शुक्रबार, फागुन २२, २०८२

कांग्रेस महाधिवेशन : निर्वाचन निर्देशिकाभन्दा बढी शुल्क तिर्न बाध्य

सञ्जिता खनाल २०७८ मंसिर ६ गते ९:४५

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका विभिन्न पदमा उठ्नका कांग्रेस केन्द्रीय निर्वाचन निर्देशिकाले शुल्क तोकेको छ । निर्वाचन निर्देशिकाअनुसार जिल्ला, क्षेत्र, पालिका र वडा तहका कार्य समितिको पदाधिकारीदेखि सदस्यसम्मको मनोनयन दर्ता शुल्क तोकेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त शुल्कअनुसार कार्यान्वयन भएको देखिदैन् । बुधबार मात्र पर्वत जिल्ला कार्य समितिले जिल्ला सभापति बन्न ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, निर्वाचन समितिले जिल्ला सभापति बन्न १० हजार शुल्क तोकेको छ । पर्वतमा त्यसको पाँच गुणा बढी रकम जिल्ला सभापतिको उम्मेदवारले तिनु पर्ने भएको छ ।

यता, पार्टीको केन्द्रीय सभापति बन्न ३० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार रूपैयाँ लाग्ने छ । सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्य पदको निर्वाचनका लागि भाग लिने हो भने १० हजार रूपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ । तर, पर्वतमा जिल्ला समिति बन्न केन्द्रीय सभापति, उपसभापतिको भन्दा बढी शुल्क तिर्नु पर्ने देखिन्छ ।

कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले भने ‘यस जिल्लामा १२ सय प्रतिनिधिहरु रहेका छन् उनीहरुको व्यवस्थापन गर्न विभिन्न पदका उम्मेदवारबाट अतिरिक्त शुल्क लिएको मात्र हो ।’ शुल्क तिर्न नसक्ने उम्मेदवारलाई केन्द्रले तोकेको समेत शुल्क नलिने दाबी छ ।

त्यसैगरी, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेश प्रसाद यादवले निर्वाचन निर्देशिका तोकिएको शुल्कभन्दा बढी आफू खुसी लिन नमिल्ने बताउँछन् । आफू खुसी शुल्क तोक्न नमिल्ने उनको तर्क छ ।

‘हामीले सबै पार्टी कार्यालयमा वा पार्टीको वेवसाइटमा निर्वाचन निर्देशिका राखेका छौँ, कुन पदमा उम्मेदवारी दिने सोहीअनुसार शुल्क तोकिएको छ, त्यही बमोजिम मात्र लिन मिल्छ,’ उनले भने, ‘अब कुनै जिल्लाले आफ्नो मन खुसी शुल्क लिएको भए त्यस विषयमा पार्टीले निर्णय गर्ने हो ।’ सोमबार कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको अधिवेशन हुँदै छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिलाई सात हजार, उपसभापति र सचिवलाई पाँच हजार, सहसचिवलाई चार हजार र सदस्यलाई दुई हजार शुल्क लाग्ने छ । कांग्रेसले कोषाध्यक्षबाहेक अरू पदमा निर्वाचनमार्फत् नै चुन्ने व्यवस्था गरेको छ ।

जिल्ला सभापति बन्न कति शुल्क ?

जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क तोकिएको छ ।

प्रदेश सभापति हुन ?

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नु पर्छ । प्रदेश महाधिवेशन प्रतिनिधिले ३ हजार र केन्द्रीय महाधिवेशन प्रतिनिधिले ५ हजार शुल्क तोकिएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया