सभापतिका साझा उम्मेद्वार बनाउने कसरतमा नेताहरु

काठमाडौँ । सभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।
बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेद्वार बनाउन सुझाएको छ ।
बैठकमा सहभागी अधिकांश नेताले पार्टीमा निरन्तर लामोसमयदेखि त्याग गरेका सर्वस्वीकार्य नेतालाई सभापतिको उम्मेद्वार बनाउन सुझाएका छन् । संयुक्त बैठकपछि चाक्सीबारीमा अपराह्न ३ बजे शीर्ष नेताहरुसहितका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले साझा उम्मेद्वारको टुङ्गो लगाउने केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले बताए । उनले भने, “व्यक्ति नटुंगोए पनि छलफल केही साँघुरिएको छ, बेलुकासम्म सभापतिको उम्मेद्वार टुंगो लाग्छ ।”
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका पूर्व सभापति, वर्तमान सभापतिलगायतसँग बसेर छलफल गरिएको र विभिन्न कोणबाट सुझाव आएकाले पुनः केन्द्रीय सदस्य तथा पदाधिकारीसहितको बैठकले अन्तिम टुंगो लगाउने बताए । बैठकमा वरिष्ठ नेता पौडेल केहीसमय बसेर बाहिरिएका थिए । चारजनामध्ये आफू पनि सभापतिको उम्मेद्वार भएकाले बैठकको निष्कर्षलाई स्वीकार्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले सबै नेता उम्मेद्वारका लागि उत्तिकै योग्य भए पनि अहिलेको परिस्थितिमा कस्तो व्यक्तिलाई उठाउँदा उपयुक्त हुन्छ, पार्टीमा निरन्तर योगदान गरेको र आगामी दिनको चुनौतीलाई सामना गरेर अघि बढ्नसक्ने नेतृत्व चाहिन्छ भनेर बैठकले सुझाएको बताए ।
निवर्तमान जिल्ला सभापति जगदीश नरसिंह केसीले सभापतिका आकांक्षी चार नेता बसेर साझा धारणा बनाएर ल्याउन बैठकले अनुरोध गरेको बताए । हिजो मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यको बैठकले सभापतिको नाम टुंगो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ । रासस


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया