इच्छाराज तामाङ : भिआईपी ठग !
८ अर्ब हिनामिना, १३ सय बढी जाहेरीकर्ता

काठमाडौं । सोमबार (कात्तिक ५) महाराजगंजस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा अनियन्त्रित भिडभाड थियो । उक्त भिड नेकपा एमालेका पूर्व सांसद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध जाहेरी दिनेहरुको थियो । उक्त भिड सोमबार मात्रै होईन, असोज १९ गतेदेखि नै उत्तिकै बढ्दो छ । सिआईबीले १८ असोजमा सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेँ लगत्तै जाहेरी दिनेहरुको संख्या बढ्दै गएको सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।
अध्यक्ष तामाङविरुद्ध सिभिल सहकारीको ८ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेपछि उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका तामाङसहित १२ जना विरुद्ध संगठित अपराध अन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ । गत असोज १८ गते सिआइबीले सुन्धाराबाट तामाङ सहित केशवलाल श्रेष्ठ, भगवान बहादुर सिंह, मायोनानी महर्जन, ऐलिना तुलाधर, शंकर प्रसाद पाठक, संगिता श्रेष्ठ, राकेश महर्जन, बुद्धराज महर्जन, कौस्तुभ केतन ढुंगाना,विजय विक्रम शाह र हरिहर लामिछानेलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध सिआइबीले १८ दिनको म्याद थप गरेको छ ।
तामाङको ठगी यात्रा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्व संविधान सभा सदस्यसमेत रहेका इच्छाराज तामाङ पेशााले इन्जिनियर हुन् । उनका पिता बेलायती सरकारका लागि सैनिक थिए । जसकारण उनलाई शिक्षादिक्षाका लागि कुनै समस्या भएन । उनले आफ्नो उच्च शिक्षा रसियाबाट गरेका थिए । उनले विसं २०५५ सालमा इन्जिजियरिङ सकाएका उनी विद्यार्थी कालदेखि नै सोभियत युनियनबाट राजनीतिमा होमिएका थिए ।
रसियामा ईन्जिनियरिङ सकाएर नेपाल फर्किएका उनले डेडबर्षजति इन्जिनरीङ क्याम्पसमा सहायक प्राध्यापक भएर काम गरे । त्यसपछि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पमा अध्यापन गर्न सुरु गरे । उनी त्यहाँ करारमा पढाउँथे । त्यही बेला उनी गोरखा सेभिङ एन्ड क्रेडिटमा अध्यक्ष भएका थिए ।
तामाङले सोही समयदेखि जालझेल र टिक्डम सुरु गरेका थिए । आफ्ना ज्वाइँलाई प्रयोग गरेर उनी अध्यक्ष बनेका थिए । पछि आफ्नै ज्वाइँसँग टसल परेपछि त्यहाँबाट उनी निकालिएका थिए । केही समयपछि उनले सहकारी खोल्ने निर्णयमा पुगे । उनले सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीको स्थापना गरे । सो सहकारीबाट उनले १ वर्षमै मुनाफा कमाएका थिए । स्रोतका अनुसार तामाङले सोही समयमा बिना निक्षेप र धितो सिभिल होम्स् प्रालीमा लगानी गर्न प्रस्ताव ल्याएका थिए । जसका कारण सञ्चालक समिति पनि विभाजित भएको थियो

सिभिल होमको पहिलो चरणका घर बिक्रीबाट उनले धेरै मुनाफा कमाएका थिए । उनी दोस्रो चरणमा कलंकी नजिक ढुङेअड्डामा सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास योजनाबाट ९६ घर निर्माणका लागि अनुमति पाए । उनले घर विक्री गर्ने क्रममा आकर्षक घरसहित फराकिलो बाटो, स्विमिङ पुल र जिम हल र पार्क सम्मका सुविधाहरूको ब्रोसर छापेर दोस्रो चरणमा कानून विपरित २७ घर थप गरेर १२३ घर बिक्री गरेको समेत प्रहरीको अनुसन्धाबाट खुल्न आएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
तामाङले सिभिल होम योजना अन्तर्गतका हस्तान्तरण नभएका घर तथा महलहरू, स्वीमिङ, पार्क, क्लव हाउससम्म जग्गाहरूसमेत सिभिल सहकारीमा राखी करोडौं रूपैयाँ कर्जा लिएका छन् । साथै उनले दोस्रो फेजका घरहरू राष्ट्रिय सहकारी बैंकमा धितो राखेर ४ करोड र तेस्रो फेजका घरहरू धितो राखेर ८ करोड रूपैयाँ कर्जा लिएको देखिन्छ ।
राष्ट्रिय सहकारी बैंकले पनि तामाङको इसारामा धितो मुल्याङकन गर्न नआई कर्जा दिएको सिभिल होम समूहका एक सदस्य बताउँछन् । यसैगरी तामाङले सोल्टीमोडस्थित सिभिल सहकारीको केन्द्रीय कार्यालयसमेत व्यक्तिको नाममा धितो राखेर कर्जा लिएको पाईएको छ ।
पिडितहरुको लर्को
‘बुढेसकालका लागि साहरा बन्ने आशाले कमाएको सबै पैसा लगेर सहकारीमा जम्मा गर्यौ तर बिरामी पर्दा समेत आफैले कमाएको पैसा नपाउँने कस्तो खाले सहकारी हो कुन्नि, पटक पटक सम्झौता र साझेदारी गर्दा समेत हामीले आफ्नो रकम पाउँन सकेनौँ, ईच्छाराज पक्राउ परेपछि भने पैसा फिर्ता पाउने हो की भन्ने आशा जागेको छ, त्यसकारण जाहेरी दिन आएको हुँ ।’ सहकारीका एक बचतकर्ताले मेरोन्यूजलाई भने ।
उनी जस्ता धेरै पिडितहरुको लर्को अझैपनि सिआईबीमा उत्तिकै छ । सबैको व्यथा एउटै छ, सबैको विरोधी एउटै छ-इच्छाराज तामाङ । पिडितहरुमा प्रायः सबै बचतकर्ता रहेको पाईएको छ । सिआईबीका प्रवक्ता एसपी महतोका अनुसार प्राय पिडितहरु सबै बजतकर्ता रहेका छन् । उनले भने,‘धेरै प्रकारका पिडितहरु हामीकहाँ आएका छन् तर हामीले पछिल्लो समय धेरै ‘ईन्टरटेन’ गरेको पिडित भनेको बजतकर्ताहरु छन्, सबैले आफ्नो कमाईको अंश जम्मा गरेको तर चाहेको समयमा निकाल्न नपाएका पिडितहरुको जमात बढी छ ।’
सिआईबीको एक्सन
सिआईबीका प्रवक्ता एसपी महतोका अनुसार ०७८ सालको असोजको ५ गते सिआईबीमा एमालेका पूर्व सांसद् समेत रहेका सिभिल ग्रुपका अध्यक्ष तामाङ विरुद्ध जाहेरी आएको थियो । उक्त उजुरीमा पूर्व सांसद् तामाङले आफुले बचत गरेको पैसा समयमै निकाल्न नपाएको र पटक पटक सम्झौता गर्दा समेत आफुले लगानी गरेको वा बचत गरेको पैसा फिर्ता नपाएको उल्लेख गरिएको थियो । सहकारी ऐन बमोजिम सहकारीको मुद्धाहरु राष्ट्र बैंकले वा सहकारी विभागले हेर्ने हुँदा यो विषयमा सिआईबीले कुनै कारबाही गर्न नसक्ने भन्दै त्यसबेला जाहेरीकर्तालाई सम्झाई बुझाई गरेको फर्काइएको थियो ।

तामाङ विरुद्ध ८ अर्ब बढी रकम हिनामिना गरेको आरोप लागेको छ । उक्त रकम उनले सिभिल होम्समार्फत घर जग्गामा लगानी गरेर व्यक्तिगत सम्पत्ति आर्जन गरी विदेशमा लुकाएको आरोपसमेत छ । उनको गैरकानुनी धन्दा चुलिन थालेपछि सहकारी विभागले यसको विषयमा अनुसन्धान गरिहरहेको थियो तर पछिल्लो सयम तामाङ विरुद्ध जाहेरी दिनेको संख्या बढेपछि असोज १७ गते अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई दिईएको थियो ।
सिआईबीमा १७ गते पत्र आए लगत्तै १८ असोजमा तामाङलाई पक्राउ गरिएको हो । एसपी महतोले भने,‘हामीलाई पहिलो जाहेरी असोज ५ गते आएको थियो । तर सहकारीको बारेमा अनुसन्धान गर्ने निकायहरु अनुसन्धा गरिहेको थियो जसकारण हामीले केही गर्न सकेनौ । तर १७ असोजमा सहकारी विभागबाट हामीलाई पत्र आएपछि हामीले १८ गते उनलाई पक्राउ गरेका हौँ । उनी पक्राउ परेलगत्तै धेरै पिडितहरुले हामीकहाँ जाहेरी दिएका छन् ।’
२२ अझै फरार
सिआइबीको हिरासतमा रहेका १२ सहित सिभिल समुहका ३४ जना विरुद्ध जाहेरी दर्ता भएपनि २२ जना अभियुक्त अझै फरारको सुचिमा छन् । फरार सुचीमा क्यापिटल मार्केटकी निर्देशक तथा इच्छाराजकी श्रीमती सृजना शाक्य तामाङसमेत छिन् ।

किटानी जाहेरीमा अध्यक्ष केशवलाल श्रेष्ठ, सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङ, प्रविण मुखिया, सुमननन्द बैद्य, मुकुन्द प्रसाद न्यौपाने, दानहिरा कंसाकार, गोपाल बहादुर श्रेष्ठ, हरिहर प्रसाद लामिछाने, रामकृष्ण पौडेल, केशव कुमार अमात्य, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाई, दुर्गा प्रसाद संग्रौला, नगेन्द्र बिमली, हरी प्रसाल रिसाल, सिर्जना शाक्य तामाङ, कृष्ण प्रसाद श्रेष्ठ, रामराज मास्के, प्रकाश कुमार बर्मा, जीवन राज बज्राचार्य, भगवान बहादुर सिंह, राकेश महर्जन, रञ्जना महर्जन, सुवाश कुमार श्रेष्ठ, शंकर प्रसाद पाठक, मायोनानी महर्जन, कौस्तुभ केतन ढुंगाना, बुद्धराज तामाङ, कान्ती लक्ष्मी उपाध्याय, लालकाजी गुरुङ, मिना गुरुङ र विजय बिक्रम शाह छन् ।
नेताहरुकै संरक्षण
सिभिल ग्रुपका अध्यक्ष तामाङ पक्राउ परेको दिनदेखि नै विभिन्न राजनीतिज्ञ र व्यापारीहरुको निद्रा हराम भएको छ । देशको परिचित व्यवसायीबाट सर्वसाधरणहरु ठगीको घटनालाई अन्देखा गरेर ठगीको संरक्षण र तामाङलाई छुटाउनको लागि विभिन्न नेता तथा राजनीतिज्ञहरुले दवाव दिईरहेका छन् ।
तामाङ आफैपनि एमालेका पूर्व सांसद् हुन् र उनको रिहाईका लागी प्रदेश १ का पूर्व मन्त्री अमिर बाबु गुरुङ लागि परेको स्रोतको दाबी छ । स्रोतका अनुसार पुर्वमन्त्री गुरुङ र एमालेका १ नम्बर प्रदेश कमिटि सदस्य तथा अधिवक्ता नानीबाबु बुढाथोकीले सिआइबी प्रमुख डिआइजी धिरजप्रताप सिंहमाथि तामाङलाई छुटाउन दबाव दिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार तामाङलाई छाड्न एक नम्बर प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री अमिर बाबु गुरुङले यही कात्तिकको १ गते सीआईबी कार्यालयमै पुगेर दबाब दिएका हुन् । कानुनी सहयोगीको रुपमा बुढाथोकीलाई लिएर सिआइबी पुगेका उनले तामाङलाई हाउजिङ गर्न अत्तरखेलको जग्गा बेचेको र त्यसबापत ३४ करोड रुपैयाँ लिन बाँकी रहेकाले उनलाई थुनामा राख्दा आफ्नो रकम डुब्ने हुँदा उनलाई छाड्न सीआईबी प्रमुख धिरजप्रताप सिंहलाई दबाब दिएका थिए । तर, उनको दबावका बाबजुत तामाङलाई हिरासतमै राखेर अनुसन्धान गर्न सिआइबीले थप १८ दिनको समय पाएको थियो ।
तामाङ व्यक्तिगत फाइदा लिनका लागि समयनुसार सबै राजनीतिक दलनिकट रहने व्यक्ति हुन् । स्रोतका अनुसार उनले राजनीतिमा हालका नेकपा एकिकृत समाजवादी र तात्कालिन नेता जगन्नाथ खतिवडालाई उपयोग गर्दै संविधानसभाको दोस्रो निर्वाचनमा उदयपुरबाट समानुपातिक तर्फका नेकपा एमालेका सांसद बनेका थिए । संविधान सभाका अध्यक्षसमेत रहेका र पुर्व सभामुख सुवास नेम्वाङसँग समेत उनको विशेष सम्बन्ध रहेको स्रोतको दाबी छ ।
उन्मुक्ति पाउँन गाह्रो : सिआईबी
इच्छाराजको विभिन्न निकाय र तहतप्कामा मान्छे भएता पनि उनले अब उन्मुक्ति पाउन गाह्रो रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको दाबी छ । ‘१३/१३ सय जना व्यक्तिको रकम हिनामिना गर्ने मान्छेले उन्मुक्ति पाउँन मुस्किल छ ।’ सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कुमार महतोले मेरोन्यूजसँग भने । ‘उनले निकास पाउँलान् भन्ने कुनै बाटो हामीले देखेका छैनौ, हामीले भरपुर ठोस प्रमाणको खोजीमा लागिपरेका छौं । हामीले सजाय दिलाउने अठोट गरेका छौं, तर उनले सजाय पाउँला वा नपाउँला भन्ने सबै न्यायलयको हातमा छ ।’ उनले थपे ।
यो पनि

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया