के नेपालको वर्तमान राजनीतिको शक्ति केन्द्र हुन् ओली ?

नेपालको चार दिने भ्रमणमा आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा जेड सुमारसहितको प्रतिनिधि मण्डलले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । बिहीबार बिहान नेपाल ओर्लिएको प्रतिनिधि मण्डलले राजनीतिक भेटघाट पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट शुरु गरेको होे । एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाल भ्रमणमा आएको अमेरिकी टोली बालकोटस्थित उनको निवास पुगेका थिए ।
त्यसपछि फातिमा सुमारको एमसीसी टोलीले मेरियट होटलमा अर्का पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग नक्सालस्थित होटल मेरियटमा र पूर्व प्रधानमन्त्री तथा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग सिंहदरबारस्थित अन्तर्राष्टिय श्रम सम्बन्ध समितिको सभाहलमा भेट वार्ता गरेको छ ।
नेपालमा एमसीसी संसदमा पारित गराउन सरकारले दर्ता गराए पनि दलहरूका बीचमा राजनीतिक सहमति नबनेको भन्दै सभामुखले अझैसम्म संसदमा टेबुल गरेका छैनन् । सहमतिअनुसार एमसीसी सम्झौता संघीय संसदबाट पारित भई २०७७ साल असारदेखि कार्यान्वयनमा जानु पर्ने थियो ।
गत वर्ष पनि नेपालमा राजनीतिक दलबीच एमसीसीका विषयमा एक मत नहुँदा संघीय संसदमा त्यत्तिकै थन्किएर बसेको थियो । यद्यपि, सम्झौता संसदबाट अनुमोदन हुन्छ कि हुँदैन भन्ने अन्योल बढ्दै जाँदा अमेरिकाबाट आएको एमसीसीका प्रतिनिधि मण्डलले एमाले अध्यक्ष ओलीलाई भेट्दै आफ्नो भेटघाटको क्रम शुरु गरेको हो ।
भेट वार्ताका विषयमा मेरो न्युजलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाकार डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीका विषयमा कुनै धारणा नबनाएको बताए । ‘पछिल्लो अवस्थामा हाम्रो पार्टीले एमसीसीका विषयमा कुनै औपचारिक धारणा बनाएको छैन, र भ्रमणमा आएका प्रतिनिधि मण्डलसँग पार्टी अध्यक्षले सोही कुरा राख्नु भयो’, डा. भट्टराईले भने ।
निर्वतमान प्रधानमन्त्री ओलीले आफू सत्तामा हुँदा संसदबाट एमसीसीलाई पास गर्न भगिरथ प्रयत्न गरेका थिए । करिब दुई महिनाअघि सत्ताबाट बाहिरिएसँगै एमसीसीका सम्बन्धमा उनको बोली फेरिएको छ । यसै परिप्रेक्षमा नेपाल भ्रमणमा रहेका एमसीसी प्रतिनिधि मण्डल काठमाडौं उत्रेसँगै ओली भेट्न शुरुमै बालकोट पुगेका थिए ।
एमसीसी सम्झौतालाई संसदबाट पास गराउने सन्दर्भमा प्रमुख प्रतिपक्ष दलभन्दा सत्तारुढ दल र प्रधानमन्त्रीको भूमिका बढी हुने छ । कूटनीति सञ्चालन गर्दा सानो संकेतले पनि ठूलो अर्थ दिन खोजेको मानिन्छ । यस्तो अवस्थामा एमसीसी प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर बहादुर देउवा र सत्ता घटकका नेताहरुलाई मनाउने प्रत्यन गर्नुको सट्टा पूर्व प्रधानमन्त्री ओलीलाई बढी महत्व दिएको कूटनीतिक क्षेत्रका जानकारहरु दाबी गर्छन् ।
परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचारपाल एवंम फ्रान्सका लागि नेपालका पूर्व राजदूत मोहन कृष्ण श्रेष्ठ भने यो तर्कसँग सहमत छैनन् । कूटनीतिमा देशको स्वार्थलाई सर्वोपरि मानिन्छ । अहिलेको अवस्थामा नेपालमा एमसीसी पास गर्न सत्तामा नै नभए पनि सबैभन्दा ठूलो दलका हैसियतमा नेकपा एमालेको भूमिका बढी हुन्छ । सोही कारण एमसीसी प्रतिनिधि मण्डलले अध्यक्ष ओलीबाट आफ्नो भेटघाटको श्रृखला शुरु गरेको श्रेष्ठ बताउँछन् ।
पूर्व राजदूत श्रेष्ठ भन्छन्, ‘ओली सत्तामा हुँदा कायम भएको राम्रो सम्बन्धलाई यथावत राख्दै सबैभन्दा ठूलो दलका नेताको सम्मान स्वरुप एमसीसी प्रतिनिधि मण्डलले भेटघाट ओलीबाट शुरु गरेको हुनसक्छ ।’
सत्तामा हुँदा त राजनीतिको केन्द्रमा हुनु नौलो विषय होइन । तर, पछिल्ला केही उदाहरण हेर्ने हो भने अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरु र छिमेकी देशले सत्ता बाहिर रहँदा पनि ओलीलाई महत्व दिएको देखिन्छ । उदाहरणका लागि २०७२ मा संविधान घोषणा हुनु पूर्व भएको भारतका तत्कालिन विदेश सचिव एस. जयशंकरको नेपाल भ्रमणलाई लिन सकिन्छ ।
नेपालको संविधानमा भारतका मुद्दा स्थापित गर्न र संविधान घोषणालाई केही पर सार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशसहित १ असोज २०७२ मा नेपाल ओर्लिएका जयशंकरले आफ्नो भ्रमण ओलीसँगको भेटघाटबाट शुरु गरेका थिए । एमसीसी प्रतिनिधि मण्डलले नेपालको ठूलो दलको नेताको हैसियतमा ओलीलाई भेटे पनि २०७२ मा ओलीको दल न त ठूलो नै थियो न त उनी कुनै सरकारी ओहदामा नै थिए । शुशील कोइराला ठूलो दलका नेता हुनुका साथै प्रधानमन्त्रीसमेत थिए । यद्यपि, जयशंकरले आफ्नो भ्रमण ओलीसँगको भेटबाट शुरु गरेका थिए ।
२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि यस्तै अर्को घटना भयो । निर्वाचन पश्चात ठूलो दल र त्यसको नेताको हैसियत प्राप्त गरे पनि ओली सत्ता बाहिर थिए । १८ माघ २०७४ मा तत्कालिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज ओलीलाई नै भेट्नका लागि नेपाल ओर्लिन् । त्यो पनि भारतीय प्रधानमन्त्री मोदीको विषेश सन्देशसहित ।
उक्त अवसरमा पनि सत्ता बाहिर रहेका ओलीलाई सत्तामा रहेका तत्कालिन समयका प्रधानमन्त्री देउवालाई भन्दा बढी महत्व दिइएको थियो ।
प्रतिक्रिया