८, असोज १ गते ।
– प्रतिनिधि सभा क्षेत्र र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन ०७८ असोज ५ गते ।
– एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ०७८ असोज १० गते ।
– प्रदेश अधिवेशन ०७८ कात्तिक १०, ११ र १२ गते ।
– केन्द्रीय महाधिवेशन ०७८ मंसिर ९–१३ गतेसम्म
तीन पटक कुन– कुन मितिमा स¥यो कांग्रेस महाधिवेशन ?
पहिलो पटक
– वडा अधिवेशन २०७७ कात्तिक १६ गते
– स्थानीय तहको अधिवेशन २०७७ कात्तिक– १८ गते
– प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ कात्तिक २१ गते
– प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०७७ कात्तिक २३ गते
– एकभन्दा क्षेत्र भएका जिल्ला अधिवेशन २०७७ कात्तिक २५ गते
– प्रदेश अधिवेशन २०७७ मंसिर २९ गते
– केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गते, काठमाडौं
दोस्रो पटक
–वडा तहको अधिवेशन, ०७८ असार ५ गते
–स्थानीय तहको अधिवेशन, ०७८ असार ७ गते
–प्रदेश सभा क्षेत्रीय अधिवेशन, ०७८ साउन १ गते
– प्रतिनिधिसभा क्षेत्रीय र जिल्ला अधिवेशन ०७८ साउन ३ गते
– एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ०७८ साउन ६ गते
– प्रदेश अधिवेशन ०७८ साउन १० र ११ गते
– केन्द्रीय महाधिवेशन ०७८ भदौ ७ देखि १० गतेसम्म, काठमाडौं ।
तेस्रो पटक
– वडा तहको अधिवेशन ०७८ साउन १२ गते
– स्थानीय तहको अधिवेशन ०७८ साउन १६ गते
– प्रदेश सभा क्षेत्रीय अधिवेशन ०७८, साउन २० गते
– प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ०७८ साउन २३ गते
– एकभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन ०७८ साउन २६ गते
– प्रदेश अधिवेशन ०७८ भदौ १ र २ गते
– केन्द्रीय महाधिवेशन ०७८ भदौ १६ देखि १९ गतेसम्म, काठमाडौ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया