सोमबार, चैत ३०, २०८२

देउवाको गृहजिल्लामा अधिवेशन: डडेलधुराका सभापति सानेपाको चिसो छिँडीमा

सञ्जिता खनाल २०७८ मंसिर ५ गते १८:०१

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगतको प्रदेशसभा क्षेत्रिय अधिवेशन जारी छ । तर वर्तमान प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लाको विवाद भने टुङगिएको छैन् । विवाद झनै चर्किदै गएको छ ।

सभापति देउवाका गृह जिल्ला सभापतिहरु अहिले पार्टीको केन्द्रीय कार्यालय सानेपाको चिसो छिँडीमा, अनसनरत छन् ।

जिल्ला सभापति कर्ण मल्ल लगायतका कार्य कर्ताहरुले डडेलधुराको वडा अधिवेशन पुनः दोहोरिनुपर्ने माग राखेका छन् । अनसनरत सभापतिसहितका नेता–कार्यकर्ता सभापति देउवाबाटै अन्याय भएको भन्दै कात्तिक २७ गते केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए ।

उनीहरुले चार दिनसम्म माग पूरा गर्नुपर्ने अल्टिमेटम दिएका थिए । तर उक्त समयमा पनि माग पूरा गर्ने विषयमा सभापतिले चासो नदिएपछि मंसिर १ गतेबाट अनसन थालेका हुन् ।

अनसनमा पुगेर संस्थापन इतरसमूहका नेता डा.रामशरण महतले आफूहरू डडेलधुराको विषयमा गम्भीर भएको बताए । यो विषयमा निर्वाचन समितिको ध्यानाकर्षण गराएको उनले बताए ।

विवाद नरहेका जिल्लामा गत भदौं १८ गतेबाट वडा अधिवेशन सुरु भएको थियो । ४४६ जनाको नाम क्रियाशीलबाट हटाइएको र ३२० नयाँ क्रियाशील सदस्य थपिएकोमा विवाद सुरु भएको थियो । तर सभापति देउवाले सिधै प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरेको कार्यकर्ताको आरोप छ । सोही अधिवेशन अवैधानिक भएको भन्दै त्यहाँँका देउवाकै कार्यकताहरु रुष्ट बनेका छन् ।

आफ्नै जिल्लाका कार्यकर्ताले वैधानिकतामा प्रश्न उठाइरहँदा पनि सभापति देउवा भने केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका बमोजिम डडेलधुरामा प्रदेशसभा क्षेत्रीय अधिवेशन गराइरहेका छन् । उनकै प्रभावमा महामन्त्री डा. सशांक कोइरालाले डडेलधुरामा पुनः अधिवेशन हुन नसक्ने बताएका छन् ।

गत कात्तिक २८ गते केन्द्रीय समितिको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो जिल्लाको विवाद किन सुल्झाउनु हँुदैन भनेर देउवालाई सोधेका थिए ।

देउवाको दबाबमा अधिवेशन जारी

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । डडेलधुराका जिल्ला सभापति, कार्यकताहरु सानेपामा अनसन छन् । तर देउवाले भने अझै पनि निवार्चन कार्यतालिका बमोजिम अधिवेशन जारी राखेका छन् ।

जिल्ला सभापति कर्ण मल्लले पार्टी सभापतिले प्रहरी प्रशासन आफ्नो हातमा छ भनेर पेलेर नै लैजान खोजेको बताए । न्याय नपाएसम्म आफूहरु संर्घषमै रहने उनले बताए । पटक पटक पार्टी सभापतिलाई फोन गरेर गुनासो राख्दा पनि कुनै सुनुवाई नभएको उनकोे गुनासो छ ।

परशुराम नगरपालिकाका मेयर तथा जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउद सीमित राजनीतिक स्वार्थका कारण विद्रोह गरेकाहरूको अधिवेशन रोक्नुपर्ने कुन कारण नरहेको तर्क गर्छन् ।

उनका अनुसार अहिले जिल्लामा बहुमत नेता तथा कार्यकर्ताहरू अधिवेशनको पक्षमा रहेका छन् । उनले भने– ‘कुनै एकको स्वार्थमा अधिवेशन रोक्नुपर्ने कुनै कारण छैन ।’

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले डडेलधुराको जिल्ला अधिवेशनलाई निर्वाचन समितिले मान्यता दिइनसकेको बताए । उनका अनुसार वडा अधिवेशनका विषयमा आएको उजुरीका विषयमा अध्ययन भइरहेको छ ।

पार्टीका तेस्रो धार मानिने कृष्णप्रसाद सिटौंला वडा अधिवेशन भइसकेका (विवादित) जिल्लामा क्रियाशील सदस्यताको विषय उठेमा महाधिवेशन नहुने बताउँदै आएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया