कांग्रेसमा गच्छदार कता ?

काठमाडौं । नेपाली कांग्रेसमा दोस्रो पुस्ताका नेताका रुपमा चिनिन्छन्– विजयकुमार गच्छदार । उनी अहिले केन्द्रीय कार्यसमितिका मनोनित उपसभापति हुन् । ललिता निवास प्रकरणमा तानिएपछि करिब डेढ वर्ष गच्छदार ‘गुमनाम’ नै बने ।
पार्टीभित्रका आन्तरिक बैठकमा मात्र देखिने तर सार्वजनिक रुपमा गुमनाम थिए उनी । तर केन्द्रीय सत्ताबाट एमाले अध्यक्ष केपी ओली बाहिरिएपछि भने उनी अदालतमा समेत हाजिर हुन पुगे ।
गत साता सार्वजनिक रुपमै पत्रकार सम्मेलन आयोजना गरेर आफूलाई चोख्याउन खोजेका छन् । आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्देश्यले ललिता निवास प्रकरणमा मुद्दा चलाएको गच्छदारको जिकिर छ ।
पत्रकार सम्मेलन गरी उनले ५० वर्षको आफ्नो राजनीति समाप्त गर्न लागेको भन्दै आफ्नो सफाइ दिए पनि त्यहाँको उनको भावभुङग्री महाधिवेशन केन्द्रित देखिन्थ्यो ।
उक्त पत्रकार सम्मेलनमा गच्छदारले भने- ‘महाधिवेशन सबैलाई लाग्छ, मलाई पनि लाग्छ, तर अहिले तत्काल सभापतिमा उठ्ने मेरो कुनै योजना छैन, अन्य पदमा उम्मेद्वारी दिने विषयमा समय आएपछि सार्वजनिक गर्नेछु ।’
उनी शुरुमा कांग्रेसवाटै राजनीति गरेपनि क्षेत्रीय राजनीतितिर आकर्षित भएर कांग्रेस छोडेर फोरमतिर लागेका थिए । गच्छदार तत्कालिन मधेसी जनाधिकार फोरममा उपेन्द्र यादवसँग धेरै समय रहन सकेनन् ।
फोरम फुटाएर लोकतान्त्रिक फोरम बनाएर लामो समय आफैले नेतृत्व गरे । अन्ततः उनी कांग्रेसकै राजनीतिमा फर्किए ।
कांग्रेस र फोरम लोकतान्त्रिक पार्टी एकता भएको करिब चार वर्ष पुग्यो । कांग्रेसले फोरम लोकतान्त्रिक पार्टीसँग एकता गर्दा २५ हजारलाई सक्रिय सदस्यता दिने नीति लियो । अहिले क्रियाशील सदस्यता छानबिन समितिले नविकरण र नयाँ गरेर २३ हजार ४ सय जना लोकतान्त्रिक फोरमबाट गच्छेदारसँगै कांग्रेस एकीकरणमा आएकाहरुको सदस्यतता स्वीकृत गरेको छ ।
पार्टी एकतापछि गच्छदार समूहलाई ६ सय महाधिवेशन प्रतिनिधि र दुई सय महासमिति सदस्य कांग्रेसले दिएको थियो । गच्छेदार निकट केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अहिले १४ औें महाधिवेशन प्रतिनिधि ४ सय भन्दा बढी आउने बताए । उनले भने, ‘महाधिवेशन प्रतिनिधि संख्या हामीहरुको ४ सयभन्दा बढी नै हुन्छ, त्यो भन्दा कम हुदैन् ।’
देउवाले लगाएको गुन
कांग्रेस छोडेर क्षेत्रीय राजनीतिमा आकर्षित गच्छदार अन्ततः राजनीतिको शक्तिमा हराउँदै जान थालेका थिए । फोरम टुक्रिदै सानो सानो समूहमा पुगिसकेको थियो । त्यसपछि भने गच्छेदारले क्षेत्रीय पार्टीमा आफनो भविश्य देखेनन । उनले पूरानै मूल घरमा फर्किने योजना बनाए । त्यसपछि उनलाई कांग्रेसका सभापति शेरवहादुर देउवाले फेरि कांग्रेसमै फर्काउन भूमिका खेले ।
त्यसैको गुनमा देउवाले उनलाई मनोनित उपसभापति बनाए ।
कुनै समय कांग्रेसभित्र यस्तो थियो – गच्छेदारसहितका ४ नेता पार्टीमा शक्तिशाली थिए । उनीहरुको समुहलाई ‘एकेजीबी’ नामले नै पुकारिन्थ्यो ।
‘एकेजीवी’ समुहमा चार नेता थिए – अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छेदार थिए । त्यसमध्येमा खड्काको निधन भइसकेको छ भने जोशी तनहुँमै वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको अन्तरसंर्घषमा पेलिएका छन् । दुवैमाथि अदालतले नै भष्टाचारको कसुरमा सजायँ समेत सुनाएको थियो । पछिल्लो समय गच्छेदारमाथि पनि ललिता निवास प्रकरणले डामेको छ ।
अर्जुन नरसिंह केसी मात्र यो समूहमा अहिलेसम्म वेदाग रहेका छन् । भ्रष्टाचार मुद्दा खेपिरहेका खड्काले प्रत्यारोपण गरिएको मिर्गौलामा गम्भीर समस्या देखिएपछि चार वर्षअघि जीवन विसाए ।
यस्तै, सोही समूहका अर्का नेता जोशीलाई गत प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा रामचन्द्र पौडेललाई हराउन प्रमुख भूमिका खेलेको भन्दै पार्टी सदस्यबाटै निलम्बन गर्ने काम कांग्रेसले गर्यो ।
त्यसवेलाका एकेजिवि समुह अहिले छिन्नभिन्न भइसकेको छ । गच्छेदार डेढ वर्षदेखि ललिता निवास जग्गा अनियमितता प्रकरणमा ९ करोड ६५ लाख रुपैंयाको भ्रष्टाचार अभियोग लागेपछि गुमनाम बनेका थिए । तर गत असार ३० मा विशेष अदालतमा हाजिर भए र १० लाख रुपैंया धरौटीमा छुटे ।
त्यसपछि फेरि उनी कांग्रेसको राजनितिमा सक्रिय हुने संकेत देखाएका छन् । तर पहिला जस्तो उनीहरुको भुमिका खासै निर्णाय नदेखिने कांग्रेसभित्रकै नेताहरु बताउँछन् ।

१० वर्षपछि पहिलाकै पार्टीमा
गच्छदार आठौं महाधिवेशनमा नेपाली कांग्रेसकै केन्द्रीय सदस्य थिए । नवौं महाधिवेशनमा कांग्रेसको सहमहामन्त्री बने । तर २०६४ साल माघ १८ गत गच्छेदार नेपाली कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन मधेसी जनाधिकार फोरममा प्रवेश गरे ।
फोरम विभाजनपछि गच्छदारले मधेशी जनाधिकार फोरम लोकतान्त्रिक गठन गरे । मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पार्टी लामो समय टिक्न सकेन । गच्छदार फोरम प्रवेश गरेको करिब १० वर्षपछि २०७४ साल असोज ३० मा कांग्रेससँग पार्टी एकता गरेर पूरानै मूलघरमा फर्के । पार्टी एकता गरेको करिब एक वर्षपछि पार्टी सभापति शेबहादुर देउवाले गच्छेदारलाई उपसभापति मनोनित गरेका थिए ।
कांग्रेसले फोरम लोकतान्त्रिकबाट आएका ११ नेतालाई पार्टी प्रवेश गरेको दुई वर्षपछि अर्थात २०७६ फागुन ११ मा केन्द्रिय सदस्य मनोनित गरेको थियो । कांग्रेसले फोरम लोकतान्त्रिकबाट आएकाहरुलाई सप्तरी, सर्लाही, पर्सा, बारा, झापा, मोरङ, सुनसरी, दाङ, बाँके, बर्दिया, कैलालीमा उपसभापति सहित जिल्ला कार्यसमितिमा भूमिका दिइएको थियो ।
कांग्रेसभित्र अबको यात्रा कता ?
गच्छेदार देउवा समुहकै नेताका रुपमा चिनिन्छन् । तर गच्छदारले अहिले आफु कुनै गुट र समुहमा नरहेको दाबी गदै आएका छन् । ‘म कुनै गुट र समुहमा छैन्, शेरबहादुर र रामचन्द्र दुबै मैले मान्ने नेता हुनुहुन्छ, उहाँहरु एक भएको कांग्रेस हेर्न चाहन्छु,’ उनले भने । सभापति देउवाले बोलाएका हरेक बैठकमा भने गच्छदार सहभागी हुदै आएका छन् ।
गच्छदारलाई कांग्रेसमा सभापति देउवाले प्रवेश गराएका थिए । गच्छदारलाई पार्टीमा कुन भुमिका दिने विषयमै रामचन्द्र पौडेल पक्षले असन्तुष्ट जनाउँदा गच्छदार पार्टी प्रवेश गरेको एक वर्षपछि मात्र सभापति देउवाले उपसभापतिमा मनोनित गरेका थिए । त्यो समयमा पौडेल समुहको असन्तुष्टिले पनि गच्छदारले पौडेल समूहलाई महाधिवेशन सहयोग नगर्ने आकलन देउवा निकट नेताहरु बताउँछन् ।
गच्छदार समुहका एक नेताले भने ‘पहिला लगाएको गुन तिर्न पनि विजय दाई महाधिवेशनमा शेरबहादुर दाईकै समुहमा बस्नुहुन्छ ।’ कांग्रेस विधानमा महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमिति चयन गर्ने व्यवस्था छ । गच्छदार निकट नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले भने यस विषयमा अहिले नै मुख खोलने बेला नभएको बताए ।
उनले भने,–‘ अहिले टिम बनिसकेको अवस्था छैन, जुन जुन जिल्लामा हाम्रा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, ती जिल्लामा त्यही संख्यामा हाम्रा साथीहरु आउनुहुन्छ । अहिले विजय दाई भुमिका भनेकै नेताका बीचमा देखिएको तिक्तता र धुवीकरण हटाउँनु हुनेछ । महाधिवेशनमा पनि ध्रुवीकरण भन्दा दुई नेता शेरबहादुर र रामचन्द्र दाईलाई कसरी मिलाएर लैजान सकिन्छ त्यसमा उहाँ लाग्नु हुनेछ ।’
गच्छेदारले सभापति नउठ्ने बताइसकेका छन् । यसको पुष्टि चौधरी पनि गर्छन् । ‘विजय दाईले सभापति नउठ्ने बताइसक्नुभएको छ । उहाँको चाहना फेरि पनि उपसभापतिमै आउने देखिन्छ,’ चौधरीले भने ।
कांग्रेसका अर्का एक केन्द्रिय सदस्यले महाधिवेशनमा गच्छेदार समुहबाट १० प्रतिशतसम्म महाधिवेशन प्रतिनिधि आउन सक्ने बताए । त्यसैका आधारमा उनले आफूलाइृ सुरक्षित गर्ने गरी उपसभापतिमा देउवासँग बार्गेनिङ गर्न सक्ने सम्भावना रहेको ती नेता बताउँछन् ।
संस्थापनईतर समुहकै कल्याण गुरुङ्ले सभापतिको उम्मेदारी घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला सभापति पदका आकांक्षी छन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया