कांग्रेस १४ औँ महाधिवेशन : क्रियाशील विवाद टुंगिएका जिल्लामा भोलि वडा अधिवेशन हुने, अन्यमा कहिले ?

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तगर्त विवादित २० जिल्लामध्ये ७ जिल्लाको वडा अधिवेशन पछिल्लोपटक तय भएको मितिमा हुने भएको छ । कांग्रेस निर्वाचन समितिले गत भदौँ २५ गते विवादित जिल्लाको वडा अधिवेशन असोज ५ गते हुने गरी मिति तय गरेको थियो ।
तोकिएकै समयमा वडा अधिवेशन हुने जिल्लाहरूमा काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा रहेका छन् । तर, अन्य १३ जिल्लामा तोकिएकै मितिमा हुनेमा अन्योल देखिएको छ ।
प्रदेश २ का ७ जिल्ला (बारा, पर्सा, रौतहट, महोत्तरी, सिराह, सप्तरी सर्लाही)का अतिरिक्त बाँके, रसुवा, डोल्पा र सुर्खेतको क्रियाशील विवाद समाधान भएको क्रियाशील सदस्यता विवाद समाधान समितिले जनाएको छ । तर, अझै पार्टीको वेवसाइटमा क्रियाशील सूची सार्वजनिक भएको छैन । जसले यी जिल्लाको अधिवेशन हुने÷नहुनेमा अझै अन्योल देखिएको छ । कांग्रेसले भदौँ १८ देखि २५ गतेसम्म ५७ जिल्लामा अधिवेशन गरिसकेको छ ।
गत साउन ३१ गते पार्टीको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता विवाद समाधानका लागि तीन सदस्य गठित समिति बनाएको थियो । पार्टी मुख्य सचिव कृष्ण पौडेलले २० जिल्लामध्ये ७ जिल्लाको वडा अधिवेशन भोलि नै हुने बताए । उनका अनुसार अन्य १३ को क्रियाशील विवाद समाधान भएको छ । छिटै नामावली सार्वजनिक गरिने छ ।
‘क्रियाशील विवाद रहेका १३ जिल्लाको नीतिगत विवाद समाधान गरेर नीतिगत निर्णय भएको छ, एक दुई दिनमा पार्टीको वेवसाइटमा क्रियाशील सदस्य नामावली सार्वजनिक गछौँ,’ उनले भने, ‘ती जिल्लामा भोलि वडा अधिवेशन नभए पनि ९ गतेअघि वडा अधिवेशन सम्पन्न हुन्छ ।’
अब अधिवेशनका लागि नयाँ तालिका जारी हुँदैन । यही तालिकाअनुसार तोकिएको मितिभन्दा एक दुई दिनअघिपछि हुने उनले जानकारी दिए । उनका अनुसार वडा अधिवेशन सकेर नगर अधिवेशन ९ गते हुन्छ ।
दुई जिल्लाको क्रियाशील विवाद समाधान
आइतबार क्रियाशील विवाद रहेका धनुषा र कैलाली जिल्लाको क्रियाशील विवाद टुंगिएको छ । क्रियाशील समाधान समितिका संयोजक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सदस्य मिनेन्द्र रिजाल र रमेश लेखकसहितको समितिले यी दुई जिल्लाको विवाद टुंगोमा पु¥याउन ९ बुँदे निर्णय गरेको हो ।
उक्त निर्णयसहित समितिले सभापति शेरबहादुर देउवा र महामन्त्री शंशाक कोइरालालाई प्रतिवेदन बुझाएको थियो । छनबिन सदस्यका सदस्य रमेश लेखकले भने ‘क्रियाशील विवाद सैद्धान्तिक रुपमा समाधान भएको छ ।’
यस्तै, धनुषा क्षेत्र नम्बर ४ मा रहेको बटश्वेर नगरपालिका ५ र क्षिरेश्वर नगरपालिका १० मा नयाँ क्रियाशील सदस्यले १४ औँ महाधिवेशनमा भाग लिन नपाउन तर यी वडाहरूमा पुरानै क्रियाशील सदस्यहरूबाट अधिवेशन हुने, मिथिला बिहारी नगरपालिका ६, १०, लक्ष्मिनिया गाउँपालिका १ र २ मा वडा सभापतिहरूले सिफारिस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय भएको छ । क्षेत्र र जिल्ला तहबाट थपिएका नामहरु भने १४ औँ महाधिवेशन सकिएपछि प्रकृयामा जाने छ ।
क्षिरेश्वर नगरपालिका ७ तथा लक्ष्मिनियाँ गाउँपालिका ३, ४, ५, ६ मिथिला बिहारी नगरपालिका २ का साथै जनकपुर उपमहानगरपालिका १९ का वडा सभापतिले फर्जी भनिएका क्रियाशील हटाएर वडा सभापतिहरूले सिफारिस गरेको क्रियाशील सदस्यले मात्र १४ औँ महाधिवेशनमा भाग लिन पाउने छन् ।
त्यसैगरी, क्रियाशील सदस्यता विवाद देखिएको कैलाली जिल्लाको क्षेत्र नम्बर १ को टीकापूर नगरपालिका १ मा भने १३ औँ महाधिवेशनमा सहभागी भएका क्रियाशील सदस्यले मात्र १४ औँ महाधिवेशनमा भाग लिन पाउने भएका छन् । तर क्रियाशील विवाद रहेका जिल्लामा अधिकांशमा १३ औँ महाधिवेशनकै क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्ने सहमति भएको देखिन्छ ।
यी दुई जिल्लाको अहिलेसम्म विवाद समाधान भए पनि क्रियाशील सदस्यता सूची पार्टीको आधिकारिक वेवसाइटमा राखिएको छैन । जसले गर्दा यी जिल्लामा पनि तोकिएको मितिमा अधिवेशन हुनेमा अन्योल देखिएको छ । ‘विवादित जिल्लाको आज सूची सार्वजनिक भए पनि भोलिको अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउन समयको अभाव हुन्छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा १४ औँ महाधिवेशन गर्ने तोकेको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

















सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया