राष्ट्रियसभा निर्वाचन : सकियो सम्पूर्ण तयारी, बुधबार मतदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । १९ पदका लागि भोलि बुधबार निर्वाचन हुँदैछ ।
शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
“केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि आजै सम्पन्न हुनेछ ।” उनले भने ।
निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार-प्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मी सहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् । मतदाता आज साँझसम्म मतदानस्थल र केन्द्र तोकिएका स्थानमा पुग्ने अपेक्षा गरिएको छ ।
निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने सवैधानिक व्यवस्था छ ।











बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया